Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भेटवार्तापछि अभिनन्दनको सनसनी

१३ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भनेका छन्– राजतन्त्र फर्काउने साजिस भइरहेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने– पहिलेका राजाहरुमा को छ गतिलो ? राजतन्त्र फर्काउन गोप्य बैठक बसिरहेको छ । धन्न डा.बाबुराम बोलेका छैनन्, नत्र उनले पहिलेजस्तै गरी यस्तै हो भने राजा नागार्जुनबाट पनि निकालिने छन् । किन हो, बाबुरामको मुखबुजो कसले लगाएछ ? यसैवीच सुनसरीमा पूर्वराजाको अभिनन्दन र भव्य रात्रिभोजले अर्को सनसनी फैलाएको छ । पूर्वराजा–राप्रपा संवादः २०६३ सालको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने निष्कर्ष यो तस्वीर हो, झापा पुगेर राप्रपाका नेताहरुले भेटवार्ता गरेको फोटो । यो फोटोमा पशुपतिशमशेर छैनन्, किन ? 
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका चार बरिष्ठ नेता अध्यक्ष राजेन्द्र लिङदेन, रविन्द्र मिश्र, धवल शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले दुई घण्टा वार्ता गरेका थिए । यो फोटो रविन्द्र मिश्रले के सार्वजनिक गरे, डा.लोहनीले अबको बाटो राजनीतिक दलहरुले नै तय गर्नुपर्छ भन्ने पूर्वराजाको राष्ट्रिय चिन्ता गरेको रहस्य खुलाए, राजनीतिक दलहरुमात्र होइन, प्रधानमन्त्री प्रचण्डकै सातो गएको जस्तो अभिव्यक्ति सुन्नमा आयो । आगामी दिनमा यस्ता सातो जाने दृश्य अरु देखिदै जाने संकेत छ ।
२०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछि सरक्क राजनीतिबाट अलग सरेका पूर्वराजाले आजसम्म पनि राष्ट्रिय पर्वहरुमा देश र जनताको बिग्रदो अवस्थाका बारेमा चिन्ता प्रकट गर्नेबाहेक कुनै सक्रियता देखाएका छैनन् तर सन्देशले पनि झस्किने नेताहरु यसपल्टको यो भेटवार्ताले सातो गएको अवस्थामा पुगेका छन् । कारण यो भेटमात्र होइन, राजनीतिभित्रको राजनीति बुझ्नेहरु भन्छन्– चुरो कुरो राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको पनि छ ।
निश्चित रुपमा राजतन्त्र र हिन्दुराष्ट्रका विषयमा द्वन्द्व चर्केको छ । यो द्वन्द्वमा नेपालको तरल बन्दै गएको परराष्ट्र र अन्यौलपूर्ण बन्दै गएको आन्तरिक राजनीति पनि कारण हुन् । पछिल्लो सन्देशमा पूर्वराजाले राजनीतिक दलहरुसँग सहकार्यका साथ अघि बढ्न प्रस्ताव गर्दा दलहरुले बेवास्ता गरेपछि द्वन्द्व सतहमा आउन लागेको छ । यो द्वन्द्वमा विश्वशक्तिको बढ्दो अभिष्ट पनि कारक छ ।
सार्वजनिक भएको खबर छ, पूर्वराजाले आफू लामो समयसम्म धैर्य गरेर बसेको तर, दलहरुले देशलाई ठीक दिशामा नलगेकोमा आपत्ति छ । संकटग्रस्त बन्दै गएको अर्थतन्त्र, कूटनीतिक असन्तुलन, राजनीतिक अन्यौलता, बढ्दो साम्प्रदायिक बिग्रहमा आफूलाई अत्यास लाग्दै गएको पूर्वराजाको भनाई रहेको थियो । यति भए पनि राजसंस्था र हिन्दुराष्ट्र पुनःस्र्थापनाको मार्गचित्र के कस्तो हुने, जनआन्दोलन रोक्न सात दल र पूर्वराजावीच भएको सहमतिको के हुने ? भन्ने चर्चाका वीचमा पूर्वराजाले ‘म सबैको साझा हुँ, मेरो लागि सबै बराबर हुन्न्, मैले कसैसँग टाढा र कसैसँग नजिक हुन मिल्दैन । मिलेर अघि बढ्नुप¥यो, देशका समस्या समाधान गर्नुप¥यो’ भन्ने पूर्वराजाको भनाई थियो ।
यो भेटवार्तामा सात राजनीतिक दल र राजावीचको भद्रसहमतिबारे छलफल भएको एक सदस्यले बताएका छन् । पूर्वराजाले देशमा शान्ति आओस् भनेर त्यो सहमति गरिएको जानकारी पनि दिएका थिए । पूर्वराजाको गुनासो छ– त्यो सहमति दलहरुले अझै स्वीकार गरेका छैनन् ।
त्यो पाँचबुँदे सहमतिमा १. संसद पुनःस्थापना गर्ने, २. जनआन्दोलन स्थगन गर्ने, ३. संवैधानिक राजसंस्था कायम राख्ने, ४. कार्यकारी अधिकार मन्त्रिपरिषदमा रहने, ५. सार्वभौमसत्ता जनतामा रहने । यही सहमतिपछि पूर्वराजाले मरेको संसद ब्यूँताइदिएका थिए । आफ्नो हात माथि परेपछि दलहरु सहमतिबाट पछाडि फर्किएका थिए ।
यति स्पष्ट सहमति गरिसकेपछि राजनीतिक दलहरुले बेइमानी गर्न हुनेथिएन । तर त्यसपछिका दिनमा राजनीतिक परिदृश्य जे देखियो, त्यो दुःखद थियो । अझै ०७४ को चुनाव र ०७९ को चुनावपछिका राजनीतिमा नीति, सिद्धान्त, नैतिकता, इमान भन्ने केही पनि बाँकी नदेखिदा राजनीतिक नेताहरुले राजासँग गरेका सहमति नमान्नु कुनै ठूलो कुरा भयोजस्तो लाग्दैन । जोसँग नीति, नैतिकता र सिद्धान्त नै छैन, उसका लागि सहमति भनेको तोड्नकै लागि हो । तर राजनीतिले यसरी बाटो बिराउँदा मुलुक र मुलुकबासीले महगो मूल्य चुकाउनु पर्नेरहेछ । जुन आज नेपालमा बढ्दो अराजकता र अनिश्चितताले देखाइरहेको छ । अझै पनि समय छ, सहमति र सहकार्य, नीति र नैतिकतामा नचल्ने हो भने नेपाल अफगानिस्तान, श्रीलंकाको बाटोमा जानसक्ने आधार बिकसित भएका छन् । विश्लेषकहरु भन्छन्– नेतृत्वमा चेत आउन जरुरी छ । अन्यथा श्रीलंकामा जनताले जसरी विद्रोह गरेको देखियो, नेपालमा नदोहोरियला र ?