Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनविज्ञको निष्कर्ष - चीनलाई घेर्न अमेरिका सकृय

१६ सोमबार , माघ २०७९२ बर्ष अगाडि

नेपालको स्थापित असंलग्न परराष्ट्रनीति बिस्थापित भएकै हो ? नेपाल शक्तिराष्ट्रहरूको बढ्दो चासो संवोधन गर्न सक्ला कि नसक्ला ? अन्तर्राष्ट्रिय समाजमा नेपालले किन विश्वास गुमाउँदै गयो ? प्रश्न अनेक छन्, राजनीतिक अराजकता र राष्ट्रिय नीतिमा कुनै दल वा नेता चट्टानी अडानमा नदेखिएकाले राष्ट्रिय संकट बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ ।
खासगरी अमेरिकाको सिधा नेपाल प्रवेश र चीन तथा भारतले आफ्नो सुरक्षा चासो आफैले हेर्ने व्यवहार देखाएपछि नेपाल शक्तिराष्ट्रको चेपोमा च्यापिदै र निसास्सिदै गएको देखिन्छ । अब त शक्तिराष्ट्रका अनेक थिङ्कटेङ्कहरू बहसमा अगाडि सर्न थालेका छन् ।
चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी र वामपन्थी बुद्धिजीवी हिरण्यलाल श्रेष्ठको निष्कर्ष छ– अमेरिका चीनलाई घेर्न अझ सक्रिय भएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पका स्टेट सेक्रेटरी माइक पम्पियोले आफ्नो पुस्तकमा काश्मीरको फुलवामा विद्रोहीले ४० भारतीय मारिदिएपछि २०१९ फेब्रुअरी १४ मा भारतले पाकिस्तानको बालकोटमा हमला गरेको र पाकिस्तानले भारतमाथि अणुवम हान्ने तैयारी गर्दा भारतले पनि जवाफी आणविक हमला गर्ने तैयारी गरेको तत्कालीन परराष्ट्रमन्त्री सुष्मा स्वराजले आफूलाई जानकारी गराएपछि सम्भावित युद्ध रोक्न प्रयास गरेको लेखेका छन् । पम्पियोले पुस्तकमा लेखेका छन्– कसैले पाकिस्तान – भारत विच अणु युद्व हुँदैन भन्न सकेका छैनन् किनभने पाकिस्तानले भारत विरूद्ध अणुवम प्रयोग गर्नेछैन भनेको छैन ।
वर्षदिनदेखि युक्रेन र रूसवीच युद्ध चलिरहेको छ । युद्ध हार्ने स्थिति आयो भने रूसले आणविक हमला गर्नेछ । 
मदन रेग्मीले लेख्नुभएको छ– नेपाललाई आफ्नो चीनलाई घेर्ने योजना अनुरूप परिचालन गर्न अमेरिका अझै सकृय छ । नेपालको अवस्था भने हरेक दृष्टिकोणबाट ओरालो लाग्दैछ । नेपालमा चीन आफ्नो सुरक्षाको लागि आफै तयार भैरहेको देखिन्छ । राष्ट्रपति सीले चिनियाँ नयाँवर्षको अवसरमा राष्ट्रको नाममा दिनुभएको सन्देशमा उहाँले चीनको जनमुक्ति सेनालाई सिमानामा युद्धको लागि तयार रहन आवह्वान गरिसक्नु भएको छ ।
यसैवीच हिरण्यलाल श्रेष्ठले एक अन्तर्वार्तामा भनेका छन्– अमेरिकाले नेपाललाई चीनविरोधी अखडा बनाउने, नेपालमा उपस्थित भएर चीनका क्रियाकलापको वाच डग हुने, नेपालमा रहेर भारत र चीनवीच पनि खेल्न चाहेको देखिन्छ । अहिले त नेपालको सरकारमै अमेरिका पक्षको उपस्थिति रहेको छ ।
प्रष्ट रूपमा श्रेष्ठको दावी छ– अमेरिका नेपालबाट बहुआयामिक कूटनीति चलाइरहेछ । अमेरिकाको सुरक्षा चासोमात्र होइन, नेपालमा सैनिक अखडा नै बनाउन चाहन्छ । आइपीएस भनेको चीनविरूद्ध एसियन नाटो हो । यही सबै रणनीति कार्यान्वयन गर्न र फस्ट हेण्ड जानकारी लिन राष्ट्रपतिका निकट अमेरिकी राजनीतिक मामिला सम्बन्धी उप बिदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपालमा आएकी हुन् ।  अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग प्रमुख सामन्था पावर माघ २२ गने आउने कुरा छ । यसको यसअघि सैनिक जनरल फिन, उर्जा जिया पनि आएकै हुन् । अमेरिकास्थित राजदूत श्रीधर खत्रीका अनुसार अरू राजनीतिक र सुरक्षाधिकारी आउने कार्यक्रम रहेको छ ।
अमेरिका अब भारतबाट नेपाललाई हेर्ने होइन, सिधा डिल गर्न चाहन्छ । चीनको बढ्दो शक्ति सन्तुलनका लागि र एसियालाई वाच गर्ने ठाउँ नेपाललाई बनाउँदैछ । काठमाडौंस्थित अमेरिकी दूतावास साधनसम्पन्न यति ठूलो छ कि यो सुरक्षा सम्बन्धमा बहुआयामिक कूटनीति सञ्चालन र चीनविरोधी गतिविधिका लागि नै हो ।
यसरी अमेरिकी अधिकारीहरूको बाक्लो आवतजावत हुनुमा एमसीसी कार्यान्वयन हुन्छ हुन्न भनेर परख गर्न र एसपीपी लागू गर्न सकिन्छ कि भनेर पनि हो । नेपालको भूराजनीतिक महत्व बढ्दै गएको छ । महाशक्तिहरू, ठूला दुई छिमेकीको सक्रियता समेत बढेको अवस्था छ । र, प्रचण्डको नेतृत्वको ७ दलीय सरकार बनेपछि यो सरकारको अमेरिकाप्रतिको दृष्टिकोण के हो जानकारी लिन, यो सरकार चीनतिर ढल्केको हो कि भन्ने फस्ट हेण्ड जानकारी लिन समेत अमेरिकी अधिकारीहरूको भ्रमण भइरहेको बुझ्न सकिन्छ ।