Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रघात र राष्ट्रवाद ः स्थानीय चुनावको मुद्दा

१२ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

काठमाडौं । स्थानीय चुनाव जति जति नगिचिदैछ, उति उति जनमानसमा राष्ट्रवाद र राष्ट्रघातका चर्चाहरू बढेको सुनिन्छ । वर्षदिनको सेरोफेरोमा संघीय चुनाव हुनेछ । संघीय चुनावको अघि हुने स्थानीय चुनाव वास्तवमा जनमत सङ्ग्रह नै हो । माओवादीका लागि यो चुनाव गणतन्त्रवादी र राजतन्त्रवादी बीचको प्रतिस्पर्धा हो । कांग्रेसका लागि यो चुनाव शक्तिशाली हुने परीक्षा हो । एमालेका लागि ५ दलीय गठबन्धन बर्लिनको पर्खाल ढालेझैं ढाल्ने महायज्ञ हो । नेकपा समाजवादीका माधव नेपालका लागि अस्तित्वको प्रश्न बनेको छ । जसपा मधेशमा शक्तिशाली नै होला, राष्ट्रिय जनमोर्चाका लागि भने पार्टी छ भनेर देखाउनैपर्ने इज्जतको सवाल छ ।
राप्रपाबाट छुट्टिएर राप्रपा नेपालको नेतृत्व लिएका कमल थापाका लागि यो चुनाव राजनीतिक जीवनकै कठिन घडी हो । उनले राजा राप्रपासँग टाँसिएको बताएका छन् । राप्रपाले अलिकति पनि नढाँटी मौका आयो कि राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गर्छौं भनेको छ । अनेक आरोप, आक्षेप खपेर राप्रपाका भेलाहरूमा जुन प्रकारको जनसमर्थन देखिएको छ, यो हेर्दा भन्न सकिन्छ, राप्रपा उदाउँदो शक्ति हो । कांग्रेसले भनेजस्तो राजालाई हामीले होइन विदेशीले हटाएको भन्नु र माओवादीले अनेक आरोप लगाउँदा पनि राप्रपा शक्तिशाली हुँदै जानुले राप्रपा अथवा कुनै पनि दलका युवा जो चुनावमा जानेछन्, तिनीहरूलाई जनताले साथ दिने सङ्केतहरू देखिएका छन् ।
जो ठूला दलहरू छन्, बरिष्ठ भनिने नेताहरू छन्, तिनले आत्मसमीक्षा गर्ने हो भने विकृतिको जरो उनीहरूले आफ्नै आङमा देख्नेछन् र राजनीति निर्मलीकरणतिर अग्रसर हुनसक्छ । यही निर्मलीकरणमा राष्ट्रिय सहमतिको विन्दु पनि स्पष्ट देखिने छ । राजनीतिलाई व्यवसायबाट सेवामा नउतार्ने हो भने वर्तमान पार्टीको विफलता र राष्ट्रको असफलताबाट पार पाउन सकिनेछैन । नैतिक धरातल साह्रै खस्किदा लोकतन्त्रमाथि प्रश्न उठिसकेको छ । संघीयता भार बनिसकेको छ ।
आफ्ना घोषणापत्र, प्रतिवद्धताप्रति कत्ति पनि जवाफदेहीता र जिम्मेवारीपन नहुँदा जनतामा नैराश्यता बढेको पक्का हो । जनताले विकल्प खोजेका पनि छन् । होनहार युवाहरू हरेक पार्टीमा छन्, तिनलाई फेरि पनि नेताहरूले ओझेलमै पार्नु लोकतन्त्रलाई असफल पार्ने थप प्रयास साबित हुनसक्छ । अनेक राष्ट्रिय मुद्दाहरू छन्, जसलाई राष्ट्रिय सहमति अथवा जनादेशकै तहमा निरूपण गर्न जरूरी छ । ठूला नेताहरूको नियतमा खोट हुन्जेल जो सम्भव नै देखिदैन ।
जनयुद्ध, जनआन्दोलनजस्तो क्रान्तिको तह स्थानीय निकायमा एक नेताले अर्कोका सामु घुँडा टेक्नुपर्ने अवस्थामा आउनु भनेको लोकतन्त्र संस्थागत हुननसकेकाले हो । नेपाली कांग्रेसले गाँस काटेर आफूलाई प्रधानमन्त्री बनाउन सघाउने प्रचण्ड, माधव नेपालहरूलाई ख्वाउनुले अन्ततः प्रजातान्त्रिक प्रतिस्पर्धा कमजोर हुनेछ र स्थानीय निकायमै गठबन्धनले विश्वमै गलत सन्देश जानेछ । त्यसै पनि प्रजातान्त्रिक कांग्रेस र जनवादी कम्युनिष्टबीचको अँगालो हालहाल अप्राकृति त छँदैछ । एउटा एमालेलाई हराउन यसरी गठबन्धन गर्नुले गठबन्धनको जीत होला तर प्रजातान्त्रिक संस्कार, संस्कृति, नीति, निष्ठा र नैतिकताको के हविगत होला ? देउवाजस्ता बीपीका अनुयायीले सोचेको देखिदैन । चुनाव लेनदेनको विषय हो कि जनताले प्रतिनिधि छान्न पाउने अधिकार ? यो प्रश्नमा प्रचण्ड, देउवा, ओलीहरूले सोच्न जरूरी छ । युवाहरूले यस प्रश्नमा विचार गर्नैपर्छ ।
पार्टीहरूको यस्तै चालाले गर्दा हो चीन कम्युनिष्ट एकता खोजिरहेको छ, भारत र पश्चिमाशक्ति अर्कै तरिकाले सक्रिय बनेका छन् । लोकतन्त्र अर्थात् बागद्वार त पवित्र नै छ, राजनीति किन बागमतीजस्तो ढलमती बनिरहेको छ, यो आजको प्रश्न हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले स्कूल स्कूलमा कांग्रेस भातृ सगठन खोल्न फर्मान जारी गरेका छन् । विश्वविद्यालय पार्टी कार्यकर्ता उत्पादन कारखाना बनिसक्यो । देश कता जाँदैछ ? यही सोच हो भने यस्ता नेताले कसरी समृद्धि ल्याउलान् ? विदेशी चलखेल बढ्यो रे, हाम्रा नेतृत्व बर्ग नै टुडिखेल बनिदिन्छन् भने उनीहरूले परेड त खेल्छन् खेल्छन् । सबैलाई थाहा छ, भूराजनीतिका कारणले पनि नेपाल विश्वकै रणनीतिक राष्ट्र हो । स्थानीय र यसपछि हुने निर्वाचनमा प्रत्येक नेपालीले बुझ्नुपर्ने विषय के हो भने मूल्य, मान्यता, प्रक्रिया र परम्परामा नेपाली निर्णयको सर्वोच्चता कायम हुनैपर्छ ।