ग्यास, पेट्रोल, खाद्यान्न सबै कुरा रोक्ने भारतबाट हतियारसहितका आपराधिक दस्ता नै मधेश–तराईमा पसेको खबर सुराक पाएपछि सेना र सबै सुरक्षा निकाय हाइअलर्ट भएको खबर छ। भारतले जानाजान जुन तरिकाले नाकावन्दी गरेको छ, यो नेपालको आत्मस्वाभिमानका लागि अत्यन्त खतरनाक हुनथालिसक्यो। तथापि नेपालका मै हुँ भन्ने कांग्रेस, एमाले र एमाओवादी मधेशवादी दलहरुसँग वार्ता र भारतसँग कूटनीतिक सम्पर्क गर्न तैयार देखिदैनन् किन? यो अर्को रहस्यमय प्रश्न उठेको छ।
केही दिनअघि मधेशका नेताहरु बिहारका मुख्यमन्त्री नितिश कुमार र अन्य नेताहरुलाई भेट्न पुगेका थिए। बिहारीबाबुहरुले कडा कदम चाल्ने बताएको खबर आएको थियो। त्यसपछि 'माथिको आदेशमा' सम्पूर्ण भन्सार नाकाहरुबाट कुहिने फलफूलजस्ता एकाध ट्रकबाहेक कुनै सामान नेपाल भित्रिन दिइएको छैन। दशगजामा धर्ना र भारततिरबाट ढुंगामुढा भइरहेका छन्। समस्या चर्कदै गएपछि भारतले हजारौं व्यक्तिको सशस्त्र समूह नै नेपाल पठाएको छ। भारतमा काम गरेर फर्कनेको सानो झोला पनि दशपटक खोलेर कडा छानबिन गर्ने भारतीय सुरक्षा निकायले सशस्त्र समूहले बन्दुक बोकेर नेपाल पस्दा पनि नदेखेको स्वाङ पार्नु खतरको घण्टी हो। यसको अर्थ तत्काल नेपालले भारतसँग कूटनीतिक वार्ता र मधेशी दलहरुसँग राजनीतिक सहमति नगर्ने हो भने आपराधिक घटना बढ्ने निश्चित छ। हुनसक्छ, भारतको मनसाय नेपालमा साम्प्रदायिक दङ्गा फैलाएर नेपालमा अराजक र अस्थिरताको आगो बालेर नेपाली नेताहरुको नाक आफ्नो खुट्टामा रगडाउने कुत्सित मनसाय राखेको होस्। स्रोत भन्छ– मधेशी समुदायका प्रमाणिकरणमा नपरेका पूर्व माओवादी लडाकु र भारतीय अपराधीहरुको समूह भारतीय योजनाअनुसार नै नेपाल पसेका हुन्।
यही खबर पाएर हो कि कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु मधेश गइरहेका छैनन्। हत्याआतंकको ३३ दिनपछि बल्ल कैलाली पुगेका प्रधानमन्त्री कोइराला पनि सेनाको घेरावन्दीमा गएका थिए। अव त भारतबाट अपराधिक समूह नै नेपाल पसिसकेको छ। तिनको निसानामा आम जातजातिका व्यक्तिमात्र पर्छन कि नेता पनि? यो अर्को गम्भीर सवाल हो। यसरी समस्यासँग भागेर शीर्ष पार्टी र नेताहरुले नेपाललाई न एकतावद्ध राख्न सक्छन्, न नेपाललाई सुरक्षित। तत्काल राजनीतिक र कूटनीतिक उपायहरु अवलम्बन नगर्नु र संविधान संविधान भनेर राग अलापेर बस्नुले स्थिति न ओखती, न अपरेशन गर्न सकिने क्रोनिक बन्दै गएको छ। विश्लेषकहरु भन्छन्– राष्ट्रवादलाई महेन्द्रवादी भन्ने यी नेताहरु लोकतान्त्रिक राष्ट्रवादको परिचय स्थापित गर्न असफल भएका छन्। ४४ जनाको हत्या भइसक्दा पनि ठूला दलहरु संवेदनशील बन्न सकेनन्। यसबारेमा सुरक्षाअधिकारीहरु जिब्रो चपाएर जवाफ दिन्छन्– हामीलाई जानकारी छैन, भए पनि भन्न मिल्दैन। नेपाल प्रहरीका प्रवक्ता सुनेको स्वीकार्छन्, त्यसपछि मौनता धारण गरेर तपस्यारत छन्। गृहमन्त्री वामदेव गौतम छिटो केपी ओलीलाई प्रधानमन्त्री बनाउने तारतम्य मिलाइरहेका छन्। देश बचाउन युवाहरु नेपालभरि जागरुक त भएका छन् तर नारावाजीले मात्र देश बच्दैन। पार्टीहरु देशका प्रति चासो राखिरहेका छैनन्। असोज ५ गते वीवीसीमा स्वयं प्रचण्डले बोलेका थिए– आफूलाई राजधानी बाहिर नजान सुरक्षाकर्मीले भनेका छन्।