Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बन्दुके विरूद्ध व्यालेटको विद्रोह

१६ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौं । ०३८ सालमा सुधारिएको नामधारी पञ्चायतविरूद्ध युवाले व्यालेट विद्रोह गरेर नानीमैया दाहाललाई जिताएका थिए । त्यो विद्रोह ८ वर्षमै राँको बन्यो र बहुदल पुनस्र्थापना भयो ।
बहुदलले अति गर्न थालेपछि २०५२ सालमा जनयुद्ध सुरू भयो र १० वर्षे बन्दुके आतङ्क मिसिएर जनआन्दोलन जनविद्रोहबाट लोकतन्त्र आयो । नानीमैया जिताएको ४१, बहुदल आएको ३२ वर्ष, लोकतन्त्रको १५ वर्षपछि पनि नेतातन्त्रको चरित्रमा कुनै सुधार आएन ।
एकदलीय पञ्चायत, बहुदलीय कालरात्रि, लोकतन्त्रमा नेतातन्त्रको ज्यादति, बेथिति, अनैतिकता र गैह्रजिम्मेवारीले सीमा नाघ्यो, २०७९ वैशाख ३० को पालिका निर्वाचनमा युवाहरूले राजधानी, पूर्वको धरान, पश्चिमको धनकुटा र केही स्थानमा युवाले युवालाई जिताएर स्थापित ठूला नेताविरूद्ध ब्यालेट विद्रोह गरेका छन् ।
यो विद्रोहलाई विश्लेषकहरूले ‘बन्दुके परिवर्तन विरूद्धको ब्यालेट विद्रोह’ भनेका छन् । हुन पनि यही विद्रोहले सत्ताधारी गठबन्धनदेखि प्रतिपक्षीसम्मको सातो खान सफल भएको छ । स्वतन्त्रको यो जीतले दल र नेतातन्त्रको सेटिङ्, भागशान्ति, प्रत्येक संवैधानिक निकायदेखि ससाना क्षेत्रमा समेत भइरहेको अति राजनीतिकरण विरूद्ध धावा बोलेको छ । नेतातन्त्रविरूद्ध विधितन्त्र खोजेको छ । युवाको असन्तुष्टि र सुधारको माग, युवामाथि राजधानी र  अति सचेत जनताको आक्रोशयुक्त समर्थनले अर्थ राख्छ र यो विद्रोहले लोकतान्त्रिक शासन गर्ने नेताहरूको गलत तरिकाविरूद्ध युद्ध छेडेको छ । स्थापित पार्टी र नेताहरू यो युवा विद्राहबाट आत्तिन पुगेका छन् । ‘ब्यालेट’बाट असन्तुष्टिको प्रतीक बने– बालेन्द्र साह, हर्क साम्पाङ् राई र गोपाल हमालहरू ।
यो विद्रोहले पारिवारिक, दलगत अथवा नेताको लिगेसी भन्ने पर्खाललाई ढालिदिएको छ । लामो समयपछिमात्र देखिने यस्तो विद्रोही प्रवृत्ति भनेको सुनामी नै हो । २०६३ सालको बसन्त परिवर्तन ल्याउने जनआन्दोलन खेर गएको सन्देश दिने यो ब्यालेटबाट प्रकट सुनामीले सोचको, शैलीको परिवर्तन खोजेको छ ।
जनताभन्दा हेभी वेट कोही छैन, जनमत, जनअपेक्षाको अपमान गर्नेहरू कसरी दण्डित हुन्छन् भन्ने झिल्का युवाले जनता ब्यूँझाएर देखाएका छन् ।
केहीले यो नेगेटिभ भोट हो, नो भोट होजस्ता अनेकन चर्चा गर्छन् । यथार्थमा जनताले खोजेको परिवर्तन कहाँ छ ? राजतन्त्र र हिन्दुराष्ट्र फालेको परिणाम के हो ? भन्ने प्रश्न हो यो चुनाव । परिस्थिति बदल्नलाई जनताले अकल्पनीय परिणाम मार्फत बालेन्द्रहरू अघि सारे ।
‘कोर एरिया, मधेसी उमेदवार, गुठी’जस्ता कुरा उठाएर स्थापित पार्टी र उमेदवारले जनताको अपमान गरे । यथार्थमा हिमाल, पहाड, तराई जनताका लागि नेपाल र नेपाली नै रहेछ । यो त पार्टी र नेताले उठाएको विभेद रहेछ ।
नेता, पार्टीको साँघुरो भाष्यलाई जनताले नै गलत सावित गरिदिए । परिवर्तन जनचाहना हो, युवा अघि सर्नैपर्छ, बुढोपुस्ताले अब सक्दैन भनेकै हुन् ।
हरेक क्षेत्रका आफ्नै महत्व छन्, युवाले बुझेका छन् । स्थापित पार्टीनेताले बुझ्न सकेनन् । हिमाल, पहाड, तराई जताका हुन्, युवा हुन् र युवाले गर्नुपर्छ जनअपेक्षायुक्त काम । युवा कोर क्षेत्रका होइनन्, युवा देशका हुन् । युवा देशको अस्तित्व, स्वाभिमान र परिवर्तनसँग जोडिएका छन् । युवाले चुनाव जिते, अब मतदाताको सम्मान जित्नुपर्छ, जनमतको इज्जत गर्नुपर्छ । गर्छन्, यो विश्वास देशैभरि पलाएको देखिन्छ ।
सय दिनमा सय काम गर्छु भन्ने निवर्तमान विद्यासुन्दर शाक्यजसरी एउटा काम पनि नगर्ने परिणति देख्नुपर्ने छैन । जनताले परिवर्तन खोजेको झिल्का दिए, युवाले परिवर्तनको झल्का दिनुपर्छ । उत्कृष्ट  काम गर्ने नाममा आफै नथिचिउन्, जनजनको कामना छ ।