Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वाम वा लोकवादीको मात्र सरकार नबन्ने भयो

१४ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

नेपालमा चीन छ, भारत छ, अब अमेरिका र इयु पनि प्रभावशाली बनेको छ । विश्वशक्तिको द्वन्द्वक्षेत्र हो नेपाल । यसकारण वामपन्थी वा लोकतन्त्रवादीको एकल सरकार नबन्ने भयो ।
अस्थिरता, अराजकता थियो, मंसिर ४ को निर्वाचनले पनि स्थिरता नदिने निश्चित छ । किनकि ठूला पार्टीहरूमा गठबन्धनको निर्वाचन सिटको बाँडफाँड र प्रतिपक्षीको कमजोर हुँदै गएको अवस्थाले पनि स्थिरता पर धकेल्यो ।
अब मतदाताले विद्रोह गरे, आमूल परिवर्तनकारी शंखघोषका साथ मतदान गरे भनेमात्र केही होला । त्यो अवस्था देखिदैन । त्यसकारण पनि मंसिर ४ को निर्वाचनले तात्वीक परिवर्तन ल्याउने छाँटकाँट छैन भन्छन् विश्लेषकहरू ।
हो केही स्वतन्त्र अथवा पार्टीभित्रैका होनहार युवाले जित्लान् तर तिनीहरूमाथि पार्टी नेतृत्वको हम्मर चल्ने निश्चित छ त्यसकारणले पनि आउने ५ वर्षका लागि नेपाली जनमानसले बेहोर्ने भ्रष्टाचार नै हो, विधिमाथिको खेलबाड नै हो, कुशासन नै हो, अन्याय नै हो । जति पनि बुढा नेता छन्, तिनको पनि यही ५ वर्ष अन्तिम राइँदाइँ गर्ने समय ठानिएको छ ।
भूराजनीतिभित्र विश्वशक्तिको अर्थराजनीतिले नेपालमा नकारात्मक प्रभाव पारिसक्यो । यो चेपोबाट उम्किने अक्किल र आँट कुनै पनि पार्टी वा नेतामा निहित देखिदैन । यसकारण नेपालको परराष्ट्र र आन्तरिक नीति विचलन भइरहेको छ । विचलन भनेको बिग्रनु हो, ओह्रालोयात्र हो ।
चीन निरन्तर आफ्नो सुरक्षाचासो संवोधन गर्न अमेरिका र भारतको प्रभाव निस्तेज पार्न खोजिरहेको छ । भारत आफ्नो परम्परागत प्रभाव सुरक्षित राख्न चाहन्छ । अमेरिका चीनको बढ्दो विश्वप्रभावलाई न्यूनिकरण गर्न नेपाल पसेको छ । नेपाल विश्वशक्ति जुध्ने जुधाउने मैदान बनिसक्यो ।
नेपाल भूराजनीतिमा पस्नु र फस्नु हुन्थेन, पसिसक्यो । यसकारण नेपालमा अमेरिकी बढ्दो चासो चीनका लागि सुरक्षाको मुख्य मुद्दा बनेको छ । भारत नजानिंदो गरेर आफ्नो प्रभाव घट्न नदिने राजनीतिमा छिरेको छ । अमेरिका चीनलाई किनारामा घचेट्न चाहन्छ, भारत अमेरिकाको भित्री सहायक बनेको छ, तर चीन पनि के कम, लागेशक्ति अमेरिकासँग पौंठेजोरी खेलिरहेछ ।
अर्थात चीन र अमेरिकाबीच शीतयुद्ध सुरू भइसकेको छ । एमसीसी वा एसपीपी शीतयुद्धकै बिज हो । चीन पुग्न नेपाल सबैभन्दा नजिकको मुलुक भएकाले पनि अमेरिकी चासो ह्वात्तै बढेको हो । यो अवस्थामा नेपालले बुद्धिमानीपूर्वक आफूलाई उभ्याउनु पर्ने हो । नेपाल नीतिबाट अनीतितिर पो लागेको छ । निश्चित रूपमा विश्वशक्तिका आ–आफ्नै खालका स्वार्थहरू छन्, नेपालले आफ्नो स्वार्थरक्षा कसरी गर्ने र विकासशील कसरी बनाउने भन्ने क्षमता देखिदैन ।
