Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रजातन्त्र र राजसंस्था एकैठाउ

०२ मंगलबार , कार्तिक २०७८३ बर्ष अगाडि

राजन कार्की –
बडा दसैंको शुभकामना सन्देश फूलपातीका दिन आयो । पहिलोपल्ट भिडियो सन्देश आएको हो । सन्देशमा ‘प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र नेपालजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन’ उल्लेख छ । यो नयाँ विषय र सन्देशमा अभिव्यक्त मार्मिक भावनाले सबैलाई चिमोटेको छ, यहीकारण यो सन्देशले राजनीतिक र सामाजिक जीवनमा भूकम्प नै ल्याइदिएको छ ।
पूर्वराजाको सन्देशमा वर्तमान राजनीतिक नेताहरूप्रति तीखो असन्तुष्टि र कडा प्रहार हानिएको छ । पूर्वराजाको आरोप छ– जनता, देश र राष्ट्रप्रति जिम्मेवार हुनसकेनौं ।
२०६५ पछिका हरेक सन्देशमा ‘जनताले चाहेमा राजतन्त्र पुनस्थापित हुने र जिम्मेवारी सम्हाल्न आफू तयार रहेको’ र ‘देश र जनता अभिभावकविहीन भएको’ जस्ता घुमाउरा संकेतहरू हुनेगर्थे, यसपल्ट सिधै राजतन्त्र र प्रजातन्त्रको लिकमा मुलुकलाई अघि बढाउनु पर्ने प्रस्ताव आएको छ । ‘प्रजातन्त्र राजतन्त्रको उपस्थितिमा मात्र सान्दर्भिक हुने’ भनेर पूर्वराजाले राजतन्त्र पुनस्थापना हुनैपर्ने आवश्यकता देखेका छन् ।
यो सन्देश विप्लव, वैद्य, नारायणमान बिजुक्छेहरूले जनताको समर्थन भएका राजनीतिक शक्ति हुन् र राजनीतिक शक्तिहरूबीच सहकार्य हुनुपर्ने विचार सार्वजनिक गरिरहेको र प्रचण्डलगायतका नेताहरूले योभन्दा त राजतन्त्र हुँदा नै मान सम्मान थियो भनिरहेको अवस्थामा पूर्वराजाले आफूलाई प्रष्ट धारमा उभ्याएको देखिन्छ । ‘जनताले चाहेमा’ र ‘राजतन्त्रमा मात्र प्रजातन्त्र सान्दर्भिक हुन्छ’ भनेर पूर्वराजाले आफूलाई सवल मुलुकको पक्षमा उभ्याएपछि राजनीतिमा तरङ्ग उत्पन्न भएको हो । जुन कुरा एउटै सिद्धान्तमा उभिन नसकेका डा.बाबुराम भट्टराईलाई पाच्य भएन । बाँकी कुनै पनि नेताले टिप्पणी गरेका छैनन् ।
यथार्थमा पूर्वराजाको अभिव्यक्ति साँचो थियो र सबेले ‘सत्य वचन’का रूपमा स्वीकार गरेका छन् ।
राजनीति भनेको समाज बदल्ने, अग्रगमनकारी प्रक्रिया हो । २०६३ सालमा संस्था पुनस्र्थापना र २०६५ सालमा गणतन्त्र कार्यान्वयनपछिका १५ वर्ष समाज होइन, नेता बदलिने प्रक्रियामात्र भए । जनताले पाउनैपर्ने हक पाएनन्, जनताका साथमा नेता छन्, जनताका लागि सरकार र न्यायालय छ भन्ने अनुभूति दिलाउन सकिएन । संविधान कागजको खोस्टो भयो, संसद हुँदाहुँदै अदालतले परमादेश सरकार बनाउनुपर्ने दिन पनि देखियो । २७५ सांसद भएको संसदमा ६१ सांसद भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार चलाउनु पर्ने, संविधान मिचेर अध्यादेशले पार्टी फुटाएर सरकार टिकाउनुपर्ने झलकहरू पनि देखिए । योभन्दा ठूलो जनादेशको अपमान के हुनसक्थ्यो ? जनादेशलाई मिच्ने कार्य भइरहेकै छ । 
राजनीतिक शक्तिहरू सवल भइदिएको भए, सत्तामा जानेहरूले आफूलाई जनताप्रति जवाफदेही बनाउन सकेको भए, नैतिक धरातल र राष्ट्रियतामा उभिन सकेको भए पूर्वराजा बिस्मृतिमा जानेथिए । पूर्वराजाजति आज कुनै दलको साख देखिदैन । प्राविधिक रूपमा दलहरूको शासन छ तर यथार्थमा जनताको विश्वास गुमाएको अवस्था छ । विदेशी चलखेल बढेको, राष्ट्रियतामा विचलन आउन थालेको र जनताले हार गुहार गरेकाले पूर्वराजाले प्रजातन्त्र र राजतन्त्रलाई एक अर्काको परिपुरकको रूपमा स्पष्ट पारेका हुन् । नेपालको सामरिक महत्वको भूबनोटले पनि यही सिद्ध गरिरहेको छ ।
राजतन्त्र आउनका लागि लोकतान्त्रिक शक्तिहरूले समर्थन गर्नैपर्छ । अहिलेको समय २०१७ सालको जस्तो परिवर्तन थेग्न सक्दैन । लोकतान्त्रिक राजतन्त्र ल्याउन र देशको भविष्य सुखद बनाउने सोच राजाको हुनसक्छ, राजनीतिक दलहरूले पनि त्यस्तै सोच राख्ने हो भने राजनीतिक दलहरूको अक्षमता बिस्तारै सच्चिनेछ, राजनीति र शासन गर्ने राजनीतिक दलहरूले नै हो ।
१५ वर्षको अनुभवले भन्छ– देशमा अभिभावक चाहिएकै हो । कुनै पनि नेताले अभिभावकीय भूमिका निर्वाह गर्न सकेनन् । डा.सुन्दरमणि दीक्षित, डा.सुरेन्द्र केसीहरूले पनि भनेका छन्– राजनीतिक आडमा राजतन्त्र पुनस्र्थापना हुनसक्छ, पुनस्र्थापनापछिको नियतिमा पनि ध्यान दिनुपर्छ । वर्तमान अव्यवस्था हेर्दा राजतन्त्र नआउला भन्न सकिदैन । जनताले राजतन्त्र नल्याउलान् भन्न सकिदैन । अब लोकतान्त्रिक–गणतान्त्रिक व्यवस्था स्थापनामा भूमिका खेलेका क्रान्तिकारी–लोकतान्त्रिक शक्तिहरूले आफ्नो १५ वर्षे क्रियाकलापलाई छातीमा हात राखेर मन्थन गर्ने समय आयो ।
गणतन्त्र अघि अतिवादले खली खायो, नरबली खायो । बहुदल र गणतन्त्रकालमा अति भ्रष्टाचार महंगी, कुशासन, ठालू प्रबृत्ति ह्वात्तै बढ्यो । जनताले भनिरहेका छन्– हजारौंभन्दा एउटै राजा ठिक । सबै कान चिरेका जोगी सावित भए । सुधारका लागि जनतलो पटक पटक नेताहरूलाई साथ दिए, नेताहरूले देश र जनताको साथ कहिले पनि दिएनन् । यस्ता नेताहरूलाई दयामात्र गर्न  सकिन्छ । जनतामा यतिबिघ्न बितृष्णा चुलिएको छ कि नेताहरू जनताका सामु बिना सुरक्षा जानसक्ने अवस्थामा समेत छैनन् । बागमतीको नाम पवित्र भएझैं लोकतन्त्रको नाम पवित्र छ तर बागमतीमा बग्ने फोहर र नेताहरू उस्तै लाग्छन् । महामारीका किटाणु बनेका छन् ।
पूर्वराजाको सन्देशलाई तिक्त टिप्पणी गर्न सकिन्छ । तर लोकतान्त्रिक हुँ भन्ने नेताहरू कुनचाहिं असल छन्, एकजनामा राजनेता बन्ने हैसियत छ ? यही प्रश्नमा पूर्वराजाको सन्देश सही र सटिक लाग्छ । राजालाई जति देशको मायाँ अरूलाई नहुने रहेछ भन्ने फेरि प्रमाणित भयो । पूर्वराजा गद्दी छाडेर पनि यही माटोमा बस्नु उनीभित्रको देशभक्ति हो । उनी अब झन परिपक्व भएको अनुभूत गर्न सकिन्छ ।