Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चुनाव अघि नै प्रधानमन्त्री को बन्ने विवाद

२१ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

मंसिर ४ गते चुनाव भइरहेछ कि चुनावी अखडामा कन्दनी कसेर मल्लयुद्ध । संसदीय मर्यादाका सबै सीमाहरू लाघिएका छन् । न्वारानदेखिको बल लगाएर गठबन्धनले एमालेको र ओलीले गठबन्धनका नेताहरूको सकेसम्म एकदोस्रालाई खुइल्याउने भाषण गरिरहेकै छैन । जनताको अपेक्षा, देशका समस्या, भावी योजना, राष्ट्रियनीतिका विषयमा के गर्ने भन्ने कुनै नेताले एजेण्डा बनाएका छैनन् । गाली गरेर मत पाइन्छ, जनता खुशी हुन्छन् भन्ने मनोविज्ञानले चुनाव प्रचारलाई गाली पुराण बनाएको छ ।
दिल्लीका प्रतिनिधि साक्षी राखेर प्रचण्ड र प्रधानमन्त्री पत्नी डा.आरजु राणाबीच चुनावपछि आधा आधा समय प्रधानमन्त्री बन्ने सहमति गरेर फर्केपछि गठबन्धन झन बलियो भएको थियो । तर निर्वाचन आयोगले कार्तिक १७ देखि मंसिर १ गते सम्म चुनाव प्रचार प्रसारको अवधि खुला गरिदिएपछि भावी प्रधानमन्त्री प्रचण्ड भनेर माओवादीले प्रचार थालेको छ । स्वयम् प्रचण्डले गोर्खाबाट नेकपा माओवादी कति शक्तिशाली छ भनेर विश्वलाई देखाइदिनुपर्छ भन्दै ०६४ सालको जस्तो चुनाव परिणाम ल्याउन सारा शक्ति लगाएका छन् । यसबाट कांग्रेस तरङ्गित बनेको छ । कांग्रेसले देउवालाई भावी प्रधानमन्त्री भने पछि कांग्रेसभित्र प्रधानमन्त्रीका अनेक आकांक्षी देखिएका छन् ।
चुनाव नजिती प्रधानमन्त्री नभई मर्दिन भन्छन् रामचन्द्र पौडेल । भावी प्रधानमन्त्रीका रूपमा गगन थापाले प्रचार गरीगराइरहेका छन् । शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह पनि प्रधानमन्त्री बन्न खोजेका छन् । 
हुन त चुनाव मंसिर ४ गते हो । कसले जित्छ, कसले हार्छ भन्न सकिन्न । किनकि पालिका निर्वाचन परिणामले मतदाताको मनस्थिति अब एकोहोरो छैन, हाम्रोलाई भन्दा राम्रोलाई मत दिन्छन् भन्ने सन्देश देशैभरि फैलिएको छ । प्रचण्ड र देउवाको तानातानबीच मौका पाए मिलेरै सत्ता चलाउनुपर्छ भनेर नेकपा स का माधवकुमार नेपालले पनि पासा फालेका छन् । स्पष्ट चाहिं एमाले छ, एमालेले केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।
डा बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डलाई उभ्याएर भावी प्रधानमन्त्रीमा प्रचण्डलाई देख्न सकिन्छ भनेर जुन तरिकाले प्रचार गरिरहेका छन्, यसबाट प्रचण्ड इण्डो–पश्चिमाको कति निकट पुगिसकेछन् भनेर अनुमान लगाउन गाह्रो छैन । राजनीतिभित्रको राजनीति बुझेकाहरू भन्छन्– गठबन्धनलाई गह्रुंगो देखिरहेका छन् । आमसभाहरूमा एमालेमा जुन आकर्षण छ, त्यसबाट गठबन्धन यो चुनावलाई महाभारतकै रूपमा नलिए कौरव बन्न सकिने निष्कर्षमा पुगेको छ । जतिसुकै महगो होस्, यसपल्टको निर्वाचन गठबन्धन विरूद्ध एमालेबीचको युद्ध हो, सकेजति साम, दाम, दण्ड, भेद प्रयोग हुनेमा कुनै शंका छैन ।