Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कांग्रेसी भेलामा विद्रोही विगुल

२७ सोमबार , मंसिर २०७८५ बर्ष अगाडि

काठमाडौं । कांग्रेसको अधिवेशन उद्घाटन समारोहमा राप्रपाका अध्यक्ष जितेका राजेन्द्र लिङ्देनलाई पनि निम्त्याइयो र उनी कुर्लिए– मलाई नै भनौं कि अरूलाई, गाउँमा कुनै कार्यक्रममा नेता आएको छ भन्ने थाहापाएपछि जनता भन्छन्– कुन चोर आएछ । कांग्रेसी समारोहमा उपस्थित कांग्रेस भीडले ताली बजाएर समर्थन जनायो । जब यिनले राजतन्त्र पुनस्र्थापना गरेर निर्वाचित प्रधानमन्त्री पद्धति तथा सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गरौं भने कोही बोलेनन्, सुनिरहे । भ्रष्टाचार गरें भने आमाको रगत खाएसरह हुनेछ भन्ने यी सांसद तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आमजनता असल व्यक्ति मान्छन् । यो सत्य हो ।
त्यसपछि बोल्न उठेका माधव नेपालले राजतन्त्रको विरोध गरे, राजेन्द्रको झाँको झार्ने प्रयास गरे । अनि उठे प्रचण्ड, उनले हामी चोर नै हौं त, होइनौं के भनेका थिए, भीडले हो हो भनेर प्रचण्डको आवाजलाई छोपिदिए । एमालेका अध्यक्ष केपी ओलीले राजेन्द्रलाई कान्छो, भर्खरको बाँच्छो भनेर होच्याए र बिस्तारै पाको हुने बताए । तर यथार्थ के हो भने ठूला पार्टीहरूको ध्यान आफूतिर खिच्न राजेन्द्र लिङ्देन सफल भए । कारण एउटै थियो– उनले जनताको आवाज उठाइदिए । कुण्ठाग्रस्त नेताहरूले हामी चोर होइनौं भन्दाभन्दै राजेन्द्र लिङ्देन देशव्यापी, विश्वव्यापी भइदिए । उनले राजनीतिमा नयाँपन आउँछ भन्ने आशा जगाइदिए ।
हरेक ठूला नेतालाई आफ्नो अनुहार ऐनामा हेर्न बाध्य पार्ने युवा बने राजेन्द्र लिङ्देन । इम्परर न्यू क्लथमा बादशाहले नयाँ लुगा लगाएँ भनेर नाङ्गै हिंडेका थिए, चाकरहरू क्या राम्रोे, क्या राम्रो भनेर प्रशंसा गरेर थाक्दैनथे तर एउटा बालकले बादशाह त नाङ्गै छन् भने पछि यथार्थ बुझेझैं राजेन्द्र लिङ्देनले संसद संसदजस्तो छैन, सरकार सरकारजस्तो छैन, संविधान संविधानजस्तो छैन, नेता गाउँ जाँदा जनता कुन चोर आयो भनेर भन्छन् भनेको कुरा कसैलाई होच्याउन अथवा आफू ठूलो हुन होइन, राजनीतिको यथार्थ खुलासा गरेका हुन् । अब हरेक नेता चेत्नुपर्छ । हरेक पार्टीले वास्तविकता बुझ्नुपर्छ । ५६ वर्षका राजेन्द्र लिङ्देन भर्खर जन्मेको बाच्छो उफ्रिएर दौडेको होइन, देशको हालत र जनताको आवाज बोलेका हुन् उनी । उनी जसरी यथार्थ बोल्न सकेको भए लोकतन्त्र यसरी सर्वोच्च अदालत सामुको माइतीघर मण्डलामा तमासा बन्ने थिएन ।
कार्यक्रममा सबै ठूला नेताले गिज्याउने, हँसाउने काम गरे पनि उपस्थित कांग्रेसी जमातले राप्रपा अथवा लिङ्देनलाई सुनेको वा समर्थन गरेको होइन, उनले देशमा जुन स्थिति छ, त्यो बताए, त्यो यथार्थमा साथ दिएका हुन् । साँचो अर्थमा कांग्रेसी समारोहबाट जनविद्रोहको बिगुल बज्यो । सबैले समय बदलियो, जनता बोल्न थाले भन्ने आहट बुझ्नु जरूरी छ ।