Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बालेन साह परिवर्तनको प्रतीक

०२ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौँ । गत निर्वाचनमा ६४ हजारले मेयर निर्वाचित भएका थिए । १ लाख ९१ हजार मत गन्नुपर्छ, केही हजार मत गन्दैमा कसले जित्छ भन्न सकिन्न । तर देशैभरिका युवाहरू काठमाडौं महानगरको मेयरमा बालेन साहले जित्नुपर्छ भनेर नारा लगाइरहेका छन् ।
बालेन साह, बालेन शाह । २०६५ सालपछि कुनै पनि ठूला नेतालाई छाडेर युवाहरूले नयाँ व्यक्ति, नयाँ सोच भएकाको नाममा जिन्दावाद भनेको यो पहिलो अवशर हो । बालेन शाह नागरिकमा ठूला दल, स्थापित सिद्धान्तले विश्वास गुमाएको प्रतीक बन्न पुगेका छन् । अब ठूला दल र नेताले सावधानी अपनाउनु जाति हुन्छ, किनकि चेत र विवेक जागेको संकेत पालिका निर्वाचनबाटै देखिन थाल्यो । निर्वाचन परिणाम जे त होला, आगामी प्रदेश र संघीय निर्वाचन ठूला नेता र पार्टीका लागि फलामको च्यूरा चपाएजस्तो हुनेवाला छ ।
पालिका निर्वाचन अर्थात स्थानीय निकायलाई पार्टीमा बिभक्त गर्नु हुनेथिएन । संसारमा कहिं पनि स्थानीय निकायलाई पार्टीकरण गरिदैन । तर नेपालको राजनीतिमा पालिका निर्वाचनलाई एमाले अर्थात केपी ओली विरूद्ध गठबन्धन अर्थात कांग्रेस, माओवादी, जसपा, नेकपा स, राष्ट्रिय जनमोर्चालाई उभ्याइयो । यो चुनाव नभएर ठूला दलको जुँगाको लडाइँ बनाइयो । यसकारण पनि पालिका निर्वाचनमा जनताले ठाउँ ठाउँमा लोभविरूद्ध, आश्वासन विरूद्ध, भ्रष्टाचारविरूद्ध, नेतातन्त्रका विरूद्ध सांकेतिक विद्रोह गरिदिएका छन् । पार्टी नेतृत्वले अपवित्र गठबन्धनका लागि मतदान गर्न फर्मान जारी गर्दा त्यस्तो फर्मानको विरूद्ध मतदान भएका छन् । अर्थात आजका जनता परिपक्व जनता हुन् । आजका जनता विवेक राख्छन् । यो सवाल राजधानीमा बढी उदाहरणीय भएको छ । कुनै दिन गणेशमान सिंहले राजधानीका जनतालाई भेडाको संज्ञा दिएका थिए । यसपल्ट राजधानीका जनताले हामी भेडा होइनौं भन्ने देखाइदिएका छन् । २०६३ सालको जनआन्दोलनपछि आएको परिवर्तन अर्थात लोकतान्त्रिक प्रणाली संस्थागत गर्ने हो भने ७५३ पालिकाका जनताले दिएको मत, देखाएको सजगता, गरेको विद्रोह अर्को जनआन्दोलनका रूपमा बुझ्नु उपयुक्त हुनेछ । किनकि जनता सहन्छ, सधैं सहदैन । जब जनता उठ्छ, आँधी त आउँछ । यतिबेला राजधानी, डडेलधुरा, पालिकामा जनताको असन्तोष पोखिएको छ । बुझे बुद्धिमानी, नबुझे अर्को परिवर्तन ।
काठमाडौं महानगरको मेयरका स्वतन्त्र उमेदवार बालेन शाह अर्थात जनताको विद्रोहको प्रतीक बनिसके । उनले जित्नु भनेको अब पार्टीबाट युवाले विद्रोह गर्छन् भन्ने सन्देश हो, समाजले नयाँ ध्रुविकरण खोज्यो भन्ने हो । पार्टीप्रतिको निराशा हो, अविश्वास हो । हरेक चुनावमा उही गालीगलौज, आरोप प्रत्यारोप अब जनता सुन्न चाहदैन, जनता नतिजा चाहन्छ भन्ने हो । जनता नेता वा पार्टीका दास होइनन् भन्ने संकेत पनि हो । अब पैसा, नाता, बाहुबल, सत्ता चल्दैन, योग्य र योग्यता हेर भन्ने उदाहरण पनि हो । जनताको मन जित्न क्षमता विकास पहिलो प्राथमिकता हो भन्ने पनि हो । बालेन शाह जो मतगणना नै नभइकन जनताको मन जित्ने उमेदवार बनेका छन् । कुनै पनि दलबाट यस्ता उमेदवार देखिएनन् । कोही थिए भने तिनलाई नेताहरूले नै दबाउने दुस्कार्य गरे । लोकतन्त्रले बालेन शाहहरू खोज्यो ।
मतगणना स्थल सिटी हल अगाडि ‘स्थापितको घमण्ड कता हरायो ?’ भन्ने जस्ता नारा लगाउन थालेपछि आफ्ना समर्थकहरूलाई बालेन साहले कसैलाई गाली गलौज नगर्नु भनेर सविनय आग्रह गरेका छन् । ठूला पार्टीका ठूला नेताहरू त आचारसंहिता उल्लंघन गरेर एकदोस्रालाई खुइल्याउन लागिपरेका छन् । कुनै नेताले आफ्ना समर्थक वा मतदातालाई असंसदीय नारा नलगाउनु भनेनन् । यहाँसम्म कि वालेन्द्रका प्रतिद्वन्दी, एमालेका मेयर उमेदवार केशव स्थापितले त नेशनल कलेजको एक कार्यक्रमबाटै रश्मिला प्रजापति भन्ने एक युवतीलाई ‘यू आर नाइस लेडी तर थुतुनो गतिलो छैन ।’ भनेर हिंसात्मक भाषा नै बोले । यस्तै हुन्छन् मेयर ? 
बालेन साहको जितहार जे होस्, उनी सभ्य तरिकाले प्रस्तुत भएका छन् । यही विनम्रता र महानगरक कस्तो बनाउने भन्ने सोच जनताले मन पराएका छन् ।