Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सानो टिमको चीनमा छोटो भ्रमण- प्रशंसनीय कार्य

२९ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

मार्च १७ को चीनमा आयोजित इन्टरनेशनल थिङ्क टैंक फोरमको तस्वीर हो यो । यो फोटो सेशनको केन्द्रविन्दुमा नेपाली बुद्धिजीवीको फोटो छ, उनी हुन् प्रेमसागर पौडेल । नेपालमा चीनका कुनै पनि मैत्री, सांस्कृतिक अथवा अन्य संघसंस्था नखुल्दैदेखि नेपाल–चीन पारस्परिक सहयोग समाज संस्था खोलेर जनस्तरको सम्बन्ध विकासमा लागेका व्यक्तित्व हुन् । पौडेल डाँफे टीभी डट कम का अध्यक्ष समेत रहेका छन् । चीनमा आयोजित हुने थिङ्क टेंकका बैठकहरुमा उनलाई निम्तो आउने गरेको छ र उनी सक्रियतापूर्वक सहभागीहुने गरेका छन् ।
प्रेमसागर पौडेल चीनका अन्धभक्त होइनन् । उनको विचार यस्ता छन्– चीन बलियो हुनुपर्छ, चीनले नेपालजस्ता छिमेकीको साहस बढाउनुपर्छ, नेपालको सार्वभौमसत्तालाई इमानका साथ सम्मान गर्नुपर्छ । भारत र चीनले लिपुलेकबाट व्यापार सम्झौता गर्दासमेत यिनै हुन् जसले चीनलाई यो गलत भयो भनेर झकझक्याए । त्यसपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएको हो । चीन सुधार्न तैयार छ तर नेपालले त्यसपछि कानमा तेल हालेर बसेको छ ।
नेपाली राजनीतिका सम्बन्धमा पौडेलको धारण यस्तो छ– विश्वको राजनीति नाटकीय ढंगले परिवर्तित हुँदैछ । नेपाल र नेपाली नेताले यसलाई बुझ्न सकेनन् भने भयंकर दुर्घटनामा पर्न सकिन्छ । सेनाबाहेक अरु संस्था मक्किसकेका छन् । सेनालाई थिलथिलो बनाउन अन्तिम प्रयास हुँदैछ । हेर्नुछ सेनाले कसरी ब्यवस्थापन गर्छ । एकातिर देशलाई सिनो लुछेझैं लुछिरहेका छन् । अर्कोतिर, आदर्शका ठूला र चर्का कुरा गरिरहेका छन् । देश लुट्नेमा अघोषित राष्ट्रिय सहमति गर्ने यस्ता बहुरुपीहरु कहिल्यै देशभक्त नेता हुनसक्दैनन् । जबसम्म राजनीतिक दलका नेताहरू र सरकार सञ्चालकहरुका लागि देश र जनताभन्दा ब्यक्तिगत स्वार्थ सर्वाेपरी हुन्छ । तबसम्म देशले अग्रगति लिन सक्दैन र विकास सम्भव छैन । देश आर्थिकरुपमा धराशायी हुँदैछ । यसबाट बचाउन सर्वप्रथम सबै जनप्रतिनिधि प्रधानमन्त्री देखि वडा सदस्यसम्मले लिंदै आएको तलबभत्ता नलिने घोषणा गर्न सक्छन् ?
प्रेम सागर पौडेल ९ जनाको टिमको नेतृत्व गर्दै नेपालगञ्ज उपमहानगरलाई सिस्टर सिटीको सहकार्यका लागि सांस्कृतिक आदान प्रदानको उद्देश्य सहित चीन गएका थिए । प्रेमसागर पौडेलको नेतृत्वको टोलीमा उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, आइटी घनश्याम वर्मा, भेरी अस्पतालका डा. प्रकाश थापा, समाजका कोषाध्यक्ष टोप बहादुर थापा, सचिव श्यामसुन्दर अधिकारी, सदस्य ईश्वर श्रेष्ठ, साईनो सहकारीका दीपक पौडेल, एलाण्ट ईम्पोर्ट एक्सपोर्टका प्रबन्धक शिवराज कार्की थिए ।
पर्यटन, संस्कृति, शिक्षा र स्वास्थ्यका विषयमा स्वइ निङ शहर र नेपालगञ्ज उपमहानगरपालिकाबीच पाँच बर्षका लागि सहयोग सम्झौता भएको छ । दुई देशका बीच सुमधुर सम्बन्ध कायम गर्न गत डिसेम्बर १३ मा जुम बैठकमार्फत सम्झौता भएको थियो । उक्त सम्झौतापछि दुवै शहरले सम्झौताको सक्कलप्रति आदान–प्रदान गरेका थिए । यसअघि उपमेयरको स्तरमा भएको सम्झौतालाई अनुमोदन गर्दै यसपटकको भ्रमणमा चीन र नेपालको दौत्य सम्बन्ध स्थापना गरेको विज्ञप्तिका आधारमा चीन र नेपाल दुई देशका जनताबीचको चिनजान र मित्रता बृद्धि गर्न र दुई पक्षबीचको मैत्रीपूर्ण सहयोगलाई सुदृढ पारी विकास गर्नका लागि जन गणतन्त्र चीनको सिचुआन प्रान्तको स्वइ निङ शहर र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लुम्बिनी प्रदेशको नेपालगञ्ज उप–महानगरपालिका दुई पक्षबीच मैत्रीपूर्ण विचार–विमर्श भएर भगिनी शहर सम्बन्धको स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको जानकारी पौडेलले दिएका छन् । जनस्तरमा सम्बन्ध बृद्धि गर्न र नेपालगञ्ज क्षेत्रमा चिनियाँ लगानी बढाउने उद्देश्यमा सफलता हासिल भएको पौडेलको अनुभूति पाइयो ।
कस्तो सम्झौता भयो ?
