Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सडकबाटै नेतृत्वप्रति अविश्वास

०१ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

काठमाडौं । ठूला पार्टी भनेका नेपाली कांग्रेस, एमाले, माओवादी हुन् । भ्रष्टाचारका मामिलाले यी तिनै पार्टीका शीर्ष नेतालाई सडकमा उत्रिएका नागरिकहरूले अस्वीकार गरिदिएका छन् । पार्टीका युवाहरूलाई समेत लज्जावोध भएछ, उनीहरूले समेत सडकमा भ्रष्टाचार र अनैतिकताको बिरोध गरेर नेतृत्वलाई खबरदारी गरेको दृश्यले अब शीर्ष पार्टीका शीर्ष नेतृत्वको राजनीति समाप्त भएको देखिन्छ ।
पार्टीका युवातप्का र असंगठित नागरिकहरू चौर, सडकमा जम्मा भएर सडकबाटै स्थापित नेतृत्वप्रति अविश्वास घन्किनु ठूला नेताहरूका लागि चेतावनी हो भने ठूला पार्टीका लागि चेतावनी हो । विश्लेषकहरूले सच्चिने र कि सक्किने भन्ने अर्थसमेत लगाएका छन् । जनता मौन थिए, बोल्न थाले । जनता सहिरहेका थिए, सडकमा निस्कन थाले । नेताहरूलाई ठग र राष्ट्रद्रोही नै भन्नथाले ।
भ्रष्टाचार प्रकरणमा मन्त्री, प्रधानमन्त्री, गृह सचिव, अख्तियारदेखि पूर्व उपप्रधानमन्त्री, सांसदसम्म पनि मुछिएका छन् । अर्थात्, शासन र प्रशासन दुबै अविश्वसनीय हुनपुगे । यो स्थितिले नेपालको विश्वसनीयताको ग्राफ स्वात्तै तल झरेको छ । भ्रष्टाचारी जो हुन्, तीमाथि कारवाही हुने हो भने नेपालको हैसियत कायम हुनेछ । यद्यपि यो छानबिन प्रहरीले मात्र गर्न सक्ने सम्भाबना देखिदैन, बरू शक्तिसम्पन्न आयोग गठन गर्न गराउन संसद तैयार हुनु जरूरी देखिन्छ ।
स्पष्ट छ, अब ठगी र भ्रष्टाचारलाई लिपापोती गरेर छोप्न सकिन्न ।
स्वयम् प्रचण्डका लडाकु शिविर भ्रष्टाचार काण्ड, एनसेलको कर छली काण्ड, जनार्दन शर्माको सीसीटीभी र कर हेरफेर काण्ड, सोलार प्यानलमा ६८ करोड काण्ड, बुढी गण्डकी घोटाला काण्ड, मेलम्ची काण्ड, नारायणकाजीको करोडौंको अडियो डिल काण्ड, भुटानी शरणार्थी बनाएर नागरिक तस्करी काण्ड, बालुवाटार जग्गा काण्ड, वाइडबडी खरिदमा भ्रष्टाचार काण्ड, ओम्नी काण्ड, ३३ किलो सुन काण्ड, सेक्युरिटी प्रेस खरिद काण्डदेखि अनेक काण्डहरूको फाइल खोल्नुपर्ने र भ्रष्टाचारी नाता होस् कि नेता, सबैलाई दण्डित गर्नुपर्छ भन्छन् आम जनता । जनता अचम्मै जागे यसपाली । अर्थात् लहरो तानियो, पहरोको पहिरो जाला कि नजाला ? जनचासो यहींनेर छ । टोपबहादुर सहित १३ जना पक्राउ परिसके, रामबहादुर थापाका छोरासमेत अझै ३ जना फरार छन् । यिनले पोलेका र भुटानी शरणार्थी काण्डमा मुछिएकी देउवा पत्नी र बालकृष्ण खाण पत्नी पक्राउ गर भन्ने दबाब बढेको छ । भनिन्छ, यी साना माछा हुन् । साना माछा पक्राउ गर्दा यति ठूलो भूकम्प गयो, ठूला माछा समातिए के होला ? प्रचण्ड, देउवा र ओलीले बारम्बार गोप्य बैठक गरेका विषय अहिले अन्य पार्टी र जनताका लागि संशय उत्पन्न गराइरहेको छ ।
भुटानी शरणार्थी भ्रष्टाचार काण्ड अब राष्ट्रसंघ र अमेरिका आकर्षित भएका छन् । अमेरिकी एफबीआईले नै अनुसन्धान थालेको चर्चा पनि छ । तिनै निकायको दबाबमा परेर यो छानबिन प्रक्रिया अघि बढेको बताइन्छ । यदि यसो हो र भ्रष्टमाथि कारवाही भएन भने नेपालको साख नष्ट हुनेछ, साइड इफेक्ट अनेक प्रकरणमा देखिनेछ । अहिले मूल प्रश्न प्रचण्डको भ्रष्ट चरित्र हुँदाहुँदै उनको प्रशंसा भएको छ भने देउवा र ओली चोखा छन् भनेर मान्न कोही तैयार छैनन् । भ्रष्टाचार भासभुस हुनेवाला देखिदैन ।