Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तुइनबाट अर्को मृत्यु, सरकार किन देख्दैन ?

२५ सोमबार , पौष २०७९२ बर्ष अगाडि

नेपाल अझै १८औं शताब्दीमा छ । पहाडी मुलुकमा नदी धेरै छन्, नदी तर्ने पुल छैन । तुइनमुक्त गराउने घोषणा गरेको दशक भइसक्दा पनि तुइनमा नदी तर्न बाध्य छन् नागरिकहरू । पुस २४ गते ब्यासस्थित अस्थायी तुइनबाट महाकालीमा खसेका १० वर्षका बालक दिपेन्द्र बिष्ट, नदीमै बेपत्ता भए । बिष्टकी आमा घाँस काट्न तुइनबाट भारतपट्टी गएपछि आमाको पछि लागेर गएका बिष्ट तुइनबाट खसेका थिए ।
जिल्ला प्रहरी दार्चुलाका अनुसार पीडित पक्षले खबर नगर्दा ढिलो गरी प्रहरी टोली खोजीका लागि खटिएको हो । खोजीका लागि सुनसेरा प्रहरीचौकीबाट प्रहरीको टोली खटाइएको छ । स्थानीयहरूले वारीपारी जानका लागि व्याँस गाउँपालिका ४ डोकटमा अस्थायी तुइन निर्माण गरेका हुन् । यही तुइनबाट स्थानीय वारपार गर्ने गर्छन् । तुइनबाट खसेर दार्चुलावासीले अर्को ज्यान गुमाए । यसअघि भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपालीको हत्या गरेका थिए । यसपल्ट भने तुइनकै कारण बालकले ज्यान गुमाउनु परेको छ । तुइनबाट खसेर वर्षेनी नेपालीले अकालमा ज्यान गुमाउनु पर्ने जोखिम कायमै छ । राज्य कता छ ? तुइन मुक्त अभियानका बारे किन बोल्दैन ? तुइन बिस्थापित भइसक्यो भन्ने सरकारले यो घटनाबाट किन शिक्षा लिदैन ?
अझै पनि दार्चुलामा १० तुइन छन् । तुइन बिस्थापन गर्ने सरकारी अभियान यतिबेला स्थगित भएजस्तो छ । राजनीतिक दबाब दिनसक्ने र प्रभाव भएका नेता भएका ठाउँमा तुइन बिस्थापन भयो, तर दार्चुलाजस्ता बिकट ठाउँमा तुइन यथाबत छ । के हेर्छन्, दार्चुलाका जनप्रतिनिधिहरू ?