एलाइना वी. ताप्लिज नेपालका लागि अमेरिकी नयाँ राजदूत हुन्। उनी बंगलादेश र अफगानिस्तानस्थित अमेरिकी दूतावासका विभिन्न पदमा बसेर दक्षिण एसियाको राजनीतिलाई राम्ररी बझेकी क्यारियर डिप्लोम्याट हुन्।वैदेशिक सेवा विषयको व्याचलर अफ साइन्स र अपरेशनको वाच अफसरको अनुभवसमेत बटुलेकी कूटनीतिज्ञ भएकाले उनको नेपाल पोष्टिङ अत्यन्त महत्वपूर्ण मिसनका साथ भएकोमा कुनै शंका छैन। अमेरिकाको ध्यान दक्षिण एसियामा छ र एसियामा इमर्ज शक्ति चीन र भारतलगायतका फैलदो प्रभावलाई अमेरिकी साँचोमा ढाल्नु उनको मुख्य अमेरिकी नीति हुने विश्वास गरिएको छ। तथापि नेपालका सन्दर्भमा राजदूत महोदयले केही दिनमै जुन व्यवहार र अभिब्यक्ति देखाएकी छिन् त्यसप्रति नेपाल अत्यन्त प्रभावित बनेको छ।
धन्यवाद राजदूत महोदय, पहिलोपल्ट नेपालका लागि अमेरिकी राजदूत टेपलिजले नेपाललाई आफ्नै आँखाले हेर्ने बताएर आश्चर्यमा पारिदिएकी छिन्। अव अमेरिकाको एसिया नीति परिवर्तन भएको रुपमा पनि उनको यो दृष्टिकोणलाई लिइएको छ। नेपालमाथि भारतीय नाकावन्दी पछि आर्थिक अवस्था अत्यन्तै नाजुक बन्दै गएको र नेपालीको दैनिकीसमेत पीडामय बनेको देखेकी अमेरिकी राजदूत टेपलिजले भारतीय व्यवहार अन्तर्राष्ट्रिय मान्यताविपरित अमानवीय नै हो भन्ने निष्कर्षमा पुगेर नेपाललाई दिल्लीको चस्माले हेर्ने परम्परागत मान्यता तोडेको पनि हुनसक्छ। तथापि उनले अव नेपाललाई आफ्नै आँखाले हेर्ने बताउनु मात्रै पनि नेपालका लागि ठूलो राहतको विषय हो। यसकारण नेपालको धन्यवाद छ राजदूतजी।
बृटिश इण्डियाबाट १९४७ मा स्वतन्त्र भएको भारतले सधैं स्वतन्त्रताका साथ आफ्नो अस्तित्व जोगाउँदै आएको सानो भूपरिबेष्ठित हिमाली मुलुक नेपालमाथि यति चर्को नाकावन्दी लगाउन हुन्नथ्यो भन्ने कूटनीतिक भाषामा राष्ट्रसंघले दबाब दिइरहेको छ, सुरक्षा परीषदमा नाकावन्दीबारे छलफल गर्ने उपमहासचिवले बताइसकेका छन्, युरोपियन युनियनले समेत नाकावन्दी खुलोस् भनेर कूटनीतिक दबाब दिइसकेको छ र अव अमेरिकी राजदूतले पनि नेपालमाथि गर्नै नहुने नाकावन्दी भएको अनुभव गरेकी छिन्। चीनले पेट्रोलियम पदार्थ अनुदानमा दिएर आपातकाललाई सघाएको छ र चाहिए नेपालको खपत क्षमताको ३३ प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति गर्न तैयाररहेको जनाइसकेको छ। तैपनि भारत आफूलाई विश्वको ठूलो लोकतन्त्र भन्छ, मान्छ तर व्यवहारमा अलोकतान्त्रिक तरिकाले अमानवीयता प्रदर्शन गरिरहेको छ। नेपालमाथि लगाएको नाकावन्दी खोल्न तैयार नरहेको व्यवहार देखाइरहेछ।
नेपाललाई सिधै हेर्ने अमेरिकी राजदूतको अभिव्यक्ति नेपालका लागि अँध्यारो सुरुङमा उज्यालो किरण हो भन्न सकिन्छ। शक्ति मुलुकहरुले नेपाललाई दिल्लीको आँखाले हेरिदिदा नेपाल सधैं समस्यामा पर्दै आएको छ। भारतले हेप्दै र हस्तक्षेप गर्ने गरेको छ। अमेरिकाले अव भारतलाई सम्झाइदिनुपर्छ, बुझाइदिनुपर्छ र नेपालको लोकतान्त्रिक यात्रामा यसरी हैकम र हस्तक्षेपकारी चरित्र देखाउन रोक्न भनिदिनुपर्छ। भूपरिबेष्ठित मुलुकको पारवहनको अधिकारलाई भारतले हनन गर्नुहुन्न। स्मरणीय छ, भारतले १९८९ मा पनि चौधमहिना लामो नाकावन्दी गरेको थियो।
अमेरिकाले चाहने र एक इसारामात्र दिने हो भने खाडी मुलुकले नेपालमा पेट्रोलियम पदार्थको खोलो बगाइदिन्छन्। नेपालले यसरी आफ्नो दैनिकी र आर्थिक स्थितिलाई ठप्प पारिरहनु पर्दैन। योे यथार्थ भारतले समयमै बुझ्नुपर्छ। यसरी नेपालमाथि हस्तक्षेप गर्ने र नाकावन्दी लगाउने भारतलाई सुरक्षा परीषदको स्थायी सदस्य कसरी चयन गर्न सकिन्छ र? यस मामिलामा सार्क सदस्य र पर्यवेक्षक सबैले सोच्नैपर्छ। अमेरिकाले प्रजातन्त्रको अभ्यासको राजमार्गमा हिडिसकेको नेपालमाथि भारतले जेजस्तो दुर्व्यवहार देखाएको छ, यसबारेमा विशेष रुपमा सोच्नुपर्छ र विश्वनीतिविपरित चल्ने भारतलाई सबक सिकाउनै पर्छ।
ओहदाका प्रमाणपत्र बुझाएपछि र प्रधानमन्त्रीलगायतका नेपाली नेताहरुसँग शिष्टाचार भेटमा अमेरिकी राजदूतले जे बोलिन्, त्यो प्रशंसनीय छ। अव अमेरिकाले सिधै भारतलाई सुरक्षा परिषदको सदस्यबाट बन्चित गरेर कूटनीतिक जोल्ट दिन भूमिका खेल्नुपर्छ। अमेरिकाले यति गर्ने हो भने भारतले कुनै पनि नेपालजस्ता साना छिमेकीमाथि हैकमवाद लाद्ने साहस गर्ने थिएन। अमेरिकाको पूर्व पश्चिम हेर्ने नीतिले नेपालजस्ता साना मुलुकले राहत पाउन सक्छन्। नवनियुक्त महामहिम राजदूतले यो समयमा नेपाललाई सहयोग गर्ने बेला हो। नेपाली चित्कार, पीडा र छटपटी अमेरिकी राजदूतले देखेकी छिन्, उनले अनुभव पनि गरेकी छिन्। विभिन्न क्षेत्रका भूकम्पपीडितलाई सहयोग गर्न ह्याविट्याटसँग हिडेकी राजदूत महोदयले नेपालको हित र मित्रतामा राम्रो छाप छोड्न सक्ने आशा गर्न सकिन्छ। उनको कार्यकालको सफलता पनि यही हुनेछ।