Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मधेश कि बंगलादेश? नेपाल टुक्य्राउने साजिस

१६ सोमबार , कार्तिक २०७२९ बर्ष अगाडि

बिरालोलाई रिस उठ्यो भने खावाँ चिथोर्छ भनिन्छ। भारतलाई केही नेपाली नेतासँग रिस उठ्यो भन्दैमा आमनेपाली नागरिकलाई दुःखकष्ट दिनु अपराध हो कि होइन? राजनीतिक र कूटनीतिक मतभेद भयो वा युद्ध नै छेडियो भने पनि आमनागरिकमाथि यसरी अत्याचार गर्नुलाई युद्धअपराध मानिन्छ। नाकावन्दी गरेर भारत सिंगो नेपालको अपराधी बनेको छ। अमेरिका, युरोपियन युनियन, राष्ट्रसंघ र सुरक्षा परीषदले समेत आवागमनका नाका सुचारु हुनुपर्छ भनिसकेको आवाजसमेत भारत सुन्न चाहदैन। आखिर भारत नेपाली नेताले कुन अपराध गरे र सिंगो नेपाललाई प्रताडित गरिरहेको छ? कतै भारत नेपाललाई भुटान अथवा सिक्किम बनाउने जालो त बुन्दै छैन?
केही वर्ष अघि टाइम्स अफ इण्डियाले सम्पादकीय छापेको थियो– तराई भारततिर, पहाड र हिमाल चीनतिर गाभ्नुपर्छ। त्यही भारतीय मनसायअनुसार डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीको पदमा बसेर आधा उत्तरतिर, आधा दक्षिणतिर मर्ज हुनसक्छ। १९५० मै नेपाललाई भारततिर नमिलाएर नेहरुले हिमालय भूल गरेका थिए, त्यो भूल जतिसक्दो छिटो सुधार गर्नुपर्छ भनेर तत्कालीन गृहमन्त्री बल्लभभाई पटेलदेखि कांग्रेस आईको सरकारसम्मले नेपालविरुद्ध षडयन्त्र गर्दै आएका हुन्। भारतको मेलिट्री साइन्सका लेखकले नर्दन सेक्युरिटी अफ इण्डिया पुस्तक नै लेखेर नेहरुले गरेको हिमालय भूल सच्याउनु पर्ने वकालत गरेका थिए। अमेरिकामा बसेर फरिद जकारियाजस्ता कथित भारतीय बुद्धिजीवी नेपालविरुद्ध शक्तिराष्ट्र र शक्तिशाली टीभी च्यानलहरुबाट मनलागी डकार्न थालेको धेरै वर्ष भइसक्यो। २०१५ मा आएर हिन्दूवादी भाजपाले भारतको शासनभार हातमा लिएपछि नेपालले सहज अनुभूति गर्दागर्दै नरेन्द्र मोदी तीनपल्ट नेपाल आए र संसदमै उभिएर नेपालप्रति गौरवको अभिव्यक्ति दिएर गएका हुन्। तर, जब असोज ३ गते नेपालको संविधानसभाले संविधान जारी गर्‍यो, भारतले नेपालमाथि अघोषित नाकावन्दी गरेर युद्धका नियमलाई समेत तोडिदियो। सारा नैतिकता र मानवीयतासमेत त्यागेर नरेन्द्र मोदी हिन्दूवादी होइनन् भन्ने प्रमाणित समेत गरिदिए। परपीडक कसरी हिन्दू? किनकि सच्चा हिन्दूले मानवीयता र नैतिकताका बन्धनहरु तोड्दैन। भारतीय नाकावन्दीले युद्धका नियमहरु मिचेका छन्। बिरामी बचाउने औषधि, अक्सिजन, बालबृद्धका जीवन बचाउने साधनहरु सबै भारतले नाकावन्दी गर्दा नेपाल भित्रिन सकेका छैनन्। ग्यास, इन्धन र उद्यमका कच्चापदार्थ आउन दिइएको छैन। नेपाललाई नाकावन्दी गरेर भारतले गर्न खोजेको के हो? हो, नेपाली राजनीतिज्ञहरुको बाक्लै आवतजावत छ भारतमा। तीनतिरको खुला सीमाका कारणले नेपाल र भारतवीच बेग्लैखाले सम्बन्ध पनि छ। यो सम्बन्धलाई कहिले विशेष सम्बन्ध, कहिले रोटीबेटीको