Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धन्यवाद राजदूतजी

०२ सोमबार , कार्तिक २०७२९ बर्ष अगाडि

पहिलोपल्ट नेपालका लागि अमेरिकी राजदूत टेपलिजले नेपाललाई आफ्नै आँखाले हेर्ने बताएर आश्चर्यमा पारिदिएकी छिन्। नेपालमाथि भारतीय नाकावन्दी आर्थिक स्थिति नाजुक बन्दै गएको र नेपालीको दैनिकीसमेत पीडामय बनेको देखेकी अमेरिकी राजदूत टेपलिजले अमानवीय नै हो भन्ने निष्कर्षमा पुगेर नेपाललाई दिल्लीको चस्माले हेर्ने परम्परागत मान्यता तोडेकी हुन्। यसकारण धन्यवाद राजदूतजी।
बृटिश इण्डियाबाट १९४७ मा स्वतन्त्र भएको भारतले सानो हिमाली मुलुक नेपालमाथि यसरी नाकावन्दी लगाउन हुन्नथ्यो भन्ने कूटनीतिक भाषामा राष्ट्रसंघले दबाब दिइरहेको छ र अव अमेरिकी राजदूतले पनि नेपालमाथि अत्याचार भएको अनुभव गरेकी छिन्। तैपनि भारत आफूलाई विश्वको ठूलो लोकतन्त्र भन्छ, मान्छ तर व्यवहारमा अलोकतान्त्रिक तरिकाले अमानवीयता प्रदर्शन गरिरहेको छ। अमेरिकी राजदूतको अभिव्यक्ति नेपालका लागि अँध्यारो सुरुङमा उज्यालो किरण हो। अमेरिकाले अव भारतलाई सम्झाइदिनुपर्छ, बुझाइदिनुपर्छ र नेपालको लोकतान्त्रिक यात्रामा यसरी हैकम र हस्तक्षेपकारी चरित्र देखाउन रोकिनुपर्छ। भूपरिबेष्ठित मुलुकको पारवहनको अधिकारलाई भारतले हनन गर्नुहुन्न। स्मरणीय छ, भारतले १९८९ मा पनि चौधमहिना लामो नाकावन्दी गरेको थियो।
अमेरिकाले एक इसारामात्र दिने हो भने खाडी मुलुकले नेपालमा पेट्रोलियम पदार्थको धारा नै चलाइदिन्छन् भन्ने यथार्थ भारतले समयमै बुझ्नुपर्छ। यसरी नेपालमाथि हस्तक्षेप गर्ने र नाकावन्दी लगाउने भारतलाई  सुरक्षा  परीषदको स्थायी सदस्य कसरी चयन गर्न सकिन्छ र? अमेरिकाले प्रजातन्त्रको अभ्यासको राजमार्गमा हिडिसकेको नेपालमाथि भारतले जेजस्तो दुर्व्यवहार देखाएको छ, यसबारेमा विशेष रुपमा सोच्नुपर्छ र विश्वनीतिविपरित चल्ने भारतलाई सबक सिकाउनु जरुरी छ।
ओहदाका प्रमाणपत्र बुझाएपछि र प्रधानमन्त्रीलगायतका नेपाली नेताहरुसँग शिष्टाचार भेटमा अमेरिकी राजदूतले जे बोलिन्, त्यो प्रशंसनीय छ। अव अमेरिकाले सिधै भारतलाई सुरक्षा परिषदको सदस्यबाट बन्चित गरेर कूटनीतिक जोल्ट दिनसमेत जरुरी छ। अमेरिकाले यति गर्ने हो भने भारतले कुनै पनि नेपालजस्ता साना छिमेकीमाथि हैकमवाद लाद्ने साहस गर्ने थिएन। अमेरिकाको पूर्व पश्चिम हेर्ने नीतिले नेपालजस्ता साना मुलुकले राहत पाउन सक्छन्। नवनियुक्त महामहिम राजदूतले यो समयमा नेपाललाई सहयोग गर्ने बेला हो। नेपाली चित्कार, पीडा र छटपटी अमेरिकी राजदूतले देखेकी छिन्, उनले अनुभव पनि गरेकी छिन्। विभिन्न क्षेत्रका भूकम्पपीडितलाई सहयोग गर्न ह्याविट्याटसँग हिडेकी राजदूत महोदयले नेपालको हित र मित्रतामा राम्रो छाप छोड्न सक्ने आशा गर्न सकिन्छ। यसकारण स्वागत र धन्यवाद छ राजदूतजी।