Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्प, बिच्छी र भ्यागुतोको नियति

०२ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

भ्यागुतोको दुश्मन हो सर्प, सर्पको दुश्मन हो बिच्छी, बिच्छीको दुश्मन हो भ्यागुतो । नेपाली राजनीतिमा ओलीको दुश्मन प्रचण्ड, माधव नेपालको दुश्मन ओली, कांग्रेसको दुश्मन एमाले, एमालेको दुश्मन नेपाली कांग्रेस । देश कसरी बनाउने, गणतन्त्र कसरी चम्काउने, संविधान कसरी जनजीवनमा घुलमिल बनाउने, समृद्धि र शान्ति कसरी स्थापित गर्ने भन्ने एजेण्डामा नेपालका भाग्य विधाता बनेका यी पाटीहरूबीच कहिले पनि बहस भएन । देशमा बेथिति बढ्यो, विधिको शासन हुनसकेन, कसरी लोकतन्त्रलाई लोकतान्त्रिक बनाउने भन्ने सोच पनि कहिले विकास हुनसकेन । यिनको एकमात्र एजेण्डा सत्तामा जाने, टिक्ने र अर्को दललाई तोडफोड पार्ने, एकदोस्रालाई खुइल्याउने र आफ्नो वर्चस्व कायम गर्नेमात्र रह्यो । सामुहिक प्रयास, हरेक मुद्दामा सहमति र सहकार्य भन्ने विषय नै भएन । एउटाले इटाले हान्ने, अर्कोले ढुङ्गाले । यसैगरी लोकतन्त्र नामको पद्धति चलिरहेछ । यिनको नैतिक धरातल यसैगरी पतन भइरहेको छ । जनता र नेताबीच विश्वासको सङ्कट बढेर गएको छ ।
काठमाडौं । प्रकृति सन्तुलनमा चल्छ, सन्तुलनकै लागि प्रकृतिले बिच्छी, भ्यागुतो र सर्पको सिर्जना गरेको हुनुपर्छ । एकदोस्राप्रति भय भएकैले उनीहरू उच्छृङ्खल हुँदैनन् । आ–आफ्ना नियममा बस्छन्, बाँच्छन् । सायद यही बुझेर होला लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त अपनाइएको हुन्छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको संरचना रहन्छ । यी सबै निकाय नियमवद्ध हुन्छन् । एकदोस्राको हैसियतलाई च्यालेन्ज नगरी अनुशासित रहन्छन् ।
तर राजनीतिकरणकै कारण संसदले होइन, अदालतको परमादेशले तोकेरै प्रधानमन्त्री बनाइयो । एमाले तोडियो । ५ दलीय गठबन्धन सरकार बन्यो । अहिले आएर परमादेश दिने ५ मध्ये एक प्रधानन्यायाधीशमाथि महाभियोग लगाइयो, अर्थात राजनीतिले बक्ररेखामा चल्ने कोर्स लियो । अर्को चर्को तरङ्ग फैलिनथाल्यो ।
पास गर्ने हैसियत बिनाको महाभियोग ल्याएर सत्ताले प्रतिपक्षीलाई ट्य्रापमा पार्न यो कदम चालेको होला । यो ट्य्रापले पद्धतिलाई साइड इफेक्ट ग¥यो भने जिम्मेवार को हुने ? हुन त अनुशासनहीन भएर नाङ्गा बाबा बनेपछि जनताले देख्ने तमासा नै हो । राजनीति रमाइलो मेलाको नौटङ्कीजस्तो देखिन थाल्यो । जवाफदेहीता र जिम्मेवार कुनै पार्टी हुनसकेनन् ।
चुनावमा प्रतिस्पर्धा हुन्छ, चुनावपछि सुशासनका लागि समन्वय, सहमति र सहकार्य नगरेर स्वार्थी बन्नु र स्वार्थका लागि अग्रसर हुँदा आजको दिन भोग्नुपरेको हो । दिनदिनै राष्ट्रिय राजनीति असहज बन्दै जाँदो छ । यो मुलुकका लागि राम्रो सङ्केत होइन ।
अरूका लागि खुल्ने नेताहरू राष्ट्र र जनताले के पाए ? चुक कता भयो ? कसरी सुधार्ने भन्ने विषयमा कहिले पनि खुलेनन्, यो दुर्भाग्यजनक छ ।