सात नेता थरुहठका शत्रु हुन्, तिनलाई थारु समुदायले लखेट्छ। नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारुनेता राजकुमार लेखीले सुशील कोइराला, केपी ओली, प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्ट थरुहठको शत्रु घोषणा गरेका छन्। लेखी भन्छन्– मुलुक अधोगतितिर जानु र जनजाति अधिकारविहीन हुनुको कारण यी सात शत्रु हुन्। यिनलाई सकेजति गर्नुपर्छ, यिनलाई बाँकी छाड्नु भनेको हाम्रो अझ दुर्गति, अधोगति हो। कर्फ्यू लागेको बेलामा थारुहरुको घर जलाइयो। कहाँ छन् मानवाधिकारवादी? डलर पचाएर हिड्नेहरुलाई पनि नछाडौं। अव प्रत्येक गाविसबाट बिद्रोहको बिगुल फुकिन्छ। आन्दोलन अव शहरमुखी होइन, गाउँमुखी पनि हुनेछ। ६ र ७ प्रदेशको सिमांकन मान्य छैन। तराईमा चार प्रदेश हुनुपर्छ। संविधानसभाका सभासदहरु मधेसमा आउनुपर्छ। कर्फ्यू हटाउ, सेना परिचालन फिर्ता गर, पक्राउ परेका कार्यकर्तालार्य रिहा गर, मधेसमा वार्ता गर। लेखी यसरी कड्किदै छन्, कैलाली सुनसान छ, लाग्छ– आँधी आउनु अघिको चकमन्न हो यो। कैलाली पुगेका पत्रकारहरु यसै भन्छन्।
थारु आन्दोलन बाहुन, क्षेत्री वा पहाडीयाको विरुद्ध भएको होइन। कसैलाई आक्रमण गर्ने वा खेद्ने नीति थारुसमुदायको छैन। टीकापुर हिंसामा कति स्थानीयलाई गोली लाग्यो, सत्यतथ्य बाहिर आएको छैन। टीकापुरको यथार्थ समाचार अझै आउन सकेको छैन। पूर्वाग्रही र एकतर्फी समाचार आइरहेका छन्, यो दुःखपूर्ण हो। अव एउटा जातिको विशेषाधिकारको अन्त हुनुपर्छ। थारु र मधेसी मोर्चाको आन्दोलन मधेसका २२ जिल्लामै सल्किएको छ। यो आन्दोलनलाई संवोधन गर्न राजनीतिक सामुहिक प्रयास हुनसकेको छैन। नितान्त राजनीतिक समस्यालाई राजनीतिक स्तरबाटै समाधान पहिल्याउन आम नागरिकहरुले आग्रह गरिरहेका छन्। तर ठूला दलहरु संविधानमा भदौ १९ सम्म आउने संशोधन प्रस्ताव र त्यसपछि प्रक्रियागत रुपमा संविधान पारित गरेर घोषणा गर्नेतिर उन्मुख रहेका छन्। चार दलको भदौ १३ गतेको बैठकमा संविधान पारित गर्ने प्रक्रिया र असन्तुष्ट राजनीतिक दलहरुसँगको वार्ता साथसाथै अघि बढाउने निर्णय भएको छ। प्रक्रिया रोकेर वार्ता गर्न तैयार भएका असन्तुष्ट आन्दोलनकारीदलहरु चार दलको निर्णयबाट भड्किन पुगेका छन्। वार्ता सम्भव नहुने हो भने संविधान जारी गर्ने तैयारी तुहिने खतरा बढेर गएको सभासदहरु नै बताउँछन्। यथास्थितिमा संविधान जारी हुनसक्दैन भन्ने विज्ञहरुको समेत ठहर रहेको छ। संविधानविद भीमार्जुन आचार्यले समेत संघीयतालाई थाँती राखेर संविधान जारी गर्नुपर्छ सुझाव दिएका छन्।
थारु समुदायको आन्दोलन र कैलालीमा डेढवर्षको बालक सहितका ९ सुरक्षाकर्मी माथि लाठी र गोलीले हत्या गरिएको घटना झन झन पेचिलो बन्दै गएको छ। अनेक रहस्यहरु सार्वजनिक भएका छन्।