१. दुई पक्षले आर्थिक र व्यापारिक सहयोग सम्बन्धको स्थापना गर्नेछन् र यस क्षेत्रमा हुने सहयोगलाई लगातार रूपमा गहिरो पार्नेछन् ।
२. दुई पक्षले संस्कृति, पर्यटन, शिक्षा र स्वास्थ्य आदिक्षेत्रमा हुने सहयोगको सम्भावनालाई थप विस्तार गर्नेछन् ।
३. दुई पक्षबीच हुने सहयोग तथा साझा सरोकारका बिषयमा विचार र परामर्श गर्न सहज हुनका लागि दुई पक्षका सम्बन्धित विभागसँग दैनिक सञ्चार र सम्पर्क कायम गर्न विशेष कर्मचारीहरू नियुक्त गर्न सहमत भएका छन् ।
४. यो सहमति पत्र सन २०२३ मार्च २९ मा स्वइ निङ शहरमा हस्ताक्षर गरिएको छ । यो सहमति पत्र चिनियाँ र नेपाली दुवै भाषामा लेखिएको छ । प्रत्येक पक्षका लागि दुई–दुई वटा प्रतिलिपि राखिएका छन् । चिनियाँ र नेपाली भाषामा लेखिएको पत्र समान रूपमा प्रामाणिक छन् ।
पौडेलले यसपल्टको चीन भ्रमणको अनुभवबारे लेखेका छन्– मि. थाङ शङ्गपुको निम्तोमा विभिन्न स्थानको अध्ययन भ्रमण गरियो । हामीलाई वनचउमा भब्य स्वागत तथा सत्कार गरियो । यहाँका विभिन्न संघसंस्थाले गरेको हार्दिक स्वागत सत्कारका लाग आभारी छौं ।
शाङहाईमा बुद्धिष्ट गुरुले मुण्डन गरेर ज्ञान समेत दिएको दृश्य देखियो । पौडेल लेख्छन्– एक समारोहबीच बुद्ध धर्मको परम्परा अनुशरण गर्दै शाङहाई स्थित ता युआन थोङ्ग गुम्बामा दुईजना बुद्धिष्ट गुरुको मन्त्रोच्चारणसहित शीरमुण्डन गरियो ।
चीनका विभिन्न विकास परियोजना हेर्नु, रणनीति बुझ्ने, धर्म संस्कृतिको अवलोकन गर्नु भ्रमणमा गएपछि सामान्य कुरा हुन् । मुख्य कुरो नागरिक स्तरको यति सानो टिमलाई चीनले देखाएको हार्दिक स्वागत, उच्चस्तरीय नीति निर्माताले भेटवार्ता गर्नु, हार्दिक आतिथ्यता देखाउनु नेपालका लागि महत्वको कुरा हो । कुनै पनि सरकारी टिम, प्रधानमन्त्री, मन्त्री भ्रमणमा जाँदासमेत यसरी चीनले दुईहप्तासम्म निरन्तर महत्व दिने गरेको इतिहास छैन । चीनको थिङ्क टेंक बैठकमै नेपालमाथि असम्मान भएका हरेक विषयमा तीखो तबर कुरा राख्नसक्ने व्यक्ति प्रेमसागर पौडेलले यसपाली पनि चीन सशक्त हुनु प्रशंसनीय भएको भन्दै नेपालजस्ता छिमेकीको सम्मान, विकास र सार्वभौमिकतामा आँच नल्याउन र सहयोग गर्न कूटनीतिक चातुर्यताका साथ विषय राखेको पाइयो ।
यसकारण पनि प्रेमसागर पौडेल नेतृत्वको यो भ्रमण नेपालका लागि अर्थपूर्ण रह्यो । आफ्नै खर्चमा देशका लागि यसरी मरिमेटेका कारण प्रेमसागर पौडेलको जति प्रशंसा गरे पनि कर्म हुन्छ ।
स्मरणीय के पनि छ भने प्रधानमन्त्री निम्तो आएको बंगलादेश, चीन, अमेरिकाको भ्रमण नगरेर गृहमन्त्रीमार्फत भारतीय राजदूतलाई भेटेर निम्तो छिटो मगाइदिनुप¥यो भनेर आग्रह गरिरहेका छन् । यस्तो नेतृत्व, नागरिकको त्यस्तो भ्रमण । आफै विचार गरौं ।