नाकावन्दी विरुद्ध नेपालमा विरोध र घृणाभाव फैएिपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाललाई बाघ झाप्पू हान्न रणनीति बुन्दैछन्। शनिवारै नाका खुल्छ भनेर नेपाललाई जानकारी गराएका मोदीको शासनले अहिलेसम्म नेपालका नाकाहरु खोलिसकेको छैन। पेट्रोलियम, ग्यास र उद्योगका कच्चा पदार्थ बोकेका गाडीहरु भारतीय क्षेत्रमै जाम भएर अड्किएका छन्। नेपालले पाउनै पर्ने पारवहनलाई अवरुद्ध पारिरहेको छ भारतले। मधेशीहरुको आन्दोलन जारी छ, भारतको सहयोगमा मधेशी मोर्चाले आन्दोलन जारी राख्ने निर्णय गरेका छन्। वार्ता टोलीले मधेशी मोर्चासँग निर्णायक वार्ता गर्न सकेको छैन। यता ठूला तीन दल सत्ता परिवर्तनको दौडधुपमा लागेका छन्। प्रधानमन्त्री को बन्छ भन्न सकिने स्पष्ट चित्र अझै देखिदैन। कांग्रेसका बरिष्ठ नेता शेरबहादुरदेउवाको दौडधुप देख्दा लाग्छ, उनी प्रधानमन्त्री बन्न चाहन्छन्। सुशील कोइरालाले आफै संविधानको कार्यान्वयन गर्न तैयार रहेको दावी गरिरहदा देउवा बुर्लुक्क बुर्लुक्क त्यसै उफ्रेका छैनन्। त्यसो भए देउवा मोदीका उमेदवार हुन्? भारतको स्वार्थ पूरा गर्न तैयार नभएसम्म कोही पनि प्रधानमन्त्री बन्न सक्दैनन्। देउवा संसदीय दलका नेता होइनन््, फेरि उनी उचालिनु पछाडि कांग्रेसको प्रधानमन्त्री र राष्ट्रपतिको पद हासिल गरेर संविधान घोषणापछि दुई गोल गर्ने रणनीति हुनसक्छ। देउवा यसकारण पनि मोदीका नजरमा छन् कि उनकै पालामा महाकाली सन्धि संसदबाट पारित गरेर भारतलाई लाभ मिलेको थियो। शायद देउवा त्यही सन्धिको ब्याज खान खोजिरहेका छन्। कुनै सहमति भएको छ भने त्यो व्यक्तिगत स्तरमा भएको होला भनेर १६ बुँदे र भित्री भद्र सहमतिलाई देउवाले खारेज गरेका छन्। उनको सोझो भनाई छ– संसदका ३१ पार्टीवीच पूर्ण सहमति बन्ने स्थिति छैन, बहुमतीय प्रणालीबाट सरकार गठन हुन्छ। व्यक्तिगत सहमति भएको भए त्यो नेपाली कांग्रेसलाई कदापि मान्य हुँदैन। अहिलेसम्म कांग्रेसले स्पष्ट निर्णय गरिसकेको छैन। सबै पार्टीसँग छलफल गरेर निर्णय हुनेछ भनिदैछ।
धर्मनिरपेक्षता हटाउ
दिल्लीले नयाँ फर्मान जारी गरेको छ– संविधान संशोधन गर्दा धर्मनिरपेक्षता हटाउनै पर्छ। नेपाल हिन्दूराष्ट्र थियो, रहनु पर्छ भन्ने भारतीय नयाँ सर्तले नेपालका ठूला तीन दलवीच भित्रभित्रै अप्ठेरो स्थिति सिर्जना भएको छ। एकातिर सरकार गठनको किचलो, अर्कोतिर असन्तुष्टहरुलाई सन्तुष्ट पारेर आन्दोलन डिफ्यूज गर्ने समस्या, त्यसमाथि दिल्लीको अर्को फर्मानको दबाब। चेपमा परेका छन् तीन दल। संविधान त जारी भयो, संविधानको कार्यान्वयनमा एकपछि अर्का ठूला समस्या आउन थालेका छन्। भूकम्पको बिपत्तिपछि भारतीय नाकावन्दीको महाविपद। तीन दलका तीन नेतालाई सत्ता पनि चाहिएको छ, संविधान लागू गराउनु पनि छ। थाल खाउँ कि भात खाउँको यो स्थितिलाई सम्हाल्नु यिनका लागि महाभारतको युद्ध जित्नुजस्तै देखिन्छ।