विजयकुमार गच्छदार, फोरम, तमलोपादेखि अन्य ससाना मधेशी दलहरु सबै लोकतान्त्रिक शक्ति हुन्। यिनीहरु आतंककारी होइनन्। यिनलाई संविधानमा समेट्न नसक्नु तीन ठूला दलको अकर्मण्यता र अदूरदर्शिता हो। हिजोसम्म सत्ता दिएपछि खुशी हुन्छन् भन्ने यिनीहरुप्रतिको मानसिकता अव काम नलाग्न सक्छ। किनकि मधेशमा धेरै रगत बगिसकेको छ, धेरैले ज्यान गुमाइसकेका छन्।
यी लोकतान्त्रिक मूलधारका टुक्रे मधेशी दलहरुमा मधेश अभियन्ता बनेका जयप्रकाश गुप्ता र माओवादी मातृकाप्रसाद कोइरालाको मोर्चा बनिसकेको छ। यो मोर्चामा सीके लालहरु त छँदै थिए, सीके राउतजस्ता बिखण्डनवादीहरु पनि मौका हेरेर मधेशी शक्ति निर्माणमा लागेका छन्। मधेशी दलहरुलाई 'मर्ता क्या नही कर्ता'को भित्तैमा पुर्याउनु ठूला तीन दलको सबैभन्दा ठूलो अपराध मान्न थालिएको छ। यसकारण सबैले भन्न थालेका छन्– यी सबै मिलेभने मधेशमा के हुन्छ?
पूर्वमा लिम्बुवान आक्रोसित छ। पश्चिममा थारु। बाँकी मधेशका २२ जिल्ला नै आन्दोलित भइरहेको छ। देशका सर्वोच्चतामा बसेका राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति परमानन्द झामात्र होइन, सत्तामै बसेका मधेशी मन्त्रीहरुको मधेशका घरमा समेत कालारात्रि भनाइयो। शक्तिमा बसेर पनि दीपावली गर्न नसक्नुले के सन्देश दिइरहेछ भने मधेशको चित्तदुखाई निकै गम्भीर छ। मधेशलाई कांग्रेस, एमाले र एमाओवादीले बिच्काउन खोजेकै हो। मधेशमा आधा जनसंख्या बसोबास गर्छन्। चुनावमा मधेसीले २१ सिट न जितेको हो, सबै त कांग्रेस, एमाले, एमाओवादीमय छ भनेर तीन दलले मधेशी दलहरुलाई लतार्न खोजेका छन्। यथार्थमा सत्य होइन यो। सत्य के हो भने मधेशीले अधिकार पाएनन् भने आगो अरु दन्किन्छ र तीन दलीय संविधान त्यो आगो निभाउने दमकल बन्न सक्दैन। देशमा अशान्ति र आगो बाल्ने काम तीन दल गरिरहेका छन्। संसदवादी अथवा सडकमा रहेका मधेशका दलहरुलाई संवैधानिक मार्गमा ल्याउन तत्काल प्रयास नगर्ने हो भने 'पहिले मधेशी भन्यौ, फेरि धोती भन्यौ, अहिले बिहारी भन्दैछौ, हामीले बिहारी भन्यौ भने के गर्छो? भन्ने प्रश्न नेपालको एकताका लागि शूल बन्नसक्छ। भारतले असन्तुष्टि देखाइसक्यो र भारतको सहयोग बिना नेपालले शान्ति र प्रगतिको मार्गमा एकपाइला सार्न सक्दैन। त्यसकारण नेपाली एकता नै नेपालको बल हो र नेपाली एकता मधेशका जनताको राष्ट्रवादलाई चुनौति दिएर सम्भव छैन। तीन दलले चुनाव जिते, मधेशको मन जित्न सकेनन्।
त्यतिबेखर मधेशमा जे पनि हुनसक्छ राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी भन्छन्– अव मधेशमा जे पनि हुनसक्छ। मधेशको माग नसमेटिएको संविधान घोषणा भएपछि विभिन्न चिरामा रहेका मधेशवादी पार्टी र शक्तिहरु एकत्रित हुनथालेका छन्। संविधानले मधेशलाई खुशी पार्न सकेन। यो मुलुकको दुर्भाग्य हो। संविधान चाहिएको उत्पीडनमा परेका समुदायका लागि हो, यो संविधानले त्यो बर्गलाई संवोधन गरेन। नेता भण्डारी भन्छन्: सुर्खेततिर आन्दोलन भयो र तिनको माग संवोधन भयो। मधेशमा आन्दोलनको आगो बलिरहेको छ, मधेशमाथि राज्य दमन फैलाइएको छ। तीन नेताको खल्तीबाट निकालेर संविधान आयो, त्यस्तो संविधानलाई जनताले लोकसंविधान मान्न सक्दैनन्। तीन नेताले बुझ्नुपर्छ– ५२ प्रतिशत जनता जो मधेश र थरुहठमा
बसेका छन्, त्यहाँ किन संविधान जलिरहेको छ? अझै पनि तीन दल बहुमतको फूर्ति लगाइरहने ? मधेशको भोट लिएर ठूलो पार्टी बन्ने अनि मधेशी जनतामाथि गोली हान्ने? मधेशीलाई मार्ने, मधेशमा रक्तपात मच्चाउने? हिम्मत भए ठूला नेताहरुले मधेशमा आएर मधेशीलाई सम्झाउन्, दीपावली गर्न उत्साहित पारुन्, छ हिम्मत?
मधेश सबैको हो, मधेश नेपाल हो। मधेशी जनताले हक र अधिकार माग्दा किन आपत्ति छ तीन दललाई? विजयकुमार गच्छदार अन्तिमसम्म संविधानको पक्षमा उभिए, सहयोग गरे। उनलाई समेत घोक्रेठ्याक लगाइयो। तीन नेताको नियत नै खराव छ। मधेशलाई अधिकार दिन चाहदैनन् उनीहरु। आफ्नो सत्ता स्वार्थका लागि मधेश पनि संघीयतासहितको संविधानको पक्षमा छ भन्ने बिर्सने? मधेशले अधिकारको लडाई छाड्दैन, मधेशमा अव जे पनि हुनसक्छ।