Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेतातन्त्रबिरूद्ध युवाको बिद्रोह

०९ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

६५ लाख युवालाई निकासी गरेर रेमिटान्सबाट सत्ताको हालीमुहाली गर्दै भ्रष्टाचारमा पौडी खेल्नेहरूलाई युवाहरूले साङ्केतिक रूपमा सिस्नोपानी लगाइदिएका छन् । अझै सुध्रिएनन्, युवालाई अघि बढ्न दिएनन् भने आगामी निर्वाचनहरूमा राजधानी, धरान र धनगडीको चुनावी सुनामी देशैभरि हुन्डरी बनेर फैलिने निश्चित छ । युवा जागे । युवा जागे भने सत्तारूढ ५ दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेसमेत कसरी धरासायी हुनेरहेछ, त्यसको रोलमोडल बनेका छन् यी स्वतन्त्र तीन युवा ।
पालिका निर्वाचन परिणामले पूर्वको धरानमा हर्कराज साङपाङ राई, सुदूरपश्चिमको धनगडीमा गोपाल हमाल, राजधानीमा जित नजिक पुगेका बालेन्द्र साह । यी हुन् पालिका निर्वाचनका तीन स्थानीय स्वतन्त्र युवा जननायक । जनता मूर्ख छैनन् भनेर सिङ्गो राजनीतिलाई, नेतातन्त्रलाई  दिएको सन्देश हो यो । लाचार नेतृत्व, भ्रष्ट शासन–प्रशासन, बाहुबली र पैसाले चुनाव जित्न सकिन्छ भन्ने विश्वास राख्ने नेताहरूलाई जनताले  तीन छक्क पारिदिएका छन् ।
चुनाव जित्ने त नेतापत्नी, ५ दलीय गठबन्धनकी सिर्जना सिंहले हो, एमालेका नेता केशव स्थापितले हो, राप्रपाका मदनदास श्रेष्ठले हो भन्ने चर्चा थियो । बालेन्द्र साहको चर्चा खासै थिएन । जब मत गणना हुनथाल्यो, अग्रता लिएका बालेन्द्र साह अघि अघि नै छन् । यी सबै पार्टीका उमेदवारलाई बिसौं हजार मतले पछि पार्दै अघि बढेका बालेन्द्र साहलाई नेपालभरि दिल्लीका केजरीवालजस्तो भनेर नागरिकहरू जित्नैपर्छ भनिरहेका छन् ।
पार्टी, नेता, विश्लेषकमात्र होइन, पार्टीको पछि पछि लागेर विवेक गुमाएका नागरिक समाज, बुद्धिजीवी, पत्रकार सबैलाई जनताले नराम्ररी मतपत्रद्वारा झापड हानिदिएका छन् । जनताले यिनै पार्टी, यिनै नेता चुन्ने त हुन् नि, के फरक पर्ला र ? भन्ने मानसिकतालाई जनमतले खलबल्याइदिएका छन् । सबै प्रकारका अनुमानहरू फेल भएका छन् ।
 राजधानीका वडाहरूलाई आफ्नो गुठी, समुदाय, जातिपातिको ‘कोर क्षेत्र’ भनेर अपमानित गर्नेहरू आश्चर्यमा परेका छन् । राजधानीवासीलाई सुशासन चाहिएको छ । फोहरमाण्डौं, टोलटोलको, सडक सडकको अव्यवस्था व्यवस्थित र सुफा चाहिएको छ । व्यवस्था परिवर्तन भयो, व्यक्ति परिवर्तन भएन । नेता परिवर्तन भए, नीति परिवर्तन भएन भन्ने कुरा १५ वर्षमा राजधानीले राम्रैसँग भोग्यो र यसपल्ट राजधानीबासी भेडा होइनन्, राजधानीबासी मरेका छैनन्, राजधानीबासी सचेत छन्, राजधानीवासी यथार्थमा परिवर्तन चाहन्छन् भनेर व्यालेट पेपरमार्फत देखाइदिएका छन् । राजधानी, पूर्वको धरान र पश्चिमको धनगडीका युवाहरूले भ्रष्टाचार हुनेछैन, भए चारहात खुट्टा बाँधेर दण्ड दिनु भनेर परिवर्तनको स्वाद चखाउन अघि बढेका छन् र जनताले यिनमा विश्वास राखेका छन् । यहाँसम्म कि भ्रष्टाचार गरे आफ्नो सर्वस्व नास होस्, मुखै देखाउन्न भन्ने कबुलसमेत गरेका छन् । यसकारण पनि राजधानी र ७ सय ५३ पालिका सरकारमा फैलिएको भ्रष्टाचारको महामारी रोकिने आशा राख्न सकिन्छ । बल्ल युवा जागे । युवाले सन्देश दिएका छन् । भ्रष्टतन्त्रमाथि प्रहार गरेका छन् । यसलाई भनिन्छ– गोर्खेलोरी ।
अनेक तिकडम लगाएर, गरीबलाई मासुभात ख्वाएर, जालझेल गरेर, तर्साएर, धम्क्याएर चुनाव जित्नु के जित्नु । जसले अव्यवस्था, अराजनीति, कुशासन, अनियमितता, अन्यायविरूद्ध लड्छु भनेर जनतालाई विश्वास दिलायो र जनताको विश्वासको मत लिएका छन्, त्यो जित पो जित । यी युवाले बाटो खोले, जनताले युवा चाहिन्छ, युवाको काँधले देश बोक्नुपर्छ भन्ने ठान्यो । ब्यालेटका माध्यमबाट जनविद्रोह उठ्यो, जनविद्रोह सफल भयो, योविद्रोहले युवा विदेशीने होइन, युवाले स्वदेशमै केही गर्नुपर्छ भन्ने परिवर्तनको सन्देश दिएको छ ।