Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्वराजा भारत भ्रमणमा जादैमा राजतन्त्र आउछ ?

२१ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं । हो, भारतका हिन्दुहरू पूर्वराजालाई विष्णुका अवतार मान्छन्, खुट्टा ढोग्छन्, पाउको धूलोको टीका लगाउँछन् । यो हिन्दुहरूको आस्था हो ।
तर पूर्वराजा भारत भ्रमणमा जाँदैमा नेपालमा राजतन्त्र आउने भयो भनेर खुशीयाली मनाउनु आत्मरतीमात्र हो ।
पूर्वराष्ट्राध्यक्षबाट नेपाल–भारत सम्बन्धमा, हिन्दुत्वको जगेर्नामा मद्दत पुग्छ । पूर्वराजालाई पुनः भारतीय हिन्दु समुदायबाट निम्तो आएको छ, यो तीर्थाटन हो, तीर्थाटन यसअघि पनि दर्जनौंपल्ट भए, त्यसमा एकपल्ट थपिनेछ । राजा भारत जाँदैमा नेपालमा राजतन्त्र आइहाल्ने होइन ।
राजतन्त्र नेपालीलाई चाहिन्छ कि चाहिन्न, यो नेपालीको विषय हो । हिन्दुराष्ट्रको गौरव कायम राख्ने कि नराख्ने यो नेपालीको मुद्दा हो । २०६३ सालमा हिन्दुधर्म फालियो, २०७२ को संविधानमा धर्मनिरपेक्षता लेखियो, ९५ प्रतिशत ॐकार परिवार के हेरिरहेका छन् ? २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरियो, राजाले राजदरवार छाडेर नागार्जुनको वनवास गए, राजावादीहरू १४ वर्षसम्म किन बिद्रोह गर्न सकिरहेका छैनन् । वन्दुक देखाएर, आतंक फैलाएर, विदेशी सामलमै होला नेपाली नागरिककै जनआन्दोलनले हिन्दुधर्म र राजतन्त्र फालैकै हो । हिन्दुवादी र राजतन्त्रवादी कहाँ लुके ? विद्रोह अथवा जनमतवाहेक अर्को उपाय छैन पुनस्र्थापना गर्नका लागि, हिन्दु र राजशक्ति किन ती उपाय अपनाइरहेका छैनन् ? राजा भारत गए, चीन गए, सार्कका महासचिवले भेटे, युरोपियन राजदूतहरूले भेट माँगेका छन्, चीन र भारत हजारौं नवराजाहरूलाई मनाउनु भन्दा एउटै राजासँग वार्ता गर्दा सुरक्षाको प्रत्याभूति हुनेरहेछ भन्ने सहमति गरेजस्ता हल्ला पिटाएर राजतन्त्र र हिन्दुराष्ट्रको सपनामा आमनागरिक भुलिरहेका छन् ।
निश्चित रूपमा पार्टीहरूले देश र जनतामाथि अत्याचार गरेकै हुन्, लोकतन्त्रका नाममा अलोकतान्त्रिक चरित्र देखाएकै हुन्, धर्मनिरपेक्षताका नाममा हिन्दुधर्म, अन्य धर्ममाथि अतिक्रमण गरेकै हुन् । विधिमाथिको बलात्कार रोक्न, नीति र निष्ठामा नेतालाई अडाउन, भ्रष्टाचारको अन्त र सुशासनका लागि नेतृत्वलाई बाध्य पार्नका लागि राजा भारत गएर होइन, नागरिकमा सही र गलत छुट्याउने विवेक र विवेकपूर्ण विद्रोहको खाँचो छ । अभिभावकविहीन भयो देश भन्नेले अभिभावक खोज्न उत्तरप्रदेशका योगीले हिन्दुधर्म ल्याइदिन्छन्, दिल्ली र बेइजिङ्ले राजतन्त्र ल्याइदिन्छन् भनेर परजीवी हुनु भनेको यी नेताहरूले १९७५ का सिक्किमे नेताहरूले संसदमै आगो झोसेर देशको खरानी भारतलाई बेचेझैं बेच्दा पनि तमासे बन्ने त होइन, संशय छ ।
 हालै भारत हुँदै नेपाल आएका चीनका विदेशमन्त्री वाङ यीको भनाइले नेपालमा एउटा स्थिर शक्तिको आवश्यकता दुवै मुलुकले महसूस गरेको बुझ्न सकिन्छ । तर यसका लागि प्रधानमन्त्रीको भ्रमण लगत्तै राजालाई निम्त्याइनु, मोदीले भेट्ने कार्यक्रम हुनुले क्लिस्ट सम्बन्ध सरल हुनेछ तर नेपालमा परिवर्तनका लागि नेपाली जनता नै सक्रिय हुनुपर्छ । विदेशीले समर्थन दिने हो, के चाहिन्छ, त्यो नेपाली जनताले निर्धारण गर्नुपर्छ, जनता अघि सर्नुपर्छ । माँगेको भीख, बाटैमा ठिक, यो उखान बुझ्नुपर्छ ।
हो, पूर्व राजा र प्रधानमन्त्री मोदीको भेटघाट आचार्य महामण्डलेश्वरमार्फत हुनसक्छ । भव्य स्वागत हुनेछ । चैत्र ११ गते झापा पुगेका राजाले नयाँवर्ष मनाएपछि दिल्ली गमन हुनेछ । पश्चिमा भूराजनीतिक चलखेल रोक्न चीन र भारतले स्थिर शक्ति खोजेको हुनसक्छ । यो कूटनीति हो । आन्तरिक राजनीतिक निर्णयमा जनयुद्ध, जनआन्दोलन र १४ वर्षे पार्टी राजनीतिले थिलथिलो बनेका नेपाली जनता के चाहन्छन्, देखिने बेला आयो । भारतमा ‘नेपालका राजा’ भनेर प्रचार सुरू भइसकेको छ । राजालाई देख्यो जयजयकार गर्ने र त्यसपछि कोठापस्ने हिन्दुवादी र राजतन्त्रवादीको संघर्ष गर्न नसक्ने चरित्रले राजतन्त्र र हिन्दुराष्ट्र कसरी पुनस्र्थापन होला ?