Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नुवाकोटमा गोरू जुधाई उत्सव

०२ सोमबार , माघ २०७९२ बर्ष अगाडि

नुवाकोट । माघ १ गते, माघे सङ्क्रान्तिको दिन । बेत्रावतीको किनार । तारकेस्वर गाउँपालिका वडा नम्बर ३ चंदनी, तारूका, नुवाकोटमा हरेक बर्ष झैं गोरू जुधाएर सँस्कृतिको जगेर्ना गर्ने उत्सव मनाइयो । यो क्षेत्रमा गोरू जुधाई उत्सव भनेर ठूलो प्रचार गरिएको थियो । यसक्षेत्रका मात्र होइन, राजधानीदेखि पनि यो उत्सव हेर्ने भीड थियो । हामी पनि यो उत्सवमा सहभागी हुनपुगेका थियौं । १८ हलगोरू जुधाउने कार्यक्रम राखिएको रहेछ ।
सांसद, पूर्वमन्त्री, दोहोरी गायक गायिका, अन्य कलाकारको पनि निकै भीड लागेको देखियो । हरेक युवा, केटाकेटी, बुढाबुढीसमेत खानपिनका सामानसहित आएका देखिए । एकप्रकारले राजधानीमा घोडेजात्राजस्तै हुनेरहेछ । कुन गोरूले जित्ला, कसको गोरूले बाजी मार्ने हो भनेर निकै उत्साहका साथ चर्चा सुनिन्थ्यो । भागदौड भयो भने किचाघानमा पर्ने खतरा बढी अनुभूति भइरहेको थियो । आयोजकले यति ठूलो भीडलाई व्यवस्थित पार्ने काम गरिएन, हरूवा गोरू भाग्दा मान्छे किचाघानमा पर्नसक्थे । मर्नसक्थे । यति ठूलो कार्यक्रमलाई किन सुरक्षाको दृष्टिकोणले व्यवस्थित गरिएन भन्ने विषय खड्किरह्यो । हामी पनि हरूवा गोरू भाग्दा बाँच्नका लागि पटक पटक भाग्नुपर्ने बाध्यतामा परेका थियौं ।
दर्शक भन्थे, जात्रालु हाँस्दै खिसिट्यूरीको आभाष दिलाउँदै भन्थे– काठमाडौंमा पदको तानातान हुन्छ, यहाँ गोरूको हानाहान । यहाँको गोरू जुधाईलाई संसदमा नेताहरूको सत्ता जुधाईसँग हरेक नागरिक दाँजिरहेका थिए । रमाइलो अनुभूति गरिरहेका थिए । जब पोखरामा प्लेन दुर्घटना परेको खबर आयो, यो साँढे जुधाई उत्सवको रौनक एकाएक घटेको देखियो ।    – फणिन्द्रराज पन्त, नुवाकोट