Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कसले ल्यायो सेतो हिरोइन ?

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले ’अपरेसन ह्वाइट डस्ट’ मार्फत सेतो हिरोइनसहित ७ जना दक्षिण अफ्रिकन पक्राउ परेका छन् । यसबाट थाहा हुन्छ, लागु औषध कारोवारीले नेपाललाई ट्रान्जिट बनाएछन् ।
प्रहरीका अनुसार ४९ किलो सेतो र दुई किलो खैरो सहित ५१ किलो हेरोइन बरामद भएको छ । यो मात्रा प्रहरीको इतिहासमै सबैभन्दा धेरै मात्राको हो ।
प्रहरीले ‘क्रिमिनल प्रोफाइलिङ’ गरेर त्यसैको आधारमा ‘अपरेसन ह्वाइट डस्ट’ चलाएर सफलता पाएको हो । 
अचम्म त के छ भने अफ्रिकन महिलालाई कारोवारीले उपयोग गरेका रहेछन् । प्रहरीले पक्राउ पर्नेमा २९ वर्षीया सिबिसी ठान्डिकिले, ४६ वर्षीया मुरेल क्वेडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीय साबालाला खान्यिसिलि भोन्नी र ३६ वर्षीया रोजिना नोन्क्ले जान्त्जिइ, २९ वर्षीया महलाको मौरिन मथिबा, ३७ वर्षीय मोरोसी सुजान कोफु र ३० वर्षीया मार्लिस बाडेनहोर्स्ट रहेको बताएको छ । सुरक्षाको हिसावले सजिलो हुने र पुरुषभन्दा कम शंकास्पद मानिने भएकाले महिलाको उपयोग गरिएको हुनसक्छ ।
प्रहरीका अनुसार भिजिट भिसामा दक्षिण अफ्रिकाको जोहान्नेसबर्गबाट दुबई हुँदै काठमाडौं आएका हुन् । सबै कारोबारीलाई सेतो हेरोइनसहित ठमेलका होटलहरुमा पक्राउ गरेको थियो ।
हेरोइन सुटकेशहरूमा फल्सबटम, ल्यापटपका कभरहरूमा लुकाएर भित्र्यएको देखिएको छ । उनीहरूले नेपाल ल्याइसकेपछि आफूले ल्याएको सामान सुरक्षित छ भन्दै फोटो समेत पठाउन भ्याएका थिए । 
प्रहरी अनुसन्धान भन्छ– ‘ट्रेन्ड हेर्दा यी लागुऔषध भारतमा लग्नको लागि ल्याइएका हुन्, नेपाललाई ट्रान्जिट मात्रै बनाइएको हो ।’
पक्राउ परेको हेरोइनको अवैध बजारमा मूल्य एक अर्ब दुई करोड रुपैयाँ रहेको प्रहरी अनुमान छ । यसरी बरामद भएको हेरोइनलाई प्रहरीले जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने कानुनी प्रावधान रहेको छ । पक्राउ परेका व्यक्ति र कारोवारबारे प्रहरीले थप अनुसन्धान अझै पनि जारी रहेको जनाएको छ ।
मुख्य सवाल के हो भने यसरी लागूऔषधका कारोवारीलाई एयरपोर्ट सुरक्षा, अध्यागमन र राजस्व कर्मचारीले किन पक्राउ गर्न सकेनन् ? कसरी यति ठूलो परिमाणमा लागुऔषध भन्सारबाट छिर्न दिइयो । कतै बिकिनी किलर चाल्र्स शोभराजले भनेजस्तो पैसा दियो भने नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ भनेजस्तो यो केशमा पनि त्यस्तै भएको त होइन ? प्रहरीले जाल फिजाएको कुरा कहीं छैन, माफियाले सेटिङ् मिलाएर एयरपोर्टबाट पास गराएको आशंका बढी देखिन्छ । कतै प्रभावशाली नेता अथवा सरकारमा बसेका व्यक्ति नै संलग्न त छैनन् ? यो त नेपाल प्रहरीका नियन्त्रण ब्यूरो सक्रिय थियो र उसको सक्रियतामा यति ठूलो परिमाणमा लागुऔषध र कारोवारी पक्राउ परेका छन् । अझै पनि अनुसन्धान जारी छ र त्यो अनुसन्धानले यी भरियालाई मात्र होइन, लागूऔषधका असली कारोवारीलाई पक्राउ गर्न सक्नुपर्छ । जो जो यस अवैध कारोवारमा संलग्न छन्, तिनको मुखुण्डो उघार्न सक्नुपर्छ ।
हो, नेपाल प्रहरीमा जति राजनीतिकरण गरिए पनि अझै क्षमता छ । त्यो क्षमता विश्वमै प्रशंसनीय क्षमता हो ।