Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति चुनावमा विदेशी चासो

०८ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

राष्ट्रपति निर्वाचनमा उमेदवारी दिने दिन फागुन १३ गते नजिकिदैछ । उमेदवारी कसकसको पर्ने हो, उमेदवारीमा प्रस्तावक र समर्थक कुन कुन दलका व्यक्ति बस्ने हुन् ? यही प्रश्न यतिबेला नेपाली राजनीतिको तातो तातो विषय बनेको छ ।
२०५२ साल फागुन १ देखि २०६२ साल मंसिर ५ गतेसम्म १० वर्ष ९ महिना ५ दिन लामो जनयुद्ध समाप्त भए पनि संक्रमणकालीन न्याय सम्पादन हुनसकेको अवस्था छैन । त्यही जनयुद्ध गर्ने शक्ति एमालेसँग राष्ट्रपति र सभामुखमा सम्झौता गरेर साँढे २ वर्षका लागि सत्ताको नेतृत्व गरिरहेको छ । कांग्रेससहितको ५ दलीय गठबन्धन बनाएर चुनाव लडेको माओवादी केन्द्र, सत्ताका लागि एमालेसँग नयाँ गठबन्धनको सम्झौता गरेर सत्तामा उक्लिएको हो । तर यो गठबन्धनमा ‘सर्वसम्मत राष्ट्रपति’ ‘गैरदलीय राष्ट्रपति’ ‘सत्ता र शक्ति सन्तुलनका लागि कांग्रेसलाई राष्ट्रपति’जस्ता प्रश्नमा नराम्ररी जेलिन पुगेको छ । यही जालो र जाली कुराका कारणले पनि वर्तमान माक्र्स र माओवादी गठबन्धन टुट्ने हो कि टिक्ने हो ? भन्ने राता, तातो बहस बढेर गएको छ । एमाले स्पष्ट छ, राष्ट्रपतिमा हामी उमेदवारी दिन्छौं, त्यसैमा सर्वसम्मति हुनुपर्छ । तर माओवादीले मुण्टो फेरेको छ, कांग्रेसले पाँचै वर्ष समर्थन गर्छौं, राष्ट्रपति कांग्रेसी उमेदवार बन्नुपर्छ भनिरहेको छ ।
कांग्रेसको यही सर्तका लागि भारतका विदेश सचिव विनयमोहन क्वात्रा तुफानी दौडमा आए र १४ जना सत्ताधारी र ठूला पार्टी नेतालाई भेटेनन् मात्रै, प्रधानमन्त्रीसँग २ घण्टा वान टु वान गोप्य वार्ता गरेर फर्किएका छन् । यसकारण यो एमाले माओवादी गठबन्धन नटिक्ने, टुट्ने अनुमान बाक्लिएको छ ।
राजनीतिमा डढेलो लागेको जंगलजस्तो धुवाको कुइरीमण्डल छ, अन्यौल र अनिर्णयको अवस्था छ । सबैथोक भएको कांग्रेसले प्रधानमन्त्रीको लोभ गर्दा माओवादी केन्द्र एमालेसँग गुहार माग्न पुगेको र सबै गुमाएर अस्ताएको एमाले सर्वशक्तिमान भएर उदाएको थियो । सत्ताको म्यूजिकल चेयर वरिपरि सर्प, विच्छी र भ्यागुताको नियतिजस्तो ऊसँग उसलाई डर, ऊसँग अर्को डरको स्थितिमा ओली, प्रचण्ड र देउवा फुकी फुकी निर्णय लिइरहेका छन् । राजनीतिक कोर्ष कहाँ पुग्छ, प्रचण्ड सत्ता टिक्छ कि ढल्छ ? भन्न सकिने अवस्था रहेन । यसैवीच ओली र देउवामध्ये एकजना आफै राष्ट्रपति बन्ने चलखेल पनि गरिरहेको दृश्य देखिएको छ ।
अमेरिकी अधिकारीहरूको तुफानी भ्रमण पनि भइरहेकै छ । उनीहरूले पनि गैरकम्युनिष्ट राष्ट्रपति हुनुपर्ने कानुखुसी गरेर गएको राजनीतिभित्रको राजनीति बुझ्नेहरू बताउँछन् । भारतले मधेस प्रदेशका महन्थ ठाकुर, जनयुद्धताका सरकार र माओवादीबीच हुलाकीको काम गरेका कृष्णप्रसाद सिटौलाको नाम सुझाएको छ । गैर पार्टीका सर्वमान्य व्यक्ति भनेर केहीको चर्चा पनि छ । तर नेपालमा नागरिक समाज, बुद्धिजीवी, अधिकारकर्मी कोही पनि गैरदलीय छैनन् । हरेक व्यक्ति कुनै न कुनै दलका झोला बोकेका छन्, त्यसैले विवेकले बोल्ने कोही छैनन् ।
राष्ट्रपति को ? जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमै प्रष्ट पारिदिए– राष्ट्रपति बनाउनका लागि विदेशी शक्तिको चासो बढेको छ । राष्ट्रपति संसदको आवरणमा विदेशी शक्तिले बनाउने भए । यति हुँदा पनि एमाले, कांग्रेस अथवा सत्ताको लगाम पक्रेको प्रचण्डले सार्वभौमिकता संसदमै कायम रहेको भन्न सकेनन् ।
जे हुन्छ, १३ गतेको उमेदवारी दर्र्ताका दिन राजनीतिक तमासा देखिने छ ।