यो कस्तो कछुवा चाल हो राष्ट्र बैकको गभर्नरजी? वैशाख १२ गते गएको भूकम्पपछि दशौं हजार मरे, लाखौंको अंगभंग भयो, ५ लाखभन्दा बढी घर ध्वस्त भए। चर्किएका घरको गिन्ती नै छैन। यस्ता पीडितलाई सहुलियत ब्याजदरमा ऋण दिने निर्णय भयो, निर्देशन पनि गयो। तर ६ महिना भइसक्दा पनि किन कार्यान्वयन भएन सहुलियत ब्याजदरको ऋण? हुन त सुशीलको सुस्त सरकारले राहत स्वरुप बितरण गरेको १५ हजार सबैले पाएको स्थिति छैन। २ लाख दिने भनिएको आश्वासन २ वर्षमा पनि पूरा नहोला। दाता सम्मेलन भयो, दाताहरुलाई ७ खर्ब भए पुनर्निर्माण हुन्छ भनियो, दाताहरुले ६ खर्ब ६० अर्व दिन तैयार भए। त्यही पैसामा चलखेल गर्न गठित पुननिर्माण प्राधिकरणमा डा.बाबुरामको साटो प्रम सुशील कोइरालाका ज्वाईलाई पदस्थापना गर्नासाथ भड्किएको माओवादीले नियम कानुन बनाउनै दिएन र गठनमै प्राधिकरण तुहिसकेको छ। वास्तविक भूकम्पपीडितको आधाभन्दा बढी संख्या अहिले पनि राहत पर्खेर पालमै बसिरहेको छ। खाद्यान्न, पाल खरिद र राहत बितरणमै विभेद भो, भ्रष्टाचार गर्ने मन्त्री सचिवमाथिसमेत कारवाही भएन।
गभर्नर पनि सुस्त? १५ देखि २५ लाखसम्म सहुलियत कर्जाका लागि ग्राहकको माग बमोजिम बैंक, बित्तीय संस्थाले शून्य प्रतिशतदेखि २ प्रतिशतसम्मको ब्याजमा कर्जा दिने निर्णय गरेको सम्झना छ कि छैन गभर्नरजी? ६ महिनामा एकजनाले पनि त्यस्तो कर्जा नपाउनु भनेको प्रधानमन्त्री सुशील कोइरालाका नातेदार भएकै कारणले गभर्नर बनेका चिरञ्जिवी नेपालको सबैभन्दा ठूलो असफलता मानिएको छ। यसबाट थाह हुन्छ, सरकार साँच्चै भूकम्पपीडितलाई सहायता गर्न चाहदैन।