Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

के होला नागरिकता विधेयक ?

२७ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणिकरण गर्लान् ? आफू राष्ट्राध्यक्ष होइन, गठबन्धन दल र सरकारको प्यादा हुँ भन्ने स्तरमा झर्लान् भनेर कसैले पनि अनुमान गरेका छैनन् । संस्कृत पाठशालामा पढेका पौडेलले हिजो ओलीविरूद्ध जे बोले पनि आज राष्ट्रपति पदमा बसेर हल्का बोल्न र विचारै नगरी सही गरिहाल्छन् भनेर कसैले पनि अनुमान गरेका छैनन् । राष्ट्रपतिले चाहे सर्वोच्चलाई सोधेर आफू स्पष्ट हुनसक्ने अधिकार पनि रहेको छ ।
नागरिकता विधेयकमा सही नगरेको भनेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उग्र विरोध गर्ने कांग्रेसले आफ्नै पार्टीका बरिष्ठ नेता राष्ट्रपति बनेपछि उनलाई नचर्को दबाब दिन थालेका छन् ।
पछिल्लोपल्ट पूर्वगृहमन्त्री तथा सभापति देउवाका विश्वासपात्र बालकृष्ण खाणले पूर्वराष्ट्रपतिले थन्क्याएको नागरिकता विधेयकमा सही गर्न भनेका हुन् ।
संसदले पास गरेर नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पठाए पनि सडकबाट आमनागरिकले सही नगर्न आन्दोलन नै गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाइदिएकी थिइन । दुबै सदनबाट पुनः पास गरेर त्यही विधेयक प्रमाणिकरणका लागि पठाउँदा पनि पूर्वराष्ट्रपतिले प्रमाणिकरण गर्न मानिनन् र थाँती रहेको छ । अहिले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । आलंकारिक राष्ट्रपति भएपनि उनले कानुनी, प्रेस, कूटनीतिक, निजीगरी दर्जनौं सल्लाहकार नियुक्त गरेर आफन्तलाई जागीर दिइसकेका छन् । ती सल्लाहकारले उचित सल्लाह के दिनेछन्, सबैको प्रतिक्षाको विषय बनेको छ । कांग्रेसी नेता बालकृष्ण खाडले दुबै सदनबाट पास गरेर दोस्रोपल्ट पठाएको नागरिकता विधेयक प्रमाणिकरण गरेर नागरिकता समस्या समाधान गर्न भनेका छन् । अर्थात् नयाँ राष्ट्रपति पौडेलको परीक्षा नागरिकता विधेयकबाट सुरू भयो ।
कांग्रेस नेता खाण जनकपुर पुगेर आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेका हुन् । रामचन्द्र पौडेल बरिष्ठ कांग्रेस नेताबाट राष्ट्रपति भइसकेकाले उनले कांग्रेसी आग्रह मान्छन् कि राष्ट्रियतालाई बढी ध्यान दिनेछन्, त्यो प्रतिक्षाको विषय हो । यद्यपि नागरिकता नपाएका नेपालीले नागरिकता पाउनैपर्छ, नागरिकता वितरणका नाममा विदेशीलाई सहज नागरिक बन्न पाउने छुट दिनुहुन्न भन्ने आमधारणा छ ।
खाणले सरकार, पार्टी र अन्य राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराए पनि कुनै पनि पार्टीले यसबारे बोलेका छैनन् । मुख्य कुरो स्वयम् नेपाली कांग्रेस मौन छ । यथास्थितिमा राष्ट्रपतिले यो विधेयक आँखा चिम्लेर र एमालेसँग प्रतिषोध साध्न प्रमाणिकरण नगर्ने कानुनविद बताउँछन् ।
खाणले जनकपुरबाट ‘अनागरिकलाई पनि नागरिकता दिने गरी राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक स्वीकृत गर्न, प्रमाणीकरण गर्न म यो जनकपुरको कांग्रेसको प्रदेश कार्यालयबाट सम्पूर्ण राजनीतिक पार्टीहरूलाई आग्रह गर्दछु– त्यो वातावरण गराउनुहोस् । र, सरकारले, राजनीतिक दलहरूले सम्माननीय राष्ट्रपतिसँग आग्रह गरेर त्यो नागरिकता विधेयकलाई प्रमाणीकरण गरियोस् । ती नेपाली नागरिक, जसले नागरिकता प्राप्त गर्न सकेका छैनन् कानुनको अभावमा । उनीहरूलाई नागरिकता दिने काममा थालनी होस् भन्ने म आग्रह गर्न चाहन्छु ।’ तर नागरिकता विधेयकका सम्बन्धमा नागरिक समाजमा ब्यापक विरोधाभाष छ । राष्ट्रवादी स्वतन्त्र कानुनविदहरु यो विधेयकको केही प्रावधानले विदेशीलाई सहज रुपमा नागरिकता दिने मूल ढोका नै खोल्छ भन्ने तर्क गरिरहेका छन् । आमजनसाधारणमा पनि यही बुझाइ पुगेको छ । समर्थन, विरोध बढेकाले नागरिकता विधेयकबारे अझै छलफल जरूरी देखिन्छ ।