राजधानीमा भदौ २ गते शेर्पा समुदायले नारा जुलुस निकालेर 'शेर्पाको प्रदेश खोई?' भन्दै राज्यसँग प्रश्न गरेका छन्। शेर्पा जातिले पहिलो पटक यस प्रकारको आवाज उठाएका हुन्। शेर्पा स्वायत्त प्रदेशको माग गरे पनि यिनको आवाज राज्य वा संविधानसभाले सुनेन। संवैधानिक संवाद तथा सहमति समितिका संयोजक डा.बाबुराम भट्टराईले पेश गरेको मस्यौदामा शेर्पा प्रदेशको नामोनिशान देखिदैन। ६ प्रदेशलाई ७ प्रदेश बनाउन सहमत भए तर शेर्पाहरुलाई स्वायत्त प्रदेश दिन बाबुराम समितिले बेवास्ता गर्यो।
यही सभामा पासाङ शेर्पा, सामाजिक लोकतान्त्तिक पार्टीका नेताले शेर्पा स्वायत्त प्रदेशको घोषणा नगरिए बाहुन नेताका घर खोजी खोजी आगो लगाउने चर्को भाषण गरेका छन्। शेर्पाले– हामीलाई सिध्याउने नेतालाई पनि सिध्याइदिने बताएका हुन्। आदिवासी जनजातिको अधिकार निमोठेर प्रदेशबिनाको संविधान जारी भए आगो लगाउने धम्की दिएका छन्। शेर्पाले आदिवासी जनजाति, शेर्पा समुदाय र धर्म गुरुहरुलाई आफ्नो अधिकार सुरक्षित गर्नका लागि आन्दोलनमा होमिन आह्वान गरेका छन्। शेर्पाले केपी ओली, प्रचण्ड, सुशील र गच्छदारको नामै किटेर यिनलाई अपराधीको संज्ञा पनि दिएका छन्। आज देश बर्बाद हुनुमा यिनै बाहुन नेताहरु जिम्मेवार रहेको दावी पनि गरे उनले। डरलाग्दो कुरा गर्दै पासाङ शेर्पाले भने– शेर्पा स्वायत्त प्रदेश घोषणा हुन्न भने लुक्ला, नाम्चेलगायतका क्षेत्रमा पर्यटन, यातायात र अन्य शुल्कहरु आफै उठाइने छ। कसले रोक्छ हेरौं त? पासाङ शेर्पा जहिले बोल्छन्, आक्रोसित भएर चर्को कुरा बोल्ने नेता हुन्। तर यसपटक उनी ज्यादै आक्रोसित मुद्रामा देखिए। उनले बाहुन नेताहरु नै यो देश बर्बादीका किटाणु भएको दावी गर्दै शेर्पा समुदायले स्वायत्त प्रदेश नपाए आगो लगाइदिने सम्मका कुरा गरेका छन्। मस्यौदामा ७ प्रदेशको उल्लेख छ। यसमा अव थपघट हुनेवाला देखिदैन। अव कसरी शेर्पा समुदायले स्वायत्त प्रदेश पाउला र? कतै पासाङले भनेजस्तै हिंसा फैलाउने बिद्रोह थाले भने अहिलेसम्म पहाड र तराईमात्र बल्न थालेको थियो, कतै हिमाल पनि बल्न नथालोस्। चेतनाको स्तरलाई संवोधन गर्न सकिएन भने जातजाति जागरुक हुँदा समस्या पनि बढ्दै जाने रहेछ।