Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमसिसी बोक्ने तीन काँध

१६ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

फाल्गुन १५ गते एमसिसी पास भयो । एमसिसी पास गरेर ७४ वर्ष लामो नेपाल–अमेरिका सम्बन्ध झन बलियो पारियो भन्ने दावी यिनको छ । नेपालको विकास साझेदार हो अमेरिका । अमेरिका यसकारण खुशी छ कि नेपालले मागेका कारण अमेरिकाले दिएको एमसिसी नेपालको संसदबाट पारित गरियो । पारित गर्नेहरू भन्छन्– विश्व समुदायमा नेपालको विश्वासनीय कूटनीति अघि बढ्यो । कूटनीतिक विज्ञहरूले भनेझैं नेपालको कूटनीति दुर्घटनाबाट बच्यो । एमसिसीले नेपालमा विकास पूर्वाधारमा सघाएर प्रजातन्त्रलाई मजबुत पार्छ कि एमसिसीका धान्नै नसकिने साइड इफेक्टहरू पनि जन्मने हुन्, अब त्यसको जिम्मा एमसिसी बोक्ने यिनै मुख्य तीन काँधले लिनुपर्छ । आउने निर्वाचनमा जनताले यिनैलाई जिताए भने त ५ वर्षे एमसिसीको अवधि सहज भएर अघि बढ्ला, यिनलाई जनताले नकारे भने....?
एमसिसीका विरोधीहरूले भनेका छन्– यो कालो दिन हो । फाल्गुन १५ अर्थात एमसिसी पारित भएको दिन कालो कि उज्यालो दिन ? यो महाकाली सन्धि पारित भएजस्तो होइन भनेर देशलाई बुझाउने जिम्मेवारी अब यिनकै हो ।
संसदमा एमसिसी अनुमोदन हुनासाथ अमेरिकी दूतावासले खुशी व्यक्त गर्दै नेपालको विद्युत, सडकजस्ता पूर्वाधार बन्ने र नेपालीले सुखी हुने अवसर पाउने भनेको छ । यस्तै होस्, अमेरिका भरपर्दो विकासको साझेदार बनोस् । मुख्य कुरा नेपालको प्रजातान्त्रिक अभ्यास संस्थागत रूपमा अघि बढोस् ।
बुझकीहरू भन्छन्– चीन र अमेरिकाबीच शीतयुद्ध चलिरहेको छ । भारत ठूलो बजार हो, जुन अमेरिका गुमाउन चाहँदैन । विश्वमा र नेपालमा चीनको बढ्दो प्रभावलाई न्यूनिकरण गर्नुछ । यसका लागि नेपालमा अमेरिकाको उपस्थिति अत्यावश्यक भएको ठानेर नै अमेरिका आउन खोजेको हो । अमेरिका आउन खोज्नु र माधव नेपालका पालादेखिका ८ थरिका सरकारले एमसिसीमा आफूलाई जोडेर अघि बढ्नुले अमेरिकाका लागि मार्ग प्रशस्त हुँदै गएको थियो ।
यो बाहेक नेपालमा १० वर्ष लामो जनयुद्ध भयो, १७ हजार नागरिक मारिए । १५ वर्षसम्मको अवधिमा मौका पाउँदा पनि संक्रमणकालीन मुद्दाहरूको छिनोफानो गर्न पार्टीहरूले सकेनन् । ६४ हजार मुद्दाहरू बेपत्ता र मेलमिलाप आयोगमा छन् । बलात्कार, हत्याका कतिपय मुद्दाहरूमा मानवाधिकार आकृष्ठ भइरहेका छन् । यहीकारण माओवादी सङ्कटमा छ, एमालेबाट अलग भएको नेकपा स अर्थात माधवकुमार नेपाल अस्तित्वको सङ्कटमा छन् । प्रचण्ड र माधव नेपाल दुबै एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धी देखिएका कारणले पनि प्रम देउवाले खेल्ने अवसर पाए र कम्युनिष्टलाई लतारेर प्रजातान्त्रिक धारमा ल्याउने अवसर छोपेको पनि देखिन्छ । एमसिसी पारित गर्नु प्रजातन्त्र, विकास र वैदेशिक सम्बन्धका लागि समेत जरूरी थियो, यो सम्झौता पारित गरेर नेपालको उज्यालो दिन सुरू भएको प्रमाणित गर्नु देउवाका लागि अर्को अग्नि परीक्षा सुरू भइसकेको छ । कारण संविधान मान्ने र नमान्ने कम्युनिष्टहरू सडक आन्दोलनमा उत्रिसकेका छन् । यी आन्दोलनहरूको मुख्य ध्येय कम्युनिष्ट पार्टी र समर्थकको ध्रुविकरण नै हो । प्रजातन्त्रका लागि अमेरिकी सहयोग र समर्थनको अधिकतम उपयोग गरेर प्रजातन्त्रवादीको मजबुत जग हाल्न देउवालाई सफलता मिल्ला कि नमिल्ला ? यही यक्ष प्रश्नमा नेपालको शान्ति र समृद्ध निर्भर देखिन्छ । नेपाली कांग्रेसका सामु एमसिसीमा राष्ट्रघात भयो भन्ने जनमानसमा परेको छाप मेटाउनु छ भने प्रचण्ड र माधव नेपालले यही छाप मेटाएर प्रजातान्त्रिक छौं भनेर प्रमाणित गर्न पनि एमसिसीको लाभ जनतालाई बुझाउनै पर्ने देखिन्छ ।
काँध थाप्न समुद्र मन्थनबाट निस्केको विष पिउनुभन्दा कठिन भयो प्रचण्ड माधवलाई । अब निर्वाचनमा जाँदा जनताले सोध्ने सवालको जवाफ दिन र आफूप्रति सर्वहारा, सिमान्तकृतलाई आकर्षित गर्न अर्को महाभारत जित्नुछ यिनलाई । देउवाको क्षमता देखियो, त्यो क्षमताको सकारात्मक नतिजा देखिदै जाला ।