Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सबै जहाजको छानबिन हुनुपर्छ

०२ सोमबार , माघ २०७९२ बर्ष अगाडि

काठमाडौँ । माघ १ गते आइतवार, यती एयरको जहाज पोखरामा दुर्घटनाग्रस्त भएर ७२ जनाको ज्यान गएपछि माघे सङ्क्रान्ति दुर्भाग्यपूर्ण हुनपुग्यो ।
सरकारले ५ सदस्यीय छानबिन टोली गठन गरेको छ । यो छानबिन टोलीमा एकजना पनि दुर्घटनाविज्ञ छैनन् । यसकारण शंका गरिदैछ, पाइलटको दोष देखाइने छ । साह्रै सुरक्षित मानिएको पोखरा विमानस्थल, वातावरण स्वच्छ र सफा भएको दिन यो दुर्घटना भएकाले पनि अनेक संशय उठेका छन् ।
हुन त यो जहाज साँढे १५ वर्ष पुरानो रहेछ । प्रश्न नयाँ वा पुराना भन्दा पनि यो जहाजको प्राविधिक पक्ष कति सवल थियो थिएन भन्ने हो ।
यति र तारा एयरका मालिक एकै हुन् र राजनीतिक प्रभाव राख्छन् । सबैभन्दा बढी दुर्घटना यही कम्पनीका जहाजका भएकाले पनि प्रश्न गम्भीर छ । यात्रुको जीवन जोखिममा पारेर कमाउने मात्र सोच राखेकाले यो जहाजको प्राविधिक पक्ष कमजोर भएको कुरा सार्वजनिक भइसकेको छ । यसरी खेलाची पाराले जहाज उडाउँदा कालो सूचीमा परेको नेपालको युरोप र अन्य क्षेत्रको उडानमा थप समस्या आउने नै छ । मुख्य सवाल नेपालमा उड्ने गरेका हरेक कम्पनीका पुराना जहाजको छानबिन हुनुपर्छ, ती जहाजलाई अनुत्तरदायी तवरले उडान अनुमति दिनेमाथिसमेत कारवाही हुनुपर्ने आवाज उठेको छ । हरेक दुर्घटनापछि छानबिन हुने र एकाध महिनापछि सामसुम हुने प्रवृत्तिले ठूलै समस्या ल्याएको छ ।
ऋण काढेर गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, खुल्यो । एकाध महिना चल्यो पनि । भारतले एयर रूट दिन नमानेपछि यी दुबै विमानस्थलको भविष्य के हुन्छ, नेपालले भारतसँग एयररूट लिन सक्छ कि सक्दैन भनेर प्रश्न उठिरहेको बेलामा पोखरामा यतीको जहाज दुर्घटनाग्रस्त हुनपुग्यो । ठूलो नोक्सानी भयो ।
अब खेलाँची पाराले हुँदैन । आइन्दा यस्ता दुर्घटना हुन नदिने के कस्तो सावधानी अपनाउनुपर्छ । उड्डयन उद्यम गर्न चाहनेलाई के कस्ता सर्त बन्देजहरू राख्नुपर्छ र हरेक जहाज उडाउनु पूर्व प्राविधिक पक्षको कडिकडाउ जाँच गर्न के कस्ता व्यवस्था गर्नुपर्छ, त्यसबारेमा विशेष छलफल गरेर नीति निर्माण गर्न जरूरी छ ।
हवाई सुरक्षाको प्रष्ट योजना आउनैपर्छ, अब खेलाची सह्य छैन । यस्ता भयानक, भयावह दुर्घटनामा खेलाँची, भ्रष्टाचार, अनैतिकताको गन्ध पर्याप्त छ ।
आजको आवश्यकता कर्मकाण्डी छानबिन होइन । पचासौंपल्ट दुर्घटना भइसक्यो, कर्मकाण्डी छानबिनले नतिजा दुःखद नै ल्याइरहेको छ । यसकारण पनि यसपल्ट हवाई नीतिको पुनरावलोकन हुनजरूरी छ ।
यो दुर्घटना भएपछि भारतीय सञ्चारमाध्यमले चीनको ऋणसहयोगमा बनेको पोखरा विमानस्थलबारेमात्र होइन, चीनको षडयन्त्रसम्म भन्न भ्याएका छन् । जनधनको क्षतिप्रति संवेदनशीलसमेत हुन सकेन भारतीय सञ्चार जगत । आखिर किन भारत र चीनवीचको वैमुनस्यता यस्ता दुर्घटनासमेत नेपालमाथि पोख्छ भारत ? यहीकारण हो, भारतका प्रति नेपालीहरूमा व्यापक घृणाभाव हुनेगरेको छ । हुन त भारतका प्रति उसका कुनै पनि क्षिमेकीको उदारभाव छैन, कारण भारतको दुष्ट व्यवहारले ।
विमान दुर्घटनाको सत्यतथ्य छानबिन र अब अपनाउनु पर्ने सुरक्षा के कस्तो हुने भन्ने सवालमा संसदमा र प्राविधिहरूसँग विचार विमर्श हुनेपर्छ । आमनागरिकको ज्यानसँग खेलवाड गरेर व्यापारीले पैसामात्र कमाउने नीतिको अन्त जरूरी देखिएको छ ।