सम्बन्ध भन्छ भारत। दुई देशवीचको सम्बन्ध समान सम्बन्ध हो भनेर कहिले पनि हाम्रा नेताहरुले भन्न चाहेनन्। यही कारण हो, नाकावन्दीलाई नाकावन्दी भनेर हाम्रा नेता र सरकारले विश्वसामु गुहार गर्न सकेनन्। सर्वोच्च अचालतले यिनलाई झकझकाउनु पर्‍यो। तैपनि एमालेको नेतृत्वकोसरकारले एमाओवादी र कांग्रेससँगसमेत सहमति गरेर तराईका २२ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वायत्त दुई प्रदेश बनाउन संविधानमा संशोधन अथवा पुनर्लेखन गर्न वार्ता प्रारम्भ गरेको छ।
मधेश आन्दोलन ३ महिना हुनलाग्यो। भारतले नाकावन्दी गरेको डेढ महिना। मधेशवादी पार्टीको मोर्चाले मधेश आन्दोलनलाई झन कडा पार्ने निर्णय गरेका छन्। चीनले आपातकालीन सहयोगको रुपमा १३ लाख लिटर पेट्रोल दिएको सन्दर्भलाई भारतले नकारात्मक रुपमा लिएको छ र भारत सरकारका प्रवक्ताले नै चीनले दिएर समस्या समाधान हुन्छ भने होस् भनेको छ। कूटनीतिक अर्थमा भारतले हेरौंला भनेर धम्क्याएकै हो। नेपाल सरकारले भारतसँग वार्ता गर्न टोली गठन गरेको छ, त्यो टोली गठन भयो र निदायो। अहिलेसम्म के गर्दैछ त्यो वार्ता टोली, कसैलाई थाहा छैन। टोली बनाएरमात्र के गर्नु, जब अर्थपूर्ण हुनसक्दैन।
कार्तिक १४ गते भारतले आफ्नो आधिकारिक सामािजक सञ्जालमा मधेशलाई बिखण्डन गर्न उक्साएको बारुदले भरेको छ। भारतीय समाचार माध्यम एएनआईले मधेश आन्दोलनको रिपोर्ट तैयार पारेको थियो। त्यही रिपोर्टलाई 'नेपालमा मधेशी आन्दोलनकारीले अहिलेसम्म छुट्टै राज्यको आन्दोलन गर्ने चेतावनी' शीर्षक दिएर भारत सरकारको यूट्यूव एकाउण्टमा समेत मधेश आन्दोलनको भिजियोल सामग्री राखिसक्दा पनि नेपाल सरकार सिंहदरवार र शितलनिवासको खुशीयालीमै रङमङिगएको छ। यो भारतका तर्फबाट एक नेपालका विरुद्ध नाकावन्दीपछिको सबैभन्दा आपत्तिजनक पोष्ट हो। किनकि नेपाल सरकारले सुनेन भने हामी अलग देशको माग गर्नेछौं भन्ने धम्की छ यो पोष्टमा। स्मरणीय के छ भने मधेश आन्दोलनमा अहिलेसम्म छुट्टै राज्यको माग गरिएको छैन। विद्रोहीको रुपमा सीके राउतले मधेशलाई मधेश राज्य बनाउने अभियान छेडेका थिए, उनी यतिखेर सतहमा देखिदैनन्। संक्षिप्तमा भारत मधेश आन्दोलनलाई बिखण्डनको डढेलो बनाउन खोजिरहेको देखिन्छ।
के त्यसो भए भारत एक नेपालको मधेश भूभागलाई बंगलादेशजसरी टुक्य्राउन खोज्दैछ? मधेश आन्दोलनको नाममा भारतले गरिरहेको नेपालविरुद्धको नाकावन्दीको भित्री अभिष्ठ मधेशको बिखण्डन, नेपाल टुक्य्राउन साजिस भइरहेको प्रमाणिक आधार हो। स्मरणीय छ, भारत सरकारका र अन्य सञ्चारमाध्यमहरुले प्रत्येक दिन नेपालमा मधेशीमाथि विभेद गरिएको, अधिकार नदिएको, आन्दोलनमा दमन गरिएको, पहाडीया शासनले मधेशमाथि अन्याय गरेकोजस्ता समाचार दिएर तराईबासीलाई उक्साइरहेका छन्। नाकावन्दीले नेपालको जनजीवन कष्टकर बनेको र आर्थिक चौपट भएकाजस्ता समाचार लुकाउने गरिएको छ।