प्रष्ट देखिसक्यो, विदेशीका प्रभावमा परेका नेतृत्वगण र प्रशासकहरूका कारण भूराजनीतिमा नेपाल फस्यो, नेपालको स्थायित्व, स्थिरता, परिपाटीमा नकारात्मक प्रभाव पर्न थालिसक्यो । कारण हाम्रो गलत शासन तरिका हो, थिङ्क टेङ्क छन्, विवेकशील छन् भने तिनले करेक्शनका लागि सुझाव दिनुप¥यो ।
नेपाली राजनीति निकै उचारचढावपछि लोकतन्त्रमा प्रवेश गरेको छ । यो पद्धतिमा वामशक्ति छन्, लोकशक्ति छन्, राष्ट्रवादी र परम्परागत शक्ति पनि छन् । यही शक्तिका साथमा सिमान्तकृत देखि सम्पन्न बर्ग बिभाजित रहेका छन् । निश्चित रूपमा समाजवादी र लोकवादी दक्षिण र पश्चिमानिकट छन्, राष्ट्रवादी र साम्यवादी उत्तर निकट देखिन्छन् । यही निकटताभित्रको नेतागत अति निकटताले राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा दुस्प्रभाव बढेको हो । हुनुपर्ने थियो, नेपालको परम्परागत नीतिको सवलता । दुर्वल भयो । अलिकति सैनिक कूटनीति स्वच्छ छ, त्यसलाई पनि बिटुल्याउने अनेक कर्मकाण्डहरू भइरहेका छन् । यसबाट नेपाल प्रभावहीन मुलुक बन्दैछ ।
असंलग्न परराष्ट्रनीतिले नेपाललाई ख्यातिको शिखरमा पु¥याएकै हो । यो नीतिलाई जनता, देश र आर्थिक तथा लोकतान्त्रिक सुरक्षासँग जोड्न नसकिदा आजको लथालिङ्ग अवस्था सिर्जना भएको हो । नेतृत्वको व्यक्तिवाद र स्वार्थले राजनीतिलाई नराम्रोसँग जेलिदियो । राजनीतिले विदेशनीतिलाई स्वार्थसँग जोड्दा नेपाल दुभाग्यजनक अवस्थामा आइपुग्यो ।
नेपालको वाह्य सम्बन्ध साँघुरिदैछ । ताइवान र युक्रेन मामिलामा नेपाल चीन र अमेरिका दुबैतिर साखुल्ले देखियो । भारत असंलग्न बस्यो, नेपाल बस्न सकेन । राष्ट्रसंघमा समेत नेपालले चीनको पछि लाग्यो जुन नेपाली नीतिको स्खलित अवस्था थियो ।
यहाँसम्म कि कुन मुलुकलाई नदीनाला, पर्यटन, विकासका मोडल सञ्चालन गर्न दिने भन्ने बारे पनि नेपाल स्पष्ट छैन । विदेशी स्वार्थ हावी हुने, नेपालको हित खण्डित हुने तौरतरिकाको विकास भएको छ । निर्वाचनदेखि अदालतसम्म विदेशी पैसा लगानी छ, यो भनेको हस्तक्षेप हो, राष्ट्रघात हो । तर शक्तिमा बस्नेको स्वार्थका कारण पाच्य भयो । आइएनजीओकै कारण राजनीतिदेखि प्रशासनसम्म विदेशी दबदबा छ । शक्तिशाली नेताहरू विदेशीकोमा धाउँछन्, जुन गलत छ । किनकि हस्तक्षेप निम्च्याइरहेछन् ।
यहीकारण सत्तामा विदेशीशक्ति निर्णायक बन्दै गएका छन् । चुनावमा पनि कसलाई उठाउने, कसलाई हराउने विदेशी प्रभाव छ । संविधान हाम्रो हो, संवैधानिकता बिग्रियो । यही दोषले गर्दा वामशक्ति, लोकशक्ति अथवा राष्ट्रवादी शक्तिको एकल सरकार बन्ने अवस्था खस्किदै गएको छ । मंसिर ४ को निर्वाचन परिणाम पनि यस्तै आउनेवाला छ ।