Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

युवा विदेश पलायन झन बढ्यो

०९ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौं । हाइयर स्टडीका लागि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, न्यूजिलेण्ड नेपाली विद्यार्थीका पहिलो च्वाइस हुन् । यसपछि जापान, चीन, जर्मन लगायतका मुलुक पर्छन् ।
अनेक नाममा वार्षिक ३ हजारभन्दा बढी छात्रबृत्ति दिएका कारण भारत र त्यसपछि पाकिस्तान, बंगलादेशमा पनि नेपाली विद्यार्थी गइरहेका छन् । जो युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान जान सक्दैनन्, ती भारत, पाकिस्तानतिर जान्छन् । सरकारी तथ्याङ्कले ३ लाख विद्यार्थी विदेशमा छन्, तर अनुसन्धानदाताहरूका अनुसार ७ दोब्बर विद्यार्थी विदेशमा पुगिसकेका छन् । पढ्न जानेहरू पढ्छन्, पढिरहेका छन् कि अरू केही, रेडर्क छैन ।
यही वर्षको ९ महिनामा विदेश पढ्न जानेहरूका लागि राष्ट्र बैंकले ४४ अर्व पठाइसकेको छ । यसको अर्थ हरेक वर्ष ५० अर्वभन्दा बढी शैक्षिक शुल्कका रूपमा विदेशीने गरेको छ ।
राष्ट्र बैंकका अधिकारी भन्छन्– विदेशी मुद्रा सञ्चिति घट्नुमा अन्य सामग्री आयात र शिक्षाशुल्कका रूपमा सटही सुविधा दिनु पनि प्रमुख कारण हो । हरेक वर्ष ५ लाख विद्यार्थी तैयार हुन्छन् । उनीहरूको पहिलो प्राथमिकता विदेश जानु नै हुन्छ । शिक्षाविद विद्यानाथ कोइरालाका अनुसार यो राष्ट्रिय चिन्ताको विषय हो । तर सरकारले यो चिन्तालाई सोचेकै छैन ।
विद्यार्थीलाई देशबाहिर पढ्न जान कडाइ गर्नुपर्ने हो । कडाइ गर्न स्वदेशमै उच्चशिक्षाको वातावरण र रोजगारी पनि दिनुपर्छ । नीति र कार्यक्रम सुधारमा माखो मरेको छैन । सल्लाहकारहरू जागीर खाइरहेका छन्, नीतिनिर्माता, थिङ्क टेंकहरू पार्टीका पछुवा बनेका छन्, युवाबारे सोच्ने कसले ?
युवा विद्यार्थी नेपालमा बस्न किन चाहँदैनन् ? यो अहं प्रश्न हो ।
विदेशीका विद्यार्थी उच्चशिक्षा पढेपछि कति फर्किए ? यसको कुनै तथ्याङ्क छैन । एकाध विद्यार्थी ज्ञान, तालिम, शिक्षा सिकेर फर्केका छन्, स्वदेशमै केही न केही काम गरेका पनि छन् । हरेक विद्यार्थीको मानसिकतामा नेपालमा गरिखान पाइदैन, अवसर नै छैन भन्ने छाप परेको छ । यो छाप मेटाउने सरकारले हो, नीतिनिर्माताले हो । विश्व भिलेजको सोच अघि बढेपछि नेपाली जहाँ पनि जान सक्छन्, पढ्न स्वतन्त्र छन् । नेपालमा बसौं, यहीं पढौं, केही गरौं, गुणस्तरी जीवन यहाँ पनि छ भन्ने भाव सरकारले जगाउनै सकेन । जगाउन के गर्नुपर्छ, योजना बनाउने जाँगर नै छैन । कारण हो लथालिङ्ग राजनीतिक चाला । हरेकको सोच सत्ता, शक्ति आर्जन भयो, देश प्राथमिकतामै परेन । अनि कसरी युवा देशमा खपत हुन्छन् । युवालाई देशमै बसुँ बसुँ लाग्छ । ६५ लाख युवा विदेशमा छन्, कोही रोजगारीका लागि, कोही पढ्नका लागि र पढ्न गएकाहरू उतै स्थायी बसोबासका लागि संघर्ष गरिरहेका छन् ।
स्रोत नभएकाहरू रातारात लखपति, करोडपति, अर्वपति बनेका छन् । कानुन कमजोरका लागिमात्र छ । विभेद, निषेधका कारणले विधि छ काम गर्दैन, यहीकारण अपराध, हिंसा, बलात्कार बढेका छन् । युवामा निराशाको कारण राजनीतिकरण हो । भर्खरको पालिका चुनावमा मतदान गर्न आएकाहरू दैनिक ५ लाखका दरले भारत पसिरहेका छन्, किन ? यत्ति जाने युवा पलायनको कारण थाह हुन्छ ।
युवालाई देशमै टिकाउने, विदेश गएकालाई फर्काउने, रोजगारी र उद्यम खोल्नेतिर सोच्न सकिएन भने युवा पलायनको गति कुनै पनि हालतमा रोक्न सकिने देखिदैन ।