Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिकाले यसरी झस्काइदियो

२० सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । गतहप्ता ‘नीति तथा अनुसन्धान प्रतिष्ठान’को कार्यक्रममा निम्त्याइएका अमेरिकी दूतावासका उपप्रमुख मार्क टेम्पलरको मन्तव्य राजनीतिभित्रको राजनीति र कूटनीतिभित्रको कूटनीति बुझ्नेहरूका लागि निकै अर्थपूर्ण थियो । सडकबाट कानुन मन्त्री बनाइएका गोविन्दप्रसाद शर्माले जनयुद्धकालीन फौजदारीलगायतका सबै मुद्दामा आममाफी दिने कानुन निर्माण गर्ने तैयारी थालेपछि यी अमेरिकी प्रतिनिधिले ‘नेपालको लोकतन्त्र र मानवाधिकारको संरक्षण र आर्थिक सम्बृद्धिमा हातेमालो गर्न चाहेको’ बताउँदै ‘नेपाल र अमेरिकाले दुई देशका जनताबीच एक दरिलो सम्बन्ध निर्माणका लागि गएको ७५ वर्षदेखि कसरी साझेदारी भइरहेको छ भन्ने विषय’ स्मरण गराएका थिए ।
अर्थात् बुझनेले बुझे, नेपालको मानवाधिकार र लोकतन्त्रका बारेमा अमेरिकाले आँखा चिम्लेको छैन, चिन्तित छ ।
राजदूतमा सुरक्षाविद डिन थम्पस
अमेरिकाले डिन थम्पसनलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको छ । थम्पसन को हुन् ? यो विषय कूटनीतिक वृत्तमा निकै चर्चाको विषय बनेको देखिन्छ ।
सार्वजनिक नीति र राष्ट्रिय सुरक्षा रणनीति विषयमा नेशनल डिफेन्स युनिभर्सिटीबाट अध्ययन गरेका व्यक्तित्व हुन् । उनी मन्त्री स्तरका क्यारिएर विदेश सेवाका कर्मचारी हुन् । दक्षिण र केन्द्रीय एसिया विषयमा २ वर्षदेखि अध्ययन गरिरहेका थम्पसन भारतको कोलकतामा अमेरिकी कन्सुलेटको काम पनि गरेका रहेछन् । क्राइसिस म्यानेजमेन्ट, सूचना स्रोत व्यवस्थापनका ज्ञाता थम्पसन भारतको बंगाली भाषामा विशेष दख्खल राख्छन् । उनले उत्तर दक्षिण कोरियाको बढ्दो द्वन्द्वकालमा दक्षिण कोरियामा रहेर ‘प्रतिरक्षा मुद्दाहरूमा रक्षा सचिव’को जिम्मेवारी बखुबी पूरा गरेका रहेछन् । एसिया बुझेका र नेपालको भूराजनीतिमा विश्वशक्तिहरू उपस्थित भइरहेको बेलामा सुरक्षाविद थम्पसनको नेपालमा नियुक्तीको महत्व बुझ्नुपर्छ ।
राजनीतिको असफलताका कारण, जता मल्को उतै ढल्को हुने नेतृत्वका कारण नेपालको घट्दो विश्व विश्वसनीयतालाई कसरी विश्वासयोग्य बनाउने ? नेपाली नेतृत्वका सामु यक्ष प्रश्न हो यो । एमसिसी र एसपीपी नेपालले खुला वा गोप्य रूपमा स्वीकारिसकेको अवस्थामा नेपालको बर्चस्व र पहिचान बचाउन र मैत्री तथा सहयोगलाई स्वाधीनता कायम राखेर बढी भन्दा बढी देश र जनताको पक्षमा उपयोग गर्न राष्ट्रिय बहस जरूरी छ । लोकतन्त्र, मानवाधिकारका साथै समृद्धिको सपना बाँडेका पार्टीनेताहरूले योग्यता देखाउने बेला यही हो ।