Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालीभन्दा विदेशी सक्रिय

२७ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । हरेक विज्ञ भन्छन्– नेपाल भूराजनीतिको चपेटामा प¥यो ।
नेपालको आर्थिक हालत खस्कदो छ, श्रीलंका हुने खतरा बढेको छ ।
उत्तर र दक्षिणमात्र होइन, पश्चिमाको प्रवेश भइसकेको छ । नेपालनीतिको विश्लेषणमा यी सबै शक्ति प्रभावित पारिरहेका छन् । राजनीतिमा नैतिकहीनता, प्रशासनमा भ्रष्टाचार यसरी बढ्या कि अब नियन्त्रणबाहिर पुगिसक्यो ।
संघीयता सेतो हात्ती बन्यो, संघीयता पाल्दापाल्दै विकासका कार्य नहुने भयो । ५ वर्षको अनुभवले संघीयताको नतिजा शून्य छ । यस्तो तीतो टिप्पणी हरेक पार्टीभित्र छ, हरेक राजनीति र विकास बुझ्नेले मात्र होइन, सामाजिक अभियन्ताहरू पनि यही भनिरहेका छन् तर न योजना आयोग बोल्छ, न सरकार खारेज गर्नुपर्छ भन्ने निर्णय गर्नसक्छ । संसदमा समेत संघीयताको भार बिसाउने चर्चा भएको सुनिएन । अझै पनि संघीयता पालिरहने ? राजनीतिक दलका देशभक्तका भाषण गर्नेहरूले बुझाइदिने कसले ?
बुझाउनु पर्ने प्रतिपक्षीले हो, प्रतिपक्षी पनि मुख खोल्दैन । नागरिक समाज र बुद्धिजीवी हुन्, उनीहरू विवेक गुमाएर दलगत गुटका बनेका छन् । राष्ट्रका लागि जनताको आवाज बोलिदिने कोही छैन । जो बोल्छन्, दलीय स्वार्थमा बोल्छन्, लोकतन्त्रको गुड्डी हाँक्छन् र लोकतन्त्रलाई लुटतन्त्र बनाइरहेका छन् । जनता यस्तै दल र दलका कार्यकर्ताको पछि लागेको देखिन्छ, मंसिर ४ को निर्वाचनमा पनि यिनै दल, यिनै नेताले चुनाव जित्ने छाँटकाँट अहिलेदेखि देखिन थाल्यो ।
संघीयता फाल्नै पर्ने देखियो । यसपछि हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दामा जनताको मत बुझ्नैपर्छ । किनकि १५ वर्षको लोकतन्त्रको अभ्यासले लोकतन्त्र लोकजीवन पद्धति बन्नसकेन । लोकतन्त्रप्रति जनतामा नैराश्यकता बढी फैलिरहेको छ ।
पालिका चुनाव पैसाको भरमा जित्नेले जिते, नसक्नेले हारे । आउने चुनावमा विदेशी लगानी र स्वदेशी भ्रष्टहरू टिकट पाउने, समानुपातिकमा नाम पार्नकै लागि चुलबुल चुलबुल गर्न थालिसकेका छन् ।
गठबन्धन सरकारले के के न गर्छ भनेको भ्रष्टाचारमा डुब्यो, विदेशीको खेलौना बन्यो । नागरिकता विधेयकदेखि जे जस्ता भ्रष्टाचार काण्ड भएका छन्, त्यसबाट यो गठबन्धन सरकार देशै मास्न बनेको भन्न सकिने आधार प्रशस्त देखिन्छन् । कांग्रेस, कम्युनिष्ट र मधेशवादीको ५ दलीय गठबन्धनका साझेदारहरूको मुख्य ध्याउन्न भारतलाई खुशी पार्ने र पद, पैसा, प्रशासन, प्रहरी र विदेशी मतदाताको भरमा जित्ने रणनीति बनाइरहेको सहजै बुझ्न सकिन्छ ।
नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको जुन खजाना थियो, त्यो रित्तिसकेको छ । नेतृत्व गलत भयो भने देश मगन्ते हुन्छ, देशको स्वाधीनता गुम्छ भन्ने इतिहास २१औं शताब्दीमा नेपालमा दोहोरिने खतरा छ ।