देशको असहज स्थितिलाई नेपाली सेनाले तमासा हेरेर बसिरहने सीमा सकियो। अझै पनि भारतले नाकावन्दी लगाइरहने र केही मेधशी दलहरुले नाकावन्द गर्न धर्ना जुलुस गरेर सिंगो मुलुकलाई हाहाकारमा पार्ने, मुलुकको उद्यम व्यवसाय चौपट पारिदिने र आइरहेको र भइरहेको लगानी रोक्ने जुन अराष्ट्रिय काम भइरहेको छ, त्यसलाई सरकार र राजनीतिक दलहरुले राजनीतिक वार्ताद्वारा सम्भाल्न सक्दैनन् भने नेपाली सेनाले हस्तक्षेप गर्नैपर्छ।
यद्यपि सेना पनि राज्य हो। संविधानअनुसार नेपाली सेनाले आफ्नो कर्तव्य गरिरहेकोमा कुनै शंका छैन। तथापि देशमा नजानिदो तरिकाले गम्भीर समस्या खडा भइसकेको छ। आमनागरिकको चुलोचौको, हातमुख जोर्नेसम्मको समस्या भनेको ठूलो समस्या हो। एकप्रकारले भारतीय अघोषित नाकावन्दी र मधेशी दलहरुको आन्दोलनका कारण मुलुक ठप्प भइसकेको छ। मुलुक ठप्प भएको अथवा देशको रक्षा र नागरिकको सुरक्षाका लागि अन्तिम फोर्स हो नेपाली सेना। यस्तै आपद विपदका बेलामा आमनागरिकले सेनाको भरथेग खोज्ने हो। सेनाले पनि आफ्नो तरिकाले देशको हालचालको अध्ययन अनुसन्धान गरिरहेको छ भने देश सामान्य स्थितिमा छैन भन्ने रिपोर्ट संकलन भइसकेको हुनुपर्छ। अवेर भइसक्यो, अव पनि राजनीतिक तहले मुलुकलाई सामान्यीकरण गर्न सक्दैन भने सेनाले केही गर्नैपर्छ।
सेना भनेको राष्ट्रिय संगठन हो। सेनाको नजरबाट न कुनै घटना लुक्न छिप्न सक्छ, न कोही अछुत नै रहन सक्छन्। हो, सेनाले सुरक्षा परीक्षदको निर्णय र नेपाल सरकारको आदेशबिना परिचालन हुन सक्दैन। तथापि सेनाले नेपाल सरकार र राष्ट्रपतिसँग देशको स्थितिबारे नियमित ब्रिफिङ र छलफल गरेकै हुनुपर्छ। मुलुकमा राजनीतिक विवादको बखेडाले मानसिक असन्तुलनसमेतको खतरा देखिइसकेको छ। यो सबैभन्दा खतरनाक संकेत हो। राजनीतिक बिबाद, राजनीतिक तहमा मिलाउन्। राष्ट्रियता र राष्ट्रिय जीवनमा आघात पुग्छ भने नेपाली सेनाले ब्यारेकमा रिपोर्ट लिने र रिपोर्ट पढेरमात्र बस्नु कर्तव्यप्रति न्याय ठहरिन्न। स्थिति काबुभन्दा बाहिर गइसक्यो र देशमा विदेशी घात प्रतिघात बढेको हो भन्ने निष्कर्ष सार्वजनिक भइसकेको स्थितिमा नेपाली सेनाले तत्काल राजनीति र कूटनीतिको असक्षमताले बिगारेको वातावरणलाई संग्याउन सक्रिय हुनु देशहितमा हुनेछ।