प्रचण्डले मनोनित गरेका सभासद तथा नेता मानपुर चौधरीले प्रचण्डलाई 'गद्धार' भनेका छन्। भदौ ६ गते सिरहाको लहानमा चौधरीले आफ्नै पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई गद्धार भएको उद्घोष गरिदिए। प्रचण्ड, बाबुरामका लागि यस्तो दिन पनि आउने रहेछ। ७ प्रदेशको सिमांकन गरेका यी दुई नेता मधेस विरोधी भएको आरोप लगाउँदै सभासद मानपुर चौधरीले झापा, सुनसरी, मोरङ, कैलाली, कञ्चनपुरका एक इन्च भूभाग पनि पहाडमा गाभ्न नदिने, यसका लागि संघर्ष गरिरहने उद्घोष पनि गरे। उनले पूर्वका ३ जिल्लामा केपी ओली र पश्चिमका दुई जिल्लामा भीम रावल र शेरवहादुर देउवाले आफ्नो चुनाव जित्ने गढका रुपमा हड्पेको आरोप पनि लगाए। यद्यपि यही आरोप थारु सभासदले आइतवार संसदमा पनि लगाइन् र सभाध्यक्षले कसैको नाम नलिन रुलिङ गर्दै भीम रावल र देउवाको नाम रेकर्डबाट हटाउन आदेश दिएका थिए।
मानपुर चौधरीको आक्रोस थियो– यो देश प्रचण्ड, सुशील, केपी ओली– तीन बाहुनको पुर्खाको बिर्ता होइन। हामी मधेसी, थारु, दलित, जनजाति, मुस्लिमलगायतका समुदायको पनि हो। मधेसको भूमि पहाडमा मिलाउन खोज्नेलाई पराजीत गरेर देखाउँछौं। उनले प्रचण्डको गलत मानसिकता समाप्त हुने दावीसमेत गरिदिए। मलाई कारवाही गर्ने? कसले प्रचण्डले? प्रचण्डसँग त्यो अधिकार नभएको समेत धमास दिए। कति साह्रो असन्तुष्ट रहेछन् थारुहरु। र, एमाओवादीभित्रको साङ्ले अनुशासन कसरी चकनाचूर भइसकेको रहेछ। चुनावमा जे देखियो, अहिले त्यसको अर्को पक्ष देखिदैछ र आउने चुनावहरुमा एमाओवादी नाङ्गेझार हुने त होइन?