सत्ताको तीर्खा अचम्मको हुनेरहेछ। जति खायो उति खाउँ खाउँ लाग्ने। ८ वर्र्षे कार्यकाल राष्ट्रपति बनिसकेका डा. रामवरण यादवले भनेका छन्– म फेरि पनि राष्ट्रपति बन्न तैयार छु। उनको यो अभिव्यक्ति नेपालमा होइन, भारतीय पत्रिकामार्फत सार्वजनिक भएको छ। कतै यादवले भारतलाई राष्ट्रपति बनाइदेउ भनेर दरखास्त हालेका त होइनन्?
काठमाडौंको एक समारोहमा दौरा सुरुवाल र टोली लगाएर मैले राष्ट्रियतालाई मधेशसँग जोडिदिएको छु भन्ने राष्ट्रपति डा.रामवरण यादवले काठमाडाैंकै राजनीतिक बृत्तलाई म फेरि राष्ट्रपति बन्न चाहन्छु भन्न सकेनन्। संजोग कस्तो परेको छ भने यो राष्ट्रपतिलाई दोस्रो संविधानसभाले निर्वाचित गरेका सभासद र संसदले चिन्दैन भन्ने केपी ओली प्रधानमन्त्री बनेका छन्। यद्यपि तिनै ओलीले नचिनेका यिनै राष्ट्रपतिबाट सपथग्रहण गर्न खुशीसाथ सामेल भए र सपथ खाएर पदबहाली पनि गरे। तर राष्ट्रपतिले तिनै केपी ओलीसमक्ष आफ्नो मनको अतृप्त सत्तालिप्सा व्यक्त गर्न सकेनन्। यद्यपि केपी ओली सकभर विद्या भण्डारीलाई राष्ट्रपति बनाउन खोजिरहेका छन् र यसका लागि उनले बाह्य रुपमा भारतलाई र भित्री रुपमा प्रचण्डको समर्थन खोजिरहेका छन्।
जेहोस्, सत्ताको तीर्खाले मै हुँ भन्नेहरुलाई नराम्ररी पखाल्नेरहेछ। म जब्बर हुँ भन्नेलाई पनि पानीसरह पगाल्ने रहेछ। ओली पग्लिए, डा.रामवरण यादव पनि पातलो बने। प्रचण्ड त आकारबिहीन नै भइसके। प्रचण्डको राजनीति अझै बाँकी देखियो सत्ता समिकरण निर्माणमा। जबकि डा.बाबुरामको सांसद र पार्टी परित्यागपछि प्रचण्ड निकै कमजोर बनिसकेका छन्। यो कमजोरी उनले सत्तामा पाएको ८ मन्त्रालयको ठूलोभागमा कसलाई पठाउने भन्ने बिवाद सल्टाउन कृष्णप्रसाद महराजस्तो नेताको सक्षमताको बली चढाउनु परेको घटना सार्वजनिक भइसक्यो।
यदि राजनीतिक दलहरु चाहन्छन् भने म तैयार छु, देश सेवा गर्न चाहन्छु, नेपालप्रतिको जिम्मेवारी काँधमा बोक्न तैयार छू भनेर डा.रामवरण यादवको आकांक्षा सडकमा पोखिसकेको छ, राजनीतिक दलहरुले उनको इच्छालाई कुनै महत्व दिएका छैनन्। भारतको हिन्दू दैनिकसँग कुरा गरेर नेपालमा प्रतिनिधि मूलक सरकारको आवश्यकता रहेको त बताए, साथसाथै हतारमा संविधान जारी गरेको भनेर भारतको बोलीसमेत बोल्नु भूलवस हुँदैहोइन। यादव पनि भारतलाई खुशी पार्न उत्सुक देखिएका छन्।
पदमा बसेपछिमात्र देश सेवा गर्न सकिन्छ भन्ने नेपाली नेताहरुको दृष्टिदोष राष्ट्रपति यादवमा पनि देखियो। भारतीय नाकावन्दीले नेपालको ढाड भाँचिरहेको जल्दोबल्दो समस्याप्रति राष्ट्रपति यादवको जिब्रो पटक्कै चलेको देखिन्न। मधेशमा ४५ जना मारिएकोमा पनि उनले मुख खोलेका छैनन्। पहिले सहमतिमा संविधान जारी गर भन्ने मनसाय प्रकट गर्दा विवादित भएका यादवले समस्यामा फेरि बोलेनन् तर मौका पाए फेरि राष्ट्रपति बन्न चाहन्छु भनेका छन्। नेपाल यस्तो देश बन्यो, जहाँ राजनीति भनेको सत्ता र शक्तिको भागबण्डामा सिमित हुनपुग्यो।