Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालभित्र भारतीय गस्ती सुरु

०९ सोमबार , कार्तिक २०७२९ बर्ष अगाडि

एमाओवादीका नेता शक्ति बस्नेत गृहमन्त्री बनेका छन्। तर उनको कार्यकालको चुनौति भारतीय प्रहरीको नेपालभित्र गस्तीबाट सुरु भएको छ। उनकै आदेशमा भारतीय प्रहरी एसपी नै नेपालको ३० किलोमिटरभित्र एके ४७ अत्याधुनिक हतियार लिएर पसेको विषयलाई गृहमन्त्रालयले गुपचुप राखेको छ। के गरेको यो मन्त्री शक्ति? यही हो, एकातिर शक्ति, अर्कोतिर बस्नेत काजीको देशभक्ति? घटनालाई लुकाएर भारतभक्ति गर्ने? राजेन्द्र महताको नेतृत्वमा वीरगञ्ज–रक्सौलको नाकावीच मितेरी पुलमा महिनौंदेखि धर्ना चलिरहेको छ। भारततीरबाट भात पाकेर आउँछ, धर्नाकारी खान्छन्। राति नेता भारततिर र साना नेता नेपालतिर सुत्छन्। विहानै नास्ताकालदेखि फेरि धर्ना, नारा, माइकिङ्को कर्कश आवाजले सीमा थर्किन्छ। यी सबै नजारा हेरेर भारतीय प्रहरीले नेपालको नाडी छाप्न एसपीको नेतृत्वमा ५ जना भारतीय प्रहरी अधिकारी टिम ३० किलोमिटर क्षेत्रको गस्ती नै गरेको थियो। आन्दोलनकारीले नै भारतीय प्रहरीलाई सघाएको खबरसमेत छ। असोज ७ गतेदेखि पर्सा प्रशासन, प्रहरीले सीमानाकाबाट भारत प्रवेश गर्न सकेका छैनन् तर भारतीय प्रहरी साइरन बजाएर नेपालभित्र प्रवेश गर्‍यो, ३० किलोमिटर क्षेत्रको गस्ती गर्न भ्यायो।
गृहमन्त्रालयमा आपातकालीन बैठक बस्यो र मन्त्री शक्ति बस्नेत अचम्मित भए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले मधेशी मोर्चालाई दोष दिए। यति गम्भीर मामिला गुपचुप पारियो, थन्क्याइयो। यही हो, एमाओवादीलको नेतृत्वको गृहमन्त्रालयको काम? यो शुक्रवारको घटनामा परवानीपुर प्रहरीले सोधखोज गर्दा एकजना स्पेशल आर्म फोर्सका विशेषज्ञ नरवदा प्रसादसमेत भएको रहस्य खुलेको छ। उनीहरुलाई भारतीय दूतावास ल्याएर सबैको रोहवरमा भारतीय हथकण्डाको पोल खोल्नुपर्नेमा शक्तिले हाँकेको गृहमन्त्रालयको आदेशमा ती पाँचैजना भारतीय उच्चाधिकारीहरुलाई नेपाल प्रहरीले सीमाछेउ पुर्‍याएर छाडिदियो, उनीहरु मिसन पूरा गरेर रक्सौलतिर लागे। यसरी नांगियो ओली सरकारको राष्ट्रवाद।
हो, खुला सीमा छ दुबै देशवीच। खुला सीमा भएका कारण जोसुकै आवतजावत गर्न पाइन्छ तर अत्याधुनिक हतियार बोकेर दुबै देशका कुनै सुरक्षाकर्मीलाई यस्तो छुट छैन। तर भारतले त्यो छुट यसपटक पनि पाएको छ। भनिन्छ, यस्तै गस्ती काकडभिट्ट, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगडीतिर पनि भारतीय सुरक्षा निकायले बेला बेलामा गरिरहेका छन्। यस घटनाका सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको भनिए पनि नेपालमाथि भारतीय नाकावन्दी लागिरहेको अवस्था भनेको युद्धकै अवस्था हो र भारतीय सुरक्षाधिकारीहरु रणनीतिक रुपमा नेपाल प्रवेश गरेका हुन्।