Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देउवाको अहंकार, ओलीको चमत्कार

११ सोमबार , पौष २०७९२ बर्ष अगाडि

काठमाडौं । शेरबहादुर देउवाको ज्योतिष विश्वास, ७ पल्ट प्रधानमन्त्री हुने जोग पुसमा कठ्याङ्ग्रिएर म¥यो । राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई नै चाहिन्छ भन्दा ८९ सांसदसहित ठूलो पार्टी बनेको कांग्रेस सत्ताबाट प्रतिपक्षमा पछारिन पुगेको छ । सातै प्रदेश सरकारबाट समेत कांग्रेस आउट हुनपुगेको छ ।
७८ सिट भएको एमाले प्रतिपक्षीमा बस्न तैयार थियो तर प्रधानमन्त्री बन्ने हठबाजीसहित कांग्रेसलाई जिल्याउन छोरी गंगालाई लिएर ओली निवास बालकोट पुगेका प्रचण्डलाई ओलीले हार्दिक स्वागत गरे, मन माझामाझ भयो, अन्तमा ओलीले साँढे २ वर्ष आलोपालो प्रधानमन्त्रीमा सघाउन राजी भएपछि प्रचण्डको रन्थनिएको मुहार र रन्थमोलमा परेको द्विविधा एकाएक सुविधाजनक हुनपुग्यो ।
एमालेले कांग्रेसलाई एक्लै सरकार बनाए बाहिरबाटै समर्थन दिने प्रस्ताव गरेको थियो, देउवाले मानेनन् । प्रचण्डले पहिलो २ वर्ष प्रधानमन्त्री दिनुपर्छ भन्ने प्रस्ताव पनि देउवाले नमान्दा नेपाली कांग्रेसले सत्ता र शक्ति दुबै गुमायो ।
ओलीसँग भेटवार्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपादेखि स्वतन्त्रसम्म ओली निवास पुगे । छलफल भयो र १६९ सांसद सहित प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुट्यो । बालकोटमा बसेर गठबन्धनको लठबन्धन हेरिरहेका ओलीको राजनीतिक विजय भयो । प्रधानमन्त्री बन्नै पर्ने र प्रधानमन्त्री बनेरमात्र अस्तित्व रक्षा हुने चरणमा पुगेका प्रचण्ड प्रधानमन्त्री बन्नेभए । यही साँढे दुई वर्षमा प्रचण्डले ०६४ को चुनावमा पाएको पूर्ण बहुमतको अवस्थामा नेकपा माओवादी केन्द्रलाई पु¥याउन सक्लान् कि असफल होला्न् ? विश्लेषकहरू भन्छन्– यो पनि गठबन्धन सरकार नै भएकाले प्रचण्डले चाहेजसरी मनमौजी तरिकाले सरकार चलाउन पाउने छैनन् । अब बन्ने सरकारमा युवा जोश, जाँगर र जनताको अपेक्षा पूरा गर्नुपर्छ भन्नेहरू समावेश हुने भएकाले ०६३ सालपछि जे जति भ्रष्टाचारकाण्ड भएका छन्, ती लुक्ने वा त्यस्तै प्रकारले फेरि पनि भ्रष्टाचार प्रकरणहरू बढ्ने सम्भाबना न्यून छ । सबैभन्दा ठूलो झट्का गठबन्धनका एमालेबाट चोइटिएर गएका नेकपा स लाई लागेको छ । प्रचण्डले नेकपा स लाई सोध्दै नसोधी ओलीसँग हारगुहार गर्न पुगेका थिए । यसकारण पनि आपातकालीन बैठक बसेर माधव नेपालले प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् ।
जसरी पनि प्रधानमन्त्री अथवा राष्ट्रपति बन्छु भनेर दौडादौड गरेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई गाली गर्न थालेका छन् । झलनाथ खनालले गठबन्धन तोडिएपछि तोरीको फूल देखेका छन् । अब राष्ट्रपति, सभामुख, जे जति नियुक्तीहरू हुनेछन्, ती सबै ओलीको निर्णयमा हुनेछन् । २७५ मा ३२ सिटे प्रचण्डले प्रधानमन्त्री पाएपछि बिजयी भएको अनुभूति गरे पनि यथार्थमा कांग्रेस, नेकपा स मात्र होइन, माओवादी केन्द्रलाई भन्दा पनि ठूलो राजनीतिक सफलता ओलीले हासिल गरेका छन् । यो सरकार लोकतन्त्रमै अजुवा सरकार हुनेछ ।
एकाएक राजनीतिक परिदृश्य फेरियो, ऊँटले अकैतिर कोल्टे फे¥यो । परमादेशमार्फत प्रधानमन्त्री बनेका देउवा प्रतिपक्षमा बस्न बाध्य भए । ३२ सिटे प्रचण्डलाई एमालेको ७८, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, अन्य सानादलसहित १६९ को समर्थन प्राप्त भएको छ । अब प्रचण्ड नेतृत्वको सरकारमा देशले परिवर्तन खोजेको जनादेश पाएका यथास्थितिका विद्रोही युवाहरू पनि सामेल हुने ढोका खुलेको छ ।
संविधानअनुसार नयाँ सरकार बनेपछि फागुन २९ गते पदावधि सकिने राष्ट्रपतिको चुनाव माघ २९ गतेसम्म भइसक्नेछ । राष्ट्रपति, सभामुखमा एमालेले कसलाई उभ्याउने हो, त्यसको प्रतिक्षा अहिले नै सुरू भइसकेको छ । तानतुत, जोडजाड सरकार भएकाले राजनीतिक स्थिरता हुनेछ भन्ने विषयमा विविध संशयहरू जिवितै रहेका छन् ।