Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतबाट नेपाललाई नियाल्दा...

२४ सोमबार , माघ २०७८३ बर्ष अगाडि

‘..हामी भारतीयहरूका लागि के छैन त्यो पारीपट्टिको नेपालमा । प्रकृति, सुन्दरता, भौगोलिक एवं भूपरिवेष्ठित प्रमुखता, पर्वत–पहाड–समतल, प्राकृतिक संसाधन, पानी, हिमाल, संस्कृति–समाज, इतिहास, खेतीपाती, पशुप्राणी र मानव संसाधन आदिले परिपूर्ण छ त्यो नेपाल । र पनि, नेपाल किन विकासशील राष्ट्र हुन सकेन ?
अहिले पनि विश्वका ४०–४५ वटाको लिस्ट डेभलप्ड कन्ट्रीको सूचीमा भोटाङ्, अफगानिस्तान, मालदिभ्सजस्तै नेपाल पनि किन गनिन्छ ? दशकौं भयो अनेकौं राष्ट्रहरूले आर्थिक अनुदान प्रदान गरेको र पनि बुनियादी सुविधा किन पुगेन त्यहाँ ? राणाको क्रुर शासन स्वाहा भएर गयो । राजाको एकलौटी प्रशासन पनि जरैबाट उखेलिएर फ्याँकियो र माओवादी आन्दोलनले एउटा नयाँ दिशानिर्देश गर्दै राष्ट्रले प्रजातान्त्रिक ढाँचा अपनायो र पनि, दिशाहिन किन छ ? अवहेलित आफ्नै नागरिक किन किञ्चित मात्रामा पनि माथि उठ्न सकेनन् ?
त्यही पानी चलाएर बेचेर, आधार मानेर सिंगापुर, गोवा विकासको टुप्पोतिर नै पुग्न लाग्दा पनि, पानी नै पानी भएको त्यो नेपालचाहिं किन अँध्यारो, किन पछौटे र किन अविकासले ग्रसित ? सम्पूर्ण विश्वले मानेको वीरनेपालका सिपाहीहरू, दुबई–मलेशिया–अमेरिका आदिले पनि मानेका नेपाली श्रमिक अनि अन्य पेसादार मानिसहरू हँुँदाहुँदे पनि आफ्नै राष्ट्रचाहिं किन अघि बढ्न चल्मलाउँदैन ?
उत्तरमा चीन र दक्षिणमा भारत दुवै द्रुतगतिमा अघि बढिरहेका राष्ट्रहरू छिमेकी भएर पनि नेपालले किन फाइदा उठाउन सकेन ? दुवै देशलाई अँगालेर नेपाललाई एउटा नमुना राष्ट्र बनाउन किन सकेन ? ओखतीमुलोको राष्ट्र नेपाल, संस्कृति–पारम्परिक ज्ञानको भण्डार र प्राकृतिक संसाधनले छोपेको नेपाल । हर्बलको खोजीमा चुर्लुम्म डुबेको विश्वमा, नेपाल केवल ओखतीमुलोको पारम्परिक ज्ञान बेचेर ‘प्याटेन्ट’ लिएर नै आजसम्म चारपाँच वटा कोकाकोला र सामसुङ्जस्ता कम्पनीका मालिक बस्ने राष्ट्र बन्न सक्थ्यो । पहाड पर्वतबाट लडी मरी नेपालीले यार्सागुम्पाचाहिं टिप्ने र त्यही यार्सागुम्पालाई चीनमा पठाएर त्यहाँ त्यसलाई ओखती आदिमा परिणत गराएर चीनले अर्बौं कमाउने । नेपाल कोरा मालको राष्ट्र रहने ? कारण नेपालमा नेतृत्वको नितान्त कमी छ ।