Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनको सनसनी, भारत सनन्न

१८ सोमबार , पौष २०७९२ बर्ष अगाडि

काठमाडौं । केरूङ नाका खुल्यो, यारी पनि खुल्यो, अब अरू नाका पनि खोल्दैछ चीन । चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङसिनले पुस १७ गते पोखरा विमानस्थलको उद्घाटन हुनासाथ घोषणा गरिदियो– चीन–नेपाल सीमापार रेल्वेको सम्भाव्यता अध्ययन र सर्वेक्षणका विज्ञ टोली नेपाल आइपुगिसक्नु भएको छ । यस ‘अन्तरदेशीय सडक’ निर्माणको महत्वपूर्ण चरणमा चिनियाँ प्राविधिक विज्ञ टोली भर्खरै नेपाल आएको छ र ‘भूपरिवेष्ठित मुलुक’बाट ‘भूजडित मुलुक’ बन्ने नेपालको सपना अन्ततः साकार हुनेछ ।’
०७२ सालको भूकम्पछि चीनले अघोषित नकावन्दीजस्तो गरेको थियो । सबै व्यापार समुद्रबाट गर्दै आएको थियो । नेपालसँगका नाका बन्दजस्तै थिए । प्रचण्ड प्रधानमन्त्री हुनासाथ कार्यवाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको अङ्ग भएको घोषणा गरेका छन् । जुन यसअघि कसैलाई थाहै थिएन ।
उद्घाटनस्थल पोखरा नै पुगेर वाङले ‘बीआरआई’लाई अघि बढाएर नेपालले फलदायी नतिजा पाउन सक्ने खुलासा गरेका हुन् । पोखराको यो विमानस्थल चिनियाँ ऋण र सहयोगमा बनेको परियोजना हो । कार्यवाहक राजदूतले पोखरावासीको ५० वर्षदेखिको सपना पूरा भएकोमा खुशी पनि व्यक्त गरे ।
स्मरणीय छ, पोखरा विमानस्थल चीनको एक्जिम बैंकको २१ करोड, ७० लाख डलर अर्थात् २२ अर्व ऋणमा बनेको हो । यसमध्ये ७५ प्रतिशतको २ प्रतिशत व्याज लाग्नेछ भने २५ प्रतिशतको व्याज तिर्नुपर्नेछैन । उद्घाटन समारोहमा प्रदेशप्रमुख कृष्णले भने– चीनले सबै ऋण अनुदानमा बदलिदिनुपर्छ । 
निश्चय नै यो ठूलो योजना हो तर जेठ २ गते निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको जस्तै यो विमानस्थलका लागि भारतले एयररूट दिएन भने गौतमबुद्ध एयरपोर्टकै जस्तो प्रभावहीन हुनेछ । चीनले छिमेकीलाई कूटनीतिमा नेपाललाई प्राथमिकतामा राखेको छ, कतै यो कूटनीति श्रीलंकामाजस्तो नहोस् ।
यति नै बेला कमिशन एजेण्टहरू निजगड अन्तराष्ट्रिय विमानस्थल छिटो बनाउनु पर्नेमा जोड दिन थालेका छन् । यही चक्करमा प्रधानमन्त्रीले समेत यो मुद्दाको उठान गरेका छन् । ऋण लियो, कमिशन खायो गर्ने नेतृत्वका कारण संकट नबढोस् । लहडमा रहर गरेर ऋण लिने र चलाउन सकिएन भने भारत र चीनलाई धारेहात लगाएर के गर्ने ? २०१९ मा सी चिनफिङको नेपाल भ्रमण, बीआरआईको दशौं वर्षगाँठको पूर्वसन्ध्यामा ’ट्रान्स हिमालयन बहुआयिमक कनेक्टिभिटी नेटवर्क’ बढेको नतिजा पोखरा एयरपोर्ट भएको छ । प्रचण्ड सरकार बनेपछि नेपाल चीन सम्बन्ध परिष्कृत भएको आँकलन पनि गरिएको छ ।
तर छिमेकी मुलुक भारतमा नेपालका कम्युनिष्टहरूलाई चीनले मिलाइदिएको र नेपालमा भारतको पकड कमजोर बनेको सनसनी फैलिएको छ । थिङटेंक भनिएका भारतीय लेखकहरूले पनि यस्तैखाले मसलायुक्त विचार सम्प्रेसित गरिरहेका छन् । भन्नेहरू त अमेरिकाको प्रभाव तत्काल रोक्नसमेत चीन सफल भएको विश्लेषण सार्वजनिक भइरहेका छन् । हामी कता ?