Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिमाना लुटिदा किन मौनता ?

१७ सोमबार , माघ २०७८३ बर्ष अगाडि

काठमाडौं । भारत निरन्तर आक्रमण गरिरहेछ, देख्दैनन् सरकार, संसद र पार्टीहरू । के यिनीहरूलाई दुख्दैन, मुटुविहीन छन् ?
पहिले ६० हजार हेक्टरभन्दा बढी भूभाग ७३ स्थानका सिमानामा मिच्यो । त्यो समस्या हल नगर्दै भारतले चीनसँग लिपुलेकबाट व्यापार गर्ने सम्झौता ग¥यो । नेपालको अनुमति नै नलिई नेपाली भूमिबाट भारत र चीनले कसरी व्यापार गर्न सक्छन् भनेर प्रश्न उठाएको नेपालले उत्तर नपाउँदै भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्वाप्लाक्कै भारतीय राजनीतिक नक्सामा समावेश गरेर भारतीय भूमि बनायो । नेपाली जनताले कोलाहल मच्चाएपछि बाध्य भएर नेपाल सरकारले संविधानमै नेपालको नक्सा अध्यावधिक गरेर ती भूभाग नेपालको दावी ग¥यो ।
नेपालसँग भारत सरकार रिसायो । सम्बन्ध चिस्सियो । नेपालले चीनको लहै लहैमा लागेर ती भूभाग दावी गरेको आरोप लगाउने भारतका रक्षा मन्त्री राजनाथ सिंहले सेनाप्रमुखलाई साथमा राखेर त्यसपछि लिपुलेकबाट मानसरोवर जाने राजमार्ग उद्घाटन गरे । हालैका दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकबाट मानसरोवर जाने बाटो बनिसकेको, सर्वकालिक बिस्तार भइरहेको बताए ।
नेपालको जनगणना यही बेलामा भयो । भारतले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न जान रोक लगायो । तथ्याङ्क विभागले जनगणनाको रिपोर्ट सार्वजनिक गरिसक्यो, लिपुलेक र कालापानी, लिम्पियाधुरा क्षेत्रको जनसङ्ख्या अनुमानको भरमा समावेश गरेको खबर सार्वजनिक भइरहेको छ । अनुमानित जनसङ्ख्या समावेश गर्ने भए राष्ट्रिय जनगणना नै किन गर्नुपथ्र्यो । मिथ्याङ्कलाई तथ्याङ्क मान्नुपर्ने बाध्यता आइपरेको छ । यस्तो मिथ्याङ्कले कसरी राष्ट्र अघि बढ्न सक्छ ?
पुस २७ गतेको राष्ट्रिय एकता दिवस मनाइएको धेरै भएको छैन । राष्ट्रपति, मन्त्रीहरू, नेताहरूले राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जली चढाए, एकता प्रदर्शन गरे । तर प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन सकिन्न भनिदिए । नेपाल निर्मातालाई नमान्ने प्रधानमन्त्रीले नेपाली भूमि लुटिएकोमा चिन्ता गर्ने कुरै भएन किनकि हाम्रा प्रधानमन्त्री नेपाल निर्माता मान्दैनन् । उनका लागि नेपालको ५ पल्ट प्रधानमन्त्री हुनु र माखो नमार्नु ठूलो कुरा हो ।
संसारका कुनै पनि मुलुक सीमामा सतर्क छन् । शक्तिशाली हुन् कि कमजोर, आकारले ठूलो हुन् कि सानो, प्रजातान्त्रिक हुन् कि अधिनायकवादी, उनीहरू आफ्नो राष्ट्र र राष्ट्रको सीमाबारे गम्भीर छन् । राष्ट्रको सिमाना रक्षा उनीहरूको पहिलो प्राथमिकता हो । तर प्रधानमन्त्री हुने, प्रजातान्त्रिक हुँ, स्वाधीन र सार्वभौमिकताको कुरा पनि गर्ने तर देशको सीमा जतिसुकै मिचिए पनि, अतिक्रमण भए पनि, सीमामार्फत हस्तक्षेप र हमला गरे पनि चासो नराख्ने सरकार, सांसद, पार्टी, नेता, नागरिक समाज, बुद्धिजीवीहरू भएको नेपालै रहेछ । नेपाली भूमि लुटिने क्रम जारी छ, नेपाली हुँ भन्नेहरू लुटिएको भूमि कसरी फिर्ता ल्याउने, कसरी अरू लुट्न नदिने भन्ने चिन्ता नै गर्दैनन् ।
पृथ्वीनारायण शाह थिए र नेपाल हामीसँग छ । नेपाली हौं भन्ने गर्वको आधारभूमि नेपाल निर्माता नै हुन् । जुन नेता नेपाली हुँ भन्छ र नेपाल निर्माताप्रति गर्व गर्दैन, त्यो कसरी ब्लू ब्लडेड नेपाली हुनसक्छ ? नेपाल निर्माता मान्नु भनेको राजा मान्नु होइन, इतिहासप्रतिको सम्मान हो । यत्ति कुरा नबुझ्नाले नै लोकतन्त्र मान्छौं भन्नेहरू राजनेता बन्न नसकेका हुन् । महत्वपूर्ण कुरा नैतिक धरातल हो, राष्ट्रप्रतिको इमान हो । जिम्मेवारी, नैतिकता र इमान भएन भने जुनसुकै सिद्धान्त माने पनि व्यक्ति वा पार्टी राष्ट्रिय हुनैसक्दैन ।