कैलाली रक्तपातको रगतको छिटा एमाले, एमाओवादी, माओवादी, मधेसवादीको मुखमा देखिन थालेको छ। कैलालीमा रक्तपात भएको ७ दिनपछि एमाले मुख्यालयबाट निस्केको आरोपको प्रत्यारोप सुरु भइसक्यो, प्रतिवाद सुरु हुनेवाला छ। राजनीतिमा यो हिंस्रक खेलबाड संविधान र लोकतन्त्रलाई अराजक बनाउने सलाईको काँटी हुने त होइन? अनेक आशंकाहरु उठेका छन्।
एमालेका सचिव योगेश भट्टराईले एमाले कार्यालयबाटै गृहमन्त्री वामदेव गौतमको मुखवीर बनेर भदौ ७ गते कैलालीमा जुन नरसंहार भयो, त्यसको रहस्य खोलेका छन्। कैलालीमा जुन हत्याकाण्ड भयो, त्यसमा एमाओवादीका वर्षमान पुन, जनार्दन शर्मा, नेकपा–माओवादीका देव गुरुङ, कांग्रेसका अमरेशकुमार सिंह, विप्लव माओवादी, मधेसवादी दलका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, आपराधिक समूहको सामुहिक योजना थियो त्यो। पहाडी मार्ने योजना थियो, दुर्भाग्यवस प्रहरी र बालक मारिए। योगेशले रहस्यमय कुरा पनि गरे– यो घटनाबारे प्रचण्डलाई थाहा थिएन। सूचना आयो, त्यही बोलेको हो भन्ने योगेशले बताएनन्– उनलाई सूचना गृहमन्त्री वामदेव गौतमले दिए कि आकाशवाणी भयो?
कैलाली हत्याकाण्डमा एमाले सचिव योगेशको आरोप छ– टीकापुर घटनामा माओवादीका नेता वर्षमान पुन र जनार्दन शर्माको सिधै संलग्नता छ। यसरी योगेश उर्लिएपछि वर्षमान पुनले प्रत्यारोप लगाएका छन्– यो झूठ हो, खेदपूर्ण छ, टीकापुर हत्याकाण्ड एमालेको नियोजित षडयन्त्र हो। पुनकै शव्दमा 'राजनीतिक रुपमा भीम रावलले अडान लिने र बामदेवले फिल्डमा खटिएका प्रहरीलाई हतियार नदिने गरी यो घटनाको डिजाईन गरिएको छ। यता शसस्त्र प्रहरीलाई गोली नचलाउने आदेश दिइएको छ। एमाले जिम्मेवारीबाट यसरी पन्छिन सक्दैन।' त्यसपछि राजनीतिक र कूटनीतिक बृत्तमा समेत हल्लाखल्ला मच्चिएको छ– कैलाली हत्याकाण्डको दोषी एमाले हो कि माओवादी? माओवादी यसकारण पनि कि टीकापुर जनविद्रोहमा पूर्वलडाकु, वैद्य र विप्लवका कार्यकर्ता पनि देखिएको खुलासा भइसकेको छ। योगेशले पनि यस्तै बोलेका छन्।
स्मरणीय छ, वर्षमान पुनले केही दिन अघिमात्र ठूलै घटना घट्नसक्ने र आन्दोलनका नाममा २, ३ सय मान्छे मार्ने सूचना पाएको खुलासा गरेका थिए। त्यो सूचनाको स्रोत अथवा आधिकारिकता वर्षमानले अझैसम्म पनि खोलेका छैनन्। यसअघि गृहमन्त्री वामदेव गौतमले टीकापुर घटनामा भारतीय घूसपैठ भएको आरोप संसदबाटै फुकेका थिए, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'गलत' भनिदिएपछि एमालेले दोषको तीर माओवादी र मधेसवादी पार्टीहरुतिर फर्काएको हो। एमाले संविधान बन्ने बेलामा हत्याको आरोप अन्य पार्टीको टाउकामाथि थुपारेर समस्यालाई किन पेचिलो र बिबाद बल्झाउन लागिपरेको हो, बुझ्न सकिन्न। यद्यपि एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्ने हतारो छ। यसैका लागि ओलीले कांग्रेस सत्ताको आयु बढाउन संविधान घोषणा गर्नबाट पछि हट्दै अनेक बहानाबाजी गरिरहेको आक्षेप लगाइसकेका छन्। जब कि कांग्रेसका कृष्णप्रसाद सिटौलाले पेश गरेको मस्यौदा विधेयकमा प्रारम्भिक छलफल सकिएको छ। भदौ १९ गतेसम्म संशोधन पेश गर्न सभासदहरुलाई सभाध्यक्षले समय दिएका छन्। र, विधेयक प्रक्रियाबाटै पास गर्ने योजना तय भइसकेको अवस्था छ।
यद्यपि यथास्थितिमा संविधान पारित हुन नसक्ने दावी केही पार्टी नेताहरुको छ। संविधान पारित भएर जारी हुने हो भने त्यो संविधान सात दिन पनि नचल्ने उनीहरुको ठहर छ। कम्तिमा देशव्यापी उर्लेको आन्दोलनलाई संवोधन गर्न केही समय लाग्छ। संविधानसभा र बाहिरका विभिन्न राजनीतिक दलहरुसँग सहमति खोज्नैपर्छ। हतारमा संविधान जारी गर्दा आन्दोलन अराजक बन्दै जाने खतरा उनीहरुले देखेका छन्।