Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

यी फूटबलका काला धब्बाहरु

०२ सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

राष्ट्रिय फूटबल टिमका कप्तान  सागर थापा नै घुस्याहा। म्याच फिक्सिङ गरेकै रहेछन्। कप्तानसहितका ४ खेलाडी प्रहरी खोरमा पुगेका छन्। यी सबैले अपराध स्वीरका गरेको प्रहरी दावी छ। एएफसी र प्रहरीको संयुक्त अनुसन्धानबाट नेपाली फूटबल खेलाडीहरुले म्याच फिक्सिङ गरेका अनेक प्रमाणहरु भेटिएको दावी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बताएका छन्। उनका अनुसार अझै अनुसन्धान भइरहेको छ, अनुसन्धानले धेरैलाई तान्ने प्रमाणहरु भेटिन थालेका छन्। कोही पनि बच्न सक्छु भनेर नसोचे पनि हुन्छ। अधिकांश खेलमा कप्तान सागर थापाको निर्देशनमा मिलोमतो भएको पाइएको छ। अहिले पक्राउ परेका छन्: कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई र प्रशिक्षक अञ्जन केसी। यो मिलोमतोमा अरु को को संलग्न छन्, यसको जानकारी उनैले दिनेछन्।
सन २००८ देखि १५ सम्मका ८ वटा खेलमा मिलोमतो गरेको र प्रतिखेल एक करोडसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार सन २००८ मा अफगानिस्तानसँग बराबरी खेल्ने सर्तमा प्रत्येक खेलाडीले ५ हजार डलरका दरले घूस खाएका थिए। २००९ को साफ च्याम्पिएनसीप खेलमा ३ हजार ६१ डलर बराबर भाग लगाएर खाएका थिए भने सन २०११ को मलेसियासँगको खेलमा २ गोल खाएर खेल हार्ने सर्तमा प्रति खेलाडी ५ हजार डलर लिएको प्रमाण पनि फेला परेको छ। यसैगरेर फिलिपिन्स र क्यामरुनसँग हार्ने सर्तमा प्रति खेलाडी ५ हजार डलर लिएको पनि खुलेको छ। खेल मिलोमतोबाट प्राप्त पैसा सिंगापुरका एजेन्टमार्फत अन्जन केसी र रितेश थापाले मनी ट्रान्सफरका माध्यमबाट बुझेको प्रहरीले प्रमाण पाएको छ। यस सम्बन्धमा मुलुकलाई हरुवा बनाउने प्रशिक्षक तथा खेलाडीमाथि राजद्रोह र संगठित अपराधको अभियोग लगाइने दावी छ प्रहरी अधिकारीको। राज्यविरुद्धको अपराधको दफा ३ को उपदफा ३.३ मा रहेको प्रावधानअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। सो दफामा 'कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा सङ्गठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद' हुने कानुनी व्यवस्था रहेको उल्लेख छ ।
मुख छोपेर पहरी खोरमा पुगेका यी पाँचै राष्ट्रिय खेलाडी र प्रशिक्षक भन्छन्: अन्जानमा गल्ती भयो। अहिले पश्चाताप लागिरहेको छ। किन त्यस्तो काम गरिएछ? तैपनि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लज्जित भएका छैनन्। उनले यति ठूलो देशघात, खेलप्रेमीमाथि धोका दिने घटनाक्रममा थप अनुसन्धान गर्ने र भविष्यमा कसैले यस्तो खेलसंहिता तोड्ने खालको हिम्मत गर्न नसकोस् भन्ने कारवाहीको लक्ष्मणरेखा कोर्ने सम्बन्धमा कुनै चासो दिएका छैनन्।
यो घटनाले नेपालमा साह्रै मन पराइने फूटबल खेलप्रति खेलप्रेमीहरुले चित्त दुखाएका छन्। खेलाडीले पैसाको लोभमा परेरमात्र यस्तो काम गरे कि खेलाडीहरुलाई पर्दापछाडिका डनहरुले उत्प्रेरित पनि गरेका थिए? प्रेरित गर्ने को को थिए? यसबारेमा विशेष अनुसन्धान हुन जरुरी छ। जो यस भ्रष्टाचारमा संलग्न भेटिनेछ, जोसुकै भए पनि उसमाथि कडा कारवाही हुनु जरुरी छ। अन्यथा नेपालको खेल र खेलाडीको कहिल्यै उन्नति र प्रगति सम्भव नै हुनेछैन।