Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देउवाले गुमाएको अवसर

२२ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा भाग लिएर फर्केपछि गौरवका साथ भनेका छन्– अमेरिकी राष्ट्रपति बाइडेनसँग विशेष रूपमा भेट भयो । म टोपी लगाएर गएको थिएँ देखेपछि चिनिहाले । पहिला नेपाल आएका पनि रहेछन् । नेपाल खुब मनपर्छ भने । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग भएको भेटवार्ता उपलब्धिपूर्ण रह्यो । जोन्सन नेपालबारे जानकार रहेछन् ।
प्रधानमन्त्री देउवाले खुलाए– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँछु भन्नुभयो, मलाई पनि निम्तो दिनुभयो । मैले नरेन्द्र मोदीजीलाई नेपाल आउनुस्, तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ, मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले चिने । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालबारे थाहा रहेछ । यी दुबै नेतालाई नेपाल भ्रमणको निम्तो दिन हाम्रा प्रधानमन्त्री किन चुके ? एकपल्ट यी विश्वनेतालाई नेपाल भ्रमण गराउने सफलता हासिल गरेको भए कांग्रेस नेतृत्वको सरकारको नामै रहने थियो । नेपाल र अमेरिका तथा बेलायतबीचका सम्बन्धमा अरु सुमधुरता आउने थियो । विश्व कूटनीतिमा नेपालको साख ह्वात्तै बढ्ने थियो ।
कुरा गर्ने, फोटो सेसन गर्ने अनि त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाएर नेपाली कांग्रेसको साख बढेन । राष्ट्रसंघको सम्मेलन अथवा यस्तै विश्व सम्मेलनहरुमा नेपाली नेताहरु जान्छन्, एक मिनटको फोटो सेसन गरेर फर्कन्छन् । आफू र आफन्तको हूललाई सयर गराएर फर्कन्छन् । मुख्य सवाल हो, नेपालको हित र हैसियतलाई माथि उठाउने । ०६३ सालपछिका कुनै पनि सरकारले राष्ट्रको सम्मान बढाउने काम गरेनन् । जबसम्म राष्ट्रको सम्मानमा बढोत्तरी हुँदैन, तबसम्म लोकतनत्र अथवा राष्ट्रको ढुकुटी खर्च गरेर भएका यस्ता भ्रमणले कुनै अर्थ राख्नेछैन । नेता त्यो हो, जसले राष्ट्रको बारेमा सोच्छ, राष्ट्रलाई उठाउने प्रयत्न गर्छ । व्यक्तिगत लाभ हेर्ने, सम्बन्ध बढाउने नेता कहिले पनि राजनेता बन्न सक्दैन । यति महत्वपूर्ण अवसर पाएका प्रम शेरबहादुर देउवाले जो वाइडेन र बोरिस यलसिनलाई नेपाल भ्रमण गराउन राजी गराउन सकेको भए बुद्धको प्रचार हुनेथियो, सगरमाथाको महत्व फैलने थियो, पर्यटन उद्यम फलिभूत हुनसक्थ्यो । यतिमात्र होइन, नेपाल र ती देशहरुबीच रहेका अनेकानेक द्वन्द्व, समस्याका समाधान पनि हुनसक्थे । नेपालले आफूलाई सुधार्ने प्रेरणा र उनीहरुसँग कदममा कदम मिलाएर हिड्ने मौका पनि प्रशस्त बनाउने थियो ।
भारतलाई महत्व दिने प्रम देउवाले यो अवसर गुमाए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छायाँमा परेर आए, नरेन्द्र मोदीलाई महत्व दिएर आए । कुवाको व्याङ् कुवामै रमाउँछ भनेको यही हो ।
नेपाललाई भारत नै सबैथोक हो भने विकसित मुलुकहरुले भारतको चस्माले नेपाललाई हेरे त के बिराए ?