जब देशभरिका आमासमूह यसरी बाइबल शीरमा राखेर मुस्कुराउँछन्, तव धर्मनिरपेक्षताले क्रिश्चियनकरणको उर्लदो छालको रुपरङ देखाउँछ। ९४ प्रतिशत हिन्दू कोठाबाट कराइरहुन्, संविधानमा यसरी बाइबलकरण हुँदैछ। एकदिनको बालुवाटारको छलफलमा नेपाललाई क्रिश्चियन राष्ट्र घोषणा गरौं, हामीलाई केही पनि चाहिँदैन भन्ने प्रचण्डको कुरा सुनेर सनन्न सन्किएका सुशील कोइराला 'त्यो त सकिन्न' भनेपछि गाँजेमाजे बन्दै र रबरजस्तो तन्कदै गएको सहमतिका बहसहरु अन्ततः धर्मनिरपेक्षता यथावत राख्ने विषयमा गएर टुंगियो। चार राजनीतिक दलहरुको धर्मनिरपेक्षता यथावत राख्ने मत र मन मिलेपछि बौद्ध लामा, शेर्पा र अन्य जनजातिहरुले पनि सडकमा धर्मनिरपेक्षताको विषयमा जुलुस प्रदर्शन गर्ने क्रम सुरु गरे।
अव त स्थिति यस्तो आइसक्यो कि हिन्दूराष्ट्र चाहिन्छ भन्नेहरुलाई सडकमै चुनौती र चेतावनी दिन धर्मनिरपेक्षतावादी र क्रिश्चियनहरुले सामुहिक प्रदर्शन गर्न थालेका छन्। भदौ २० गतेको राप्रपा नेपालको धर्नामा क्रिश्चियनहरुले पनि धर्ना दिए, नारावाजीको जवाफ नारा लगाएरै दिए। झण्डै झण्डै भिडन्तको स्थितिसमेत देखियो। धार्मिक विवाद उठ्यो, धर्मभिडन्त, धर्मयुद्ध हुने हो कि भन्ने खतरा समेत देखिन थालेको छ। आजको १० दिन नेपालको हिन्दूराष्ट्र कि धर्मनिरपेक्षता, राजावादी र गणतन्त्रवादीवीचको मतभिन्नताको द्वन्द्वको चरम स्थिति रहनेछ। ठूला ३ दलले जुनसुकै प्रकारको आन्दोलनलाई दबाएर, दमन गरेरै मस्यौदा पारित र प्रमाणित गरेर संविधान जारी छाड्ने निर्णय गरिसकेका छन्।
विज्ञहरु भन्छन्– जति सहज सम्झेका छन् ३ दलले, त्यति सहज चाहिँ छैन। ५ दिनमा संशोधन प्रस्तावमा छलफल गराएर प्रत्येक धारालाई ध्वनीमतका आधारमा पास गर्दै जाने जानकारी सभाध्यक्ष सुवास नेम्वाङले दिइसकेका छन्। अव हेर्नुछ कि संविधान जारी गरेर देखाउन ३ दल सक्लान् कि नसक्लान्? किनभने संविधानमा पशिचमा चासो जति छ, त्योभन्दा बढी चासो दक्षिण र उत्तरको पनि छ। अहिलेसम्म दिल्लीले ग्रिन सिग्नल दिएको छैन। नेपाली जनताको आवाज कतातिर बढी ओजनदार देखिन्छ, त्यतैतिर आफ्ना रणनीतिलाइ ढाल्ने दिल्ली जोखना हेरेर बसेको छ। अनेक कार्डहरु छन् दिल्लीका। ती कार्डहरुमो अझै उसले 'तुरुपको एक्का' फालेको छैन, त्यही तुरुपको प्रतिक्षामा छन् हाम्रा तीन दलहरु। नेपालको राजनीतिमा भारतको छाप आवश्यकताभन्दा बढी प्रभावकारी हुँदै गएको छ। ठूला ३ दलमात्र होइनन्, सबै राजनीतिक दलहरुभित्र भारतको प्रभावशाली उपस्थिति छ। भारतलाई कमजोर पार्दै चीन प्रवेश गरेको हो र ०६३ सालको जनआन्दोलनपछि पश्चिमा क्रिश्चियनवादीहरु झन प्रभावशाली भएर सामुन्ने आएका छन्। नेपाललाई क्रिश्चियनको हवाला गरेर भारत मौन बस्न सक्छ भनेर मान्न सकिन्न। किनकि नेपालको गरिवीलाई हतियार बनाएर चामल र वाइबल बोकाउन सकिन्छ भने नेपालमा भन्दा चर्को गरिवी भारतमा छ। बागमतीमा रगत बग्दा जसरी गंगा राताम्मे हुन्छ भन्ने भारतले बुझेको छ, नेपाल क्रिश्चियन राष्ट्र बनाउने कम्युनिष्टहरुको चालबाजीलाई पनि भारतले बुझेको छ, नेपालको समस्या भारतमा महामारीको रुपमा सल्किन लामो समय कुर्नुपर्ने छैन। यसकारण पनि नेपालको राजावाद र हिन्दूवादप्रति भारतले आँखा चिम्लेर गणतन्त्र र धर्मनिरपेक्षतालाई सघाउन सरल देखिदैन।
यही बुझ्नेहरु भन्छन्– आजबाट सुरु हुने संशोधन प्रस्तावमाथिको छलफल र पारित गर्दै जाने दफावार प्रस्तावहरुको सम्बन्धमा भारत बढी संवेदनशील छ। भारतले कुनै न कुनै रुपमा भारतको हितको सुरक्षा हुने र आफ्नो प्रभाव नघट्ने किसिमको रणनीति अख्तियार गर्नेछ। उता चीन पनि नेपाल अस्थिर र अराजक बन्दा, क्रिश्चियनहरुको प्रभाव बढ्दा नेपालबाट चीनलाई सुरक्षा थ्रेट बढेर जान्छ भन्नेमा सचेत देखिन्छ। यहीकारण पनि चीनका विज्ञ र सुरक्षाविदहरुको नेपाल भ्रमण बाक्लिदै गएको छ। यसकारण क्रिश्चियनहरुले डलर छरेर क्रिश्चियन फलाउने खोरिया बनाउन खोजेको नेपालमा चीन र भारत चूप लाग्लान् र?