Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फेरि जनताको थाप्लोमा उही असफल शासक

०४ सोमबार , पौष २०७९२ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री, राष्ट्रपति, सभामुख को बन्ने ? तानातान, हानाहान, घुर्की, फूर्तिफार्ती चलिरहेको छ ।
ठूलो दल कांग्रेस, गठबन्धनका सारथी एमाओवादी, दोस्रो ठूलो दल एमाले र अरू ससाना राष्ट्रिय र स्वतन्त्रहरू, एउटै दलले बहुमत नपाएपछि मोलतोल चल्नु स्वभाविक हो । प्रश्न यत्ति छ कि जो जोसँग तालमेल मिलाए पनि, जतिथान दल वा स्वतन्त्र मिलेर सरकार बनाए पछि यी १५ वर्षदेखि जनताले देखे भोगेका उही असफल नेतृत्व हुन् । प्रधानमन्त्री राष्ट्रपति, सभामुख, मन्त्री र अन्य संवैधानिक पदहरूमा यिनले नै भाग शान्ति जय नेपाल गर्ने हुन् । पुरानै नेतृत्व शासनमा आउँछ भने नयाँ के होला ?
देउवा, प्रचण्ड र ओली, यिनले पटक पटक प्रधानमन्त्री चलाइसकेका छन् । अझै यिनीहरू सत्ताका लागि लुछाचुँडी गर्नु आश्चर्यको राजनीति हो । जब यिनले आफ्नो चरित्र देखाइसके भने यिनीमध्ये जो सत्ताको मूली बनेपनि यिनले उधुम गर्न बाँकी केही छैन । यिनीहरूबाट भ्रष्टाचार, आफन्तवाद, राजनीतिक व्यापार, अपराधिकरणबाहेक अरू केही हुन्न भनेर बुझे हुन्छ ।
मंसिर ४ को चुनावको नतिजाले बुढा नेताहरूलाई जनताले आदेश दिएका छन्– कि मिलेर चलाउ, कि राजनीतिबाट अवकाश लिउ । यसकारण पनि यो चुनावी नतिजा विशेष छ । तरअसक्षम नेता बुझ्दैनन् जनादेश ?
यो चुनावी नतिजामा मतदाताको आक्रोश छ । ०६३ सालपछि जसरी शासन व्यवस्था यिनले हाँके र कुनै अग्रगमन वा परिवर्तन देखिएन, चुनावी नतिजामा अर्को परिवर्तनको संकेत पनि छ । चुनावमा मतदातामा नैराश्यता देखियो, जसले मतदान गरे, तिनले यी स्थापित पार्टी र नेतालाई धक्का दिएकै हुन् । पालिका र संघीय, प्रदेशको निर्वाचनमा मतदाताले अर्धविद्रोह गरेकै हुन् । मतदाताको यो साहस स्थापित दल र सोच र शैलीका बृद्धनेताले बुझेनन् भने अर्को चुनावमा यी सबै बढारिने छन् । मतदाताको आक्रोश, आत्मविश्वास र विद्रोहलाई बुझ्न नसक्नु आउनसक्ने आँधीको आँकलन गर्न नसक्नु हुनेछ ।
निराशपन, निसास्सिदो राष्ट्रिय शासन व्यवस्था, सर्वत्र अनियमितता र विभेदले मतदातालाई उमालिदिएको छ । उम्लिनु परिवर्तनको उर्जा बन्यो । यही उर्जाका साथ केही युवाहरू राजनीतिक वर्णपटमा उदाएका छन् । प्रजातन्त्र बलियो हुँदैछ, मक्किएको भ्रष्ट र अनैतिक सोच भाँचिन थालेको छ भन्ने सन्देश निर्वाचन बन्यो । विश्वका अनेक देशमा जब मतदाताका साथमा युवा सडकमा उत्रन्छन्, केही न केही जनअपेक्षा सतहमा आउँछ । नेपालमा त्यो ताकत चुनावले देखायो ।
कस्तो अचम्म, जनयुद्ध गर्ने शक्ति पातलियो, प्रजातन्त्र जप्ने पार्टी र ०६३ को परिवर्तन ल्यायौं भन्नेहरूलाई समेत मतदाताले तिम्रा काम गर्ने शैली ठीक छैन भनिदिए । यो हिम्मत प्रजातन्त्रमा मात्र सम्भव हुन्छ । यी बुढा नेताहरूको मुहारमा चिन्ता छ, हातमा भएको राजनीतिको लगाम खुस्कन थाल्यो भन्ने हतासा पनि देखिन्छ । कतिपय सातो गएका स्थापित नेताहरू ठूलो षडयन्त्र देख्न थालेका छन् । जनादेशको मूडलाई नबुझ्ने हो भने अर्को चुनावसम्ममा नेपालले काँचुली फेर्नेछ, भ्रष्ट चरित्र परास्त हुनेछ ।
विश्लेषकहरूको विश्लेषण छ– युवाहरूले यो तरङ्ग ल्याउन सफल भए, केही पाका व्यक्तिहरूले पनि तिनै युवालाई साथ दिएकाले चुनावको परिणामले मै हुँ भन्ने अहंकारी बुढा नेताहरूलाई बाघझाप्पु हानेको हो । १५ वर्षमा जुन तरिकाले पार्टी राजनीतिलाई अपराधिकरण गरियो, अब त्यस्तो चल्दैन भनेर दिएको मतादेश नबुझ्नु यिनको ठूलो भूल हुने पक्का छ ।
यो चुनावमा नयाँ दल, पुराना दलका नयाँ अनुहार, नयाँ व्यक्तिहरूले अचम्मसँग मत ल्याएका छन् । सपना देखाएर भ्रमित पार्ने र भ्रष्टाचार गर्ने केही बुढाहरूलाई थान्को लगाइदिएका छन् । मतदाताले किन यसो गरे, यसको गुढार्थ यी नेताले बुझ्नुपर्छ । नबुझे अब म प्रधानमन्त्री हुन्छु, भ्रष्टाचार अन्त्य गर्छु, राम्रो काम गर्छु भन्ने अवसर फेरि अर्कोपल्ट यिनले नपाउन सक्छन् ।
युवापुस्ता भन्छन्– देश बस्न लायक नै छाडेनन् ठूला दल र नेताले । विदेशीन बाध्य हुनुको मुख्य कारण यिनै नेता हुन् । हो, बुढो पुस्ताले परिवर्तन ल्यायो, तर त्यो परिवर्तन युवाले साथ दिएर आएको हो । परिवर्तन आएपछि बुढोपुस्ता आफूलाई मात्र हेर्ने भयो, देश र जनतालाई बिर्सिएको अपराधवोध किन गरेनन् ? चुनावले यो सत्य बोलेको छ ।
लोकतन्त्र लोकतन्त्रजस्तो छैन । गणतन्त्रमा गण नै देखिन्न । संविधान छ, विधिपूर्ण शासन छैन । विभेद, निषेध व्यापक छ । पिछडाबर्गको अधिकार यसपाली पनि यिनले लुटे । व्यवस्था र मुलुकको मूली बन्ने, मूलीले मनलागी गर्ने ? यिनै मनलागी गर्नेको गीत मतदाताले सधैं गरिरहनु पर्ने ?
समय बदलियो, मतदाताको सोच बदलिदैछ । अर्को आँधी नआउँदै सोचौं ।