Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारत जादा उठाउने एजेण्डा के के हुन् ?

११ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

जब जब नयाँ सरकार बन्छ, तब तब भारत माखेसाङ्ग्लो हाल्छ, पहिलो भ्रमण भारतमै गर्नुपर्छ ।
नेपाली नेताहरुको मानसिकतामा पनि के परेको छ भने भारत भ्रमण नगरी अन्य मुलुक गयो भने भारत रिसाउँछ ।
२०६५ सालमा पहिलोपल्ट प्रधानमन्त्री बनेका प्रचण्ड चीन भ्रमणमा गए । चीनबाटै भने– मैले पहिलो भ्रमण चीनबाट सुरु गरेको छु । त्यसो भन्दा चीन खुशी भयो होला तर नेपाल फर्कनासाथ एयरपोर्टबाटै उनले भने– यो मैत्रीपूर्ण भ्रमण थियो, राजनीतिक भ्रमण दिल्लीबाटै हुनेछ । अर्थात्, चीनबाट काठमाडौं नफर्कदै भारतले प्रचण्डको सातो खाइसकेको रहेछ । नभन्दै उनी पशुपतिका पुजारी र प्रधानसेनापति रुकमांगद कटवालको मुद्दामा फसे, पुजारी काण्डमा वाङ् खाए, कटवाल काण्डमा त प्रधानमन्त्री नै गुमाउन पुगे । पुनः त्यो गल्ती दोहो¥याउन नचाहेका प्रचण्डले यसपल्ट चीनको विशेष सम्मेलनको निम्तोसमेत बेवास्ता गरेर दिल्ली भ्रमणका लागि तारन्तार ताकेता गरेपछि भाजपाका नेता आएर सर्तवन्दी गराएपछि उनको भ्रमण यही महिनाको अन्तिम साता तय भएको खुलासा भएको छ । 
यसपल्टको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण निकै महगो पर्ने प्रक्षेपण गरिएको छ । जे जे हासिल गर्नुपर्ने हो, जुन उद्देश्यका लागि १७५ मा ३२ सिटे माओवादीलाई प्रधानमन्त्री बनाउन भारतले सबै शक्ति लगाएको र कांग्रेसलाई समेत त्वम् शरणम् गराएको थियो, त्यो यही भ्रमणबाट पूरा गराउन भारत लागिपरेको विश्लेषण हुँदैछ ।
यसैका लागि भारतले भ्रमणको निम्तो दिनुपूर्व राजदूतलाई दिल्ली बोलाएर नेपाल पढ्यो र विदेश विभाग प्रमुख विजय चोथाइवालेलाई पठाएर ११ दलीय गठबन्धन सरकारलाई थिचथाच पारेर निचार्नुसम्म निचो¥यो । त्यसपछि बल्ल भारतले प्रम प्रचण्डलाई दिल्ली भ्रमणको निम्तो दिएको अनुमान गरिदैछ ।
हुन पनि भाजपाको विदेश विभाग प्रमुखलाई नेपाल किन पठायो ? अहिलेसम्म गुत्थी खोलिएको छैन । बाहिर केही देखिन्न, भित्रभित्र नेपाल लुट्ने योजना बोकेर आएको भनिदैछ । प्रधानमन्त्री दिल्ली जाँदा उनलाई अरुण ४, फुकोट कर्णाली भारतको सतलज कम्पनीलाई दिने राजी गराएपछि  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई भारतले अनुमति दिएको राजनीतिभित्रको राजनीतिक चर्चा चुलिएको छ ।
नेपालका नेता किन नेपाली जनमत, नेपाली माटोमा उभिन सक्दैनन् ? यो प्रश्न गम्भीर छ तर नेतृत्व लुते परेपछि हुने यस्तै यस्तै नै हो । राष्ट्रघातको बाक्लै धुवाँ उठिसक्दा पनि संसदमा प्रश्न उठेको छैन । नागरिक समाज मौन छ । बुद्धिजीवीहरु चुपचाप छन् । एकाध सीमाविदले नेपाल–भारतवीचका तमाम समस्या समाधानको प्याकेज बोकेर भारतका सामु बहस गर्ने हिम्मत गर्नुपर्छ भनिरहेका छन् । अचम्म के पनि छ भने प्रधानमन्त्री भारत जाने होमवर्क गर्दैछु भन्छन्– विज्ञ, विशेषज्ञ कसैसँग छलफलसम्म गरिरहेका छैनन् ।