Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बैंकमा हाहाकार, पैसा कहा गयो

२० सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । बैंक पैसा नझिक्नोस् भन्छ । दिनै परे थोरै थोरै दिन्छ । सहकारी आफूले जम्मा गरेको बचत पनि हप्ताको ५० हजारमात्र दिने कुरा गर्छ । धेरै सहकारी भात खाउँ कि थाल खाउँको अवस्थामा छन् । बजारमा पैसा छैन । बन्दब्यापारमा मन्दी छ । घरजग्गा बिक्री नभएर खरिदकर्ताका लागि ३०, ४० लाखको उपहार राख्न थालेका छन् । ब्यक्तिदेखि देशको ब्यापारघाटा बढेर गएको छ । तरलताको खाँचो छ । अर्थव्यवस्था निकै संकटमा परेको बताइन्छ । आखिर देशको पैसा गयो कहाँ ?
पूर्वअर्थमन्त्री जनार्दन शर्माले भनेका थिए– चर्को तरलताको अवस्था छ । पैसा कहाँ गएछ खोज्दैछु । उनले खोज्नै भ्याएनन्, उनको मन्त्रीपद गयो । नयाँ अर्थमन्त्री प्रकाशशरण महत आएका छन्, उनले मिले काम गर्छु भनेका छन्, अर्थतन्त्र सुधार्ने छु मन्तर उनीसँग पनि रहेको देखिएन । समस्या बढेको छ ।
एमालेका पूर्व अर्थमन्त्री तथा नेता सुरेन्द्र पाण्डे भन्थे– चुनाव अघि भ्रष्टाचार  भएकाले तरलताको अभाव भएको हो । ५ सय र हजार दरका नोट बिमुद्रीकरण गर्ने हो भने घूस ख्वाउनेले बोरामा पैसा लगेर घूस ख्वाउँदैन । अहिलेको तरलताको अन्त्य हुन्छ । यस्तै बैंकरमा नाम कमाएका अनिल केशरीले भनेका थिए– बजारमा पैसा छैन, सबै थन्क्याएका छन् । ५ सय र हजार दरका नोट रद्द गर्ने हो भने कालोधन र भ्रष्टाचारको धन सार्वजनिक हुनेछ । तरलता हट्नेछ । अर्थविद यो तर्कमा सहमत छैनन् ।
होला, यिनले केही न केही बुझेर नै भनेका होलान् । तर सरकारले यसतिर सोचेको देखिदैन । अर्थविदहरू पनि बिमुद्रीकरणको सुझाव दिंदैनन् ।
बैंकले भुक्तानी दिन बहाना बनाउन थालेको छ । सहकारीदेखि लघुबित्तमा ठूलै समस्या परिसक्यो । ब्यापारी भन्छन्– उधारो उठेन, भुक्तानी दिदैनन् ।  बैंकको खराव कर्जा बढेको छ । घरजग्गा र शेयरका खेलाडी डुबेका छन्, कतिले त आत्महत्या गर्न थालेका छन् । नेकपा स का केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाई इन्जिनियर तथा हाइड्रो ब्यापारीले आत्महत्या नै गरेको कारण बैंक ऋणको भारले हो । यति हुँदा पनि बैंकहरूले अर्वौं मुनाफा देखाइरहेका छन् । ग्राहक डुब्ने, बैंकहरू मुनाफामा जाने यो कसरी सम्भव भयो ? नेपाल राष्ट्र बैंकले यसबारे मौद्रिकनीतिको दोष देखिरहेको छैन । अर्थनीति ठिक कि बेठिक नयाँ अर्थमन्त्री प्रकाशशरण महत पैसा कता गयो, बोल्दैनन् । रोग पालेर निको हुन्छ ।
जनार्दन गए, प्रकाशशरण महत आए । अर्थतन्त्र र नीतिमा कहाँनेर गडबड छ, खोजिनीति हुनसकेन । पैसा हराउनुको रहस्य कसरी थाहा पाउने ? कालाब्यापारी, भ्रष्टाचार, प्रशासक, नेतासँग पैसा भए बोरामा राख्ने थिएनन्, कुनै न कुनै रूपमा पैसा बजारमा आउनैपर्ने हो । सुनचाँदी, घरजग्गा, शेयरमा भए पनि देखिनुपर्ने हो । केही विज्ञ भन्छन्– लुकाएर अभाव भएको होइन । लुकाएको छैन, घरघरमा बोरामा छैन भने बजारमा हुनुपर्ने पैसा कहाँ गयो ? प्रश्न गम्भीर छ । रह्यो सवाल ठूला दर ५ सय र हजार दरका नोटको बिमुद्रीकरण गर्ने सवाल । यसो गर्नु तरलता अभावको ओखती हो त ? केही अर्थशास्त्रीले यसबारेमा भारतको उदाहरण दिनेगरिएको छ ।
सन २०१४ मा भारतमा भाजपाले बिमुद्रीकरणलाई मुद्दा बनाएर चुनाव लड्यो, बिमुद्रीकरण गरियो भने प्रत्येक भारतीयलाई १० लाख दिनपुग्ने नारा लगायो । यह िनाराले चुनाव जित्यो पनि । सन २०१६ नोभेम्बरमा ठूला दरका नोट बिमुद्रीकरण गरियो । आज सन २०२३ मा माइपुग्दा पनि भाजपाकै सरकार छ, भाजपाले कति लाभ भयो, तथ्य र तथ्याङ्क सार्वजनिक गर्न सकेको छैन । भारतका ठूला पत्रपत्रिका र अर्थविदले भने ९० प्रतिशत नगद सटही भए । १० प्रतिशतमात्र सटही भएनन्, किन भएनन् ? गोप्य नै राखिएको छ । बिमुद्रीकरण नेपालको सानो अर्थतन्त्रमा देखिएको तरलता अभावको औषधि होइन भनिन्छ ।
प्रश्न फेरि पनि उही छ– नेपालको तरलतामा रहनुपर्ने पैसा कहाँ गयो त ?
कालो, भ्रष्टाचारको धन लुकाएको हो कि विदेश पठाएको हो ? बजार सुक्दै गएको छ, अर्थतन्त्रको चक्र कहाँनेर टुट्यो ? प्रष्ट पार्ने राष्ट्र बैंक मौन बस्न मिल्छ र ? अर्थतन्त्रको ढाड भाँचिन लागेको सबै भन्छन्, तर कोही पनि गम्भीर भएको देखिन्न ।
के हामी श्रीलंकाको दुर्घटनाको नगिच पुगिसकेका हौं त ? सरकार, अर्थविद, विञ, विशेषज्ञ सबै मिलेर तत्कालै अर्थतान्त्रिक संकटको निकास खोज्न अबेर नगरौं ।