Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मूर्ति पाइयो, मूर्तिचोर लुकाइयो

१८ सोमबार , बैशाख २०८०एक बर्ष अगाडि

काठमाडौं । वर्षदिनमा धेरै मूर्तिहरू अमेरिकाबाट फिर्ता गरिएका छन् । मूर्ति पाइन्छ, फिर्ता ल्याइन्छ, तर मूर्तिचोर लुकाइन्छ, किन होला ?
हालै ५० वर्ष अघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइएका छन् । चोरी भएका मूर्ति नेपाल फर्काइनु शुखद समाचार हो तर मूर्ति चोरलाई लुकाइनु दुःखद हो । मूर्तिचोर पत्ता लगाएर कारवाही नहुँदा मूर्ति चोरीको घटना फेरि फेरि पनि हुनसक्छ । केही दिन अघिमात्र पनि ललितपुरबाट पुरातात्वीक महत्वका मूर्ति चोरी भएका थिए । यसको अर्थ मूर्ति चोरहरू अझै पनि सलबलाइरहेका छन् ।
हालै अमेरिकाले फिर्ता गरेका दुई मूर्ति नृत्यदेवी, उभिएका बुद्धमूर्ति हुन् । मूर्ति चोरी गर्ने र अमेरिकासम्म पु¥याइनुमा चोरको मात्र हात हुँदैन । यसमा एयरपोर्टको सुरक्षाकर्मी, कर्मचारीहरूको पनि मिलोमतो हुन्छ । अझ पुरातत्व विभागले सिफारिस नगरेसम्म मूर्ति लैजान सम्भव पनि हुँदैन । यसरी सरकारी कर्मचारीको समेत मिलोमतोमा हुने मूर्ति तस्करी सुरक्षाको ठूलै चुनौति हो ।
नेपालबाट चोरी गरेर अमेरिका पु¥याइएका दुई प्राचीन मूर्तिहरू नेपाल फिर्ता भएका छन् । ८औँ र १०औँ शताब्दीका मूर्ति साह्रै महत्वका छन् ।
अमेरिकास्थित दूतावासका अनुसार क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकी नागरिकले नेपालका ती ऐतिहासिक सम्पदा नेपाललाई ससम्मान हस्तान्तरण गरेका हुन् । नेपाली मूर्ति नेपाललाई नै फिर्ता दिने कार्यको जति प्रशंसा गरे पनि कम हुन्छ । तथापि प्रश्न उठ्छ, यति गह्रुङ्गा मूर्तिहरू चोर्ने को हो, कसरी चोरे, को को संलग्न थिए, कसरी लगे, के कतिमा बिक्री गरे भन्ने प्रश्न नेपालका लागि महत्व राख्छ ।
समाचारअनुसार बुङ्गमतीको मछिन्द्र बहालमा रहेको ८औँ शताब्दीको स्ट्यान्डिङ बुद्धको ढुंगाको मूर्ति र ललितपुरको इटुम बहालमा रहेको ४२ इन्च अग्लो १०औं शताब्दीको नृत्यादेवीको काठको मूर्ति अमेरिकीले नेपाललाई फिर्ता गरेका हुन् । दूतावासको वक्तव्य अनुसार यी मूर्ति एकपछि अर्को हुँदै थुप्रै व्यक्तिले किनबेच गरेको र अन्तिममा पुरातात्विक सम्पदा संकलन गर्ने सौखिन व्यक्तिको हातमा पुगेकाले फिर्ता पाउन सम्भव भएको हो । सन् १९७० मा चोरी भएका ती मूर्ति पाइने नेपाललाई आशा नै थिएन तर फिर्ता पाउन सम्भव भयो ।
धन्यवाद माइकल फिलिप्स । यिनी क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिलमा बस्छन् र यिनी हलिउड फिल्म निर्माता पनि हुन् । यिनले गत अप्रिल १२ मा यी मूर्तिहरू आफ्नो संकलनमा आएको जानकारी दिंदै महावाणिज्यदूत ऋषि ढकाललाई फिर्ता दिएका थिए । नेपाली दूतावासले पनि फिल्म निर्माता माइकल फिलिप्सलाई मूर्ति फिर्ता गरेकोमा नेपाल र नेपालीका तर्फबाट हार्दिक धन्यवाद दिएको छ । मूर्ति फिर्ता गराउन विशेष पहल गरेकोमा महावाणिज्यदूत ढकाललाई पनि दूतावासले धन्यवाद दिएको छ ।
मूर्तिमात्र होइन, नेपालका पुरातात्वीक सम्पदाहरू कतार, दुबई, अमेरिका, बेलायत, थाइलेण्ड, भारतलगायतका थुप्रै मुलुकमा रहेका छन् । नेपालबाट हराउँछन्, केही दिन खोजेजस्तो गरिन्छ, बिस्तारै बिर्सने गरिन्छ । अनुसन्धानका श्रृङ्खला रोकिनु अथवा राजनीतिक र माफिया प्रभावबाट बेवास्ता गरिनु नेपालको कमजोरी हो । नेपालको असली राजतन्त्रको श्रीपेचसमेत अन्य मुलुकमा रहेको, १९५० को सन्धिको सक्कल प्रति नै नेपालसँग नरहेको खबर पनि सार्वजनिक भएकै हुन् । यिनै मूर्तिको फिर्तीसँगै नेपालले असलमा नेपालका सम्पदा चोर को को हुन्, कुन कुन देशमा नेपाली सम्पदा पुगेका रहेछन्, अनुसन्धान गर्न सके नेपालको सम्पदा संरक्षणमा ठूलै काम हुनसक्ने थियो ।