Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बढ्न थाल्यो हैजा र कोरोना

१३ सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । विश्वभरि नै कोरोनाको अर्को लहर चल्ने खतराका संकेतहरू देखिएका छन् । सम्पन्न मुलुकदेखि दक्षिण एसियामा समेत दैनिक रूपमा कोरोनाको संक्रमण तीब्र रूपमा बढेका खबर आइरहेका छन् । विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन भनेको छ ।
घट्दो क्रममा रहेको कोरोनाको खतरा सकियो भन्ने अर्थमा भीडभाड गर्ने, स्कूल कलेज र अन्य सामाजिक क्रियाकलाप बढ्दै गएका छन् । कतिले मास्कसमेत लगाउन छाडेका छन् । स्वास्थ्य मन्त्रालयको अध्ययनले संक्रमण फेरि बढ्ने क्रम देखिएको छ । कोरोनाको संक्रमण बढेर नेपाललाई फेरि गाँज्ने लक्ष्यण देखिन्छ । विश्वमा दैनिक ३ लाखमा झरिसकेको दैनिकी कोरोनाको संक्रमण ७ लाख नाघेको छ । मृत्यु हुनेको संख्या ७ सयबाट १५ सय पुगिसकेको देखिन्छ । नेपालमा मृत्युसंख्या नभए पनि संक्रमणदर बढ्दै गएको छ ।
भारतमा दैनिक कोरोना संक्रमण बढ्दा नेपालमा पनि बढेको देखिन्छ । स्वास्थ्य मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरले दक्षिण एसियामा कोरोना संक्रमण बढेको बताएका छन् ।
नेपालमा पीसीआर गर्ने क्रम साह्रै कम छ । जो विदेश जान्छन्, तिनीहरूले मात्र गराउने गरेका छन् । बिगत ७ दिनमा गरिएका पीसीआर रिपोर्टले कोरोना संक्रमण बढेको देखाउँछ । दैनिक नै एकाधबाट बढेर ४९ देखि ६० जनामा कोरोना संक्रमण देखिन थालेको छ । संक्रमण बृद्धि हुनु भनेको खतराको संकेत हो, चौथो लहर चल्ने आशंका पनि हो ।
यसैबीच सरूवा रोग अस्पताल, टेकुमा झाडापखालाका बिरामीको चाप बढेको छ । हैजाका किटाणु देखिएका छन् । ललितपुरमा पानीपुरी बेच्नेको पानीमा हैजाका किटाणु भेटिए । सुक्ष्म जाँच परीक्षण गर्ने हो भने हैजा बढेको र कोरोना संक्रमणले आक्रमण गर्न थालेको अनुभूति गर्न सकिन्छ । अर्थात्, तत्काल सरकारले सबै निकायलाई सक्रिय पारेर कोरोना महामारीलाई नियन्त्रण गर्ने तौरतरिकामा ध्यान दिन जरूरी छ । हुन त यसैहप्तादेखि बालबालिकालाई समेत कोरोना विरूद्धको खोप दिन थालिएको छ । ठूलालाई बुस्टर डोज पनि दिइएको छ । तथापि मुखमा मास्क लगाउने क्रम पातलिदै गएकाले संचेतना जगाउन जरूरी छ । मास्क अनिवार्य गर्नुपर्छ ।
कोरोना महामारीले धेरै ठूलो जनधनको क्षति बेहोरिसकेका छौं । यति ठूलो महामारीमा भ्रष्टाचारको भारीसमेत जनताले नै बोक्नुप¥यो । नैतिक काम होस्, नैतिकहीन कार्य कसैबाट पनि नहोस् भनेर सचेत हुन जरूरी छ ।
डाक्टरहरू भनिरहेका छन्– गतहप्तादेखि कोरोना संक्रमण बढेको तथ्याङ्क छ । कोरोना पोजिटिभिटीको प्रवृत्ति देखिएको छ । गत दुई हप्तामा नेपालको दैनिक कोरोना संख्या र संक्रमण दरमा उल्लेख्य वृद्धि भएको छ । परीक्षण कम हुँदा कम पोजिटिभ देखिएको हो । परीक्षण बढाउने हो भने पोजिटिभ संख्या बढ्न सक्छ । महामारी कालमा झैं दैनिक परीक्षण बढाउँदै लैजानुपर्नेमा त्यस्तो भएको छैन । विश्वमै संक्रमणमा निकै बृद्धि भएको छ, हाम्रा लागि यो सतर्क रहनुपर्ने समय हो । हामीले बुझ्नैपर्छ,  अमेरिका, युरोप, दक्षिण एसिया र नेपालमा बढ्दो क्रममा रहेको संक्रमण दरमा वृद्धि देखिनु प्यान्डेमिकको नयाँ लहरको सूचक हो । नेपालमा हालसम्म संक्रमण संख्या र संक्रमण दर अन्यत्रको तुलनामा निकै कम छ भनेर ढुक्क हुनसकिने अवस्था छैन ।
कोरोना महामारी कालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अवस्था रहेको देखिएन । यसकारण फेरि पनि कोरोनाको लहर ह्वात्तै बढ्यो भने के गर्ने ? कसरी जुध्ने ? यसबारेमा सरकारले नीति र तैयारी दुबै थालिहाल्नुपर्छ । पहिलेजस्तो बाटैमा बिरामी मर्ने, अस्पताल देख्न नपाउने, भेन्टिलेटर नपाउने, औषधिको कालोबजारी हुने अवस्था नरहोस् भनेर बेलैमा आउनसक्ने महामारीसँग जुध्ने व्यवस्था अपनाउन सक्नुपर्छ । सावधानीमा जीवन छ, खेलाँची पछुतो सावित हुनसक्छ । त्यसकारण समाजका हरेक तह र तप्का सक्रिय भएर हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने, ज्वरो आइहाल्यो भने परीक्षण गराइहाल्नेजस्ता सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ । चेतना फैलाउनु र साबधानी हुन जरूरी छ ।
बुझ्नै पर्छ कोरोना महामारी विरूद्धको लडाइँ जारी छ । कोरोनासँग जुध्ने दिन सकिएको छैन । सावधानीपूर्वक सबैले कोरोना महामारी आउन सक्छ भनेर सतर्क रहने र आइहाले सामना गर्नु नै बुद्धिमानी हुनेछ । डाक्टरहरूले सावधानी अपनाउन ध्यानाकर्षण गरेका छन